दमकका मेयरसहित परिवारमा कोरोना संक्रमण, नगरपालिका चार दिन बन्द

झापाको दमक नगरपालिकाका मेयर रोमनाथ ओलीसहित उनको परिवारलाई नै कोरोना संक्रमण भएको छ । उनकी पत्नी लिला ओली र छोरा अनिल ओलीलाई पनि संक्रमण भएको हो।

नगरपालिकाका प्रमुख कार्यकारी अधिकृत गणेश तिम्सिनाका अनुसार उनलाई सोमबार कोरोना सङ्क्रमण पुष्टि भएको हो । 

मेयर ओली प्राकृतिक चिकित्सा तथा खानपानमा रुची राख्थे भने जडिबुटी र स्वस्थ खानपानको प्रचारमा लाग्ने गगेका थिए। उनले दमकलाई अर्गानिक नगर बनाउने अभियान चलाउँदै आएका थिए । 

मेयर ओलीले जति नै होशियार भए पनि आफूलाई कुनै पनि बेला कोरोना संक्रमण हुनसक्छ भन्दै आएका थिए। ‘संक्रमण हुन्छ भनेर म जनताको काम छाड्न सक्दिन, जनताको काम पनि गर्छु र संक्रमणलाई पनि जित्छु’– ओलीले नगरपालिकाको कार्यकक्षमा स्थानीयलाई भन्ने गरेका थिए

मेयर ओली र उहाँकी पत्नी लिला अहिले दमकको आम्दा अस्पतालमा भर्ना भएका छन् । अस्पतालमा भर्ना भएपछि फोन संवाद्मा मेयर ओलीले भने– ‘कोरोनालाई जितेर म चाँडै नगरवासीको सेवामा फर्कन्छु । नगरवासी सहित समस्त देशवासीलाई सजग हुन अपिल पनि गर्दछु ।’

मेयर ओलीले आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र पत्नी लिलालाई पहिलेदेखि नै उच्च रक्तचाप, मधुमेह लगायतका रोग रहेको जानकारी दिए। छोरा अनिललाई पनि संक्रमण भएको जानकारी दिँदै बच्चालाई लिएर बुहारी केही दिन पहिले माइती गएकाले संक्रमणबाट बचेको हुनसक्ने जानकारी दिए।

उनले भने, ‘मैले व्यक्तिगत दूरी कायम राखेर व्यवहार गरेको थिएँ । मास्क पनि लगाएकै थिएँ । तैपनि मलाई कोरोना संक्रमण भएको छ । त्यसैले म सबैलाई सचेत हुन र अत्यन्त सावधानी अपनाउन अपिल गर्दछु।’

नगरप्रमुखसहित एक वडाध्यक्षलाई  सङ्क्रमण पुष्टि भएपछि नगरपालिका आजदेखि ४ दिनका लागि बन्द गरिएको छ ।

प्रकाशित मिति: : 2020-10-06 08:37:28

प्रतिकृया दिनुहोस्