भारतमा कोरोनाका कारण मर्नेको संख्या शनिबार एक लाख नाघेपछि नेपाल अझ असुरक्षित बन्ने पक्का छ।
भारतसँग जोडिएको सीमा नजिकैको राज्यहरूमा पछिल्लो केही दिनयता कोरोना संक्रमणको संख्यामा उल्लेख्य बृद्धि भएको छ।
यसमा पनि नेपालीहरूको महान चाँड दशैंको महिना नजिकिँदै जाँदा जोखिम बढ्ने सम्भावना प्रबल बनेको छ।
घटस्थापना १३ दिनपछि सुरु हुँदैछ। दशैंको बेला भारतबाट काम गरेर देश फर्किनेको संख्या उच्च हुने विगतको अनुभवले देखाएको छ। यसपालि पनि भारतमा मजदुरी गरेर दशैं र तिहारको बेला घर फर्किन चाहने नेपालीहरूको संख्या ठूलो देखिन्छ।
चार महिनाअघि भारतमा कोरोनाको संक्रमण फैलिएपछि भारतमा मजदुरी गरेर बसेका करिब डेढ लाख नेपाली घर फर्किएका थिए। तर, नेपालमा रोजगारीको कुनै व्यवस्था नहुँदा तथा सरकारले कोरोनामा बेरोजगार बनेका नेपालीहरूलाई कुनै सुविधा दिन नसक्दा विस्तारै सबै भारतमा फर्किने क्रम पनि जारी छ।
करिब १५ लाख नेपाली रहेको महाराष्ट्र अहिले कोरोनाको उच्च जोखिममा छ। यहाँ करिब ३८ हजारको हाराहरीमा मानिसहरूको निधन भइसकेको छ। नेपालीहरू काम गर्ने पञ्जावमा सबैभन्दा बढी ३ प्रतिशत मृत्यु दर रहेको छ।
भारतमा कूल ६५ लाखको हाराहारीमा मानिसहरू कोरोनाबाट संक्रमित भइसकेका छन्। यसमा ५५ लाख ठिक भएर घर फर्किएपनि १० लाख मानिस अझैं संक्रमित रहेको स्वास्थ्य मन्त्रालयको रिपोर्टमै उल्लेख छ।
नेपालसँग सीमा जोडिएको बिहार, उत्तर प्रदेश र बंगालमा पनि पछिल्लो समय कोरोना संक्रमणको संख्या बढिरहेको छ। उत्तर प्रदेशमा ४ लाख बढी संक्रमितमध्ये करिब ६ हजारको निधन भइसकेको छ।
पाँच महिनाअघि उत्तर प्रदेशसँग जोडिएको धनगढी र नेपालगञ्ज नाकाबाट सबैभन्दा बढी मानिस नेपाल प्रवेश गरेका थिए। यस्तै, उत्तराखण्डसँग जोडिएको महेन्द्रनगर र धार्चुला नाकाबाट पनि पहाडी क्षेत्रका नेपालीहरू घर फर्किएका थिए। उत्रराखण्डमा पनि ५० हजार संक्रमित थपिसकेका छन् भने ६ सय बढीको निधन भइसकेको छ।
बिहारमा १ लाख ८६ हजारको हाराहारीमा स्थानीय नागरिकलाई कोरोना भएपनि मर्नेको संख्या तुलनात्मक रूपमा अरु राज्यभन्दा कम छ। तर, पछिल्लो समय यहाँ पनि कोरोना संक्रमण बढ्दै गइरहेको छ। यो नेपालका लागि खतराको घण्टी पनि हो।
बिहारमा हालसम्म ९ सयभन्दा बढी मानिसको निधन भएको छ। यहाँ अहिले १२ हजार ‘एक्टिभ केस’ छ। पश्चिम बंगालमा पनि मर्नेको संख्या ५ हजार १ सय ३२ पुगिसकेको छ। बंगालको बाटो हुँदै कोलकाता र आसामतिर काम गर्ने बहुसंख्यक नेपालीहरू दशैंको समय घर फर्किने गरेका छन्।