ट्रम्पको स्वास्थ्य अवस्थाबारे ‘विवादास्पद’ जानकारीः डाक्टर भन्छन्– सामान्य छ, ह्वाइट हाउस भन्छ– गम्भीर

बिएल संवाददाता

न्यूयाेर्क

 मास्क लगाउनेको मजाक बनाउने अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिनदेखि अस्पतालमा छन्। 

सामाजिक दूरीको समेत विरोध गर्दै आएका ट्रम्पमा कोरोना भाइरसको संक्रमण देखिएपछि उनलाई वाल्टर रीड मेडिकल सेन्टरमा राखिएको छ।

७४ वर्षका ट्रम्पले लगातार कोरोना भाइरसलाई गम्भीर रुपमा लिएका थिएनन्। उनले कोरोना भाइरसलाई समान्य फ्लू जस्तो भन्दै आएका थिए।

ह्वाइट हाउसले दिएको जानकारी अनुसा ट्रम्पलाई ज्वरो आएको छ। सावधानी स्वरुप ट्रम्पलाई अस्पताल लगिएको थियाे। 

ट्रम्पले थकान महसुस गरेको जनाइएको छ। तर,उनको स्वास्थ्य अवस्थाका बारेमा  ‘विवादास्पद’ तथा ‘अस्पष्ट’ जानकारी बाहिर आएका छन्।

उनको उपचारमा संलग्न चिकित्सकले ट्रम्पको स्वास्थ्य ‘राम्रो’ रहेको बताएका छन्। तर, डाक्टरले उनको स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा कोरोना भाइरसको संक्रमणपछिको उपचार यसअघि जानकारी दिइएको भन्दा एक दिन पहिले नै सुरु भएको बताए।

भनिएको भन्दा एक दिन पहिले अर्थात बुधबार नै संक्रमण भएको थाहा भएपछि पनि ट्रम्प फण्डरेजर कार्यक्रममा सहभागी भएको अमेरिकी सञ्चारमाध्यमले जनाएका छन्।

तर, ट्रम्प प्रशासनले भने यसलाई अस्वीकार गरेको छ। प्रशासनले उनमा बिहीबार मध्यान्ह एउटा चुनावी कार्यक्रममा सहभागी भएर फर्केपछि संक्रमण पुष्टि भएको जनाएको छ।

बुधवार ट्रम्प मिनेसोटामा भएको एउटा र्‍यालीमा सहभागी भएको थिए।  उनी त्यहाँ जाँदा कास्कको प्रयोग गरेको देखिएको थिएन।

तर, डा सन कोन्लीले आफूले स्वास्थ्य अवस्थाबारे जानकारी दिने क्रममा उपचारको समय क्रमबारे भूलबस भनिएको जानकारी दिएका छन्।

‘भूलबस संक्रमणको डेट अगाडि भएछ। तर, भनिएको भन्दा एक दिन पछाडि नै उहाँमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो। म माफी माग्न चाहन्छु,’ उनले भनेका छन्।  

यता उनले ट्रम्पलाई ज्वरो आएको कुराको पनि खण्डन गरेका छन्। उनले भनेका छन्,‘ राष्ट्रपति ट्रम्पलाई अक्सिजन दिइएको छैन र २४ घण्टासम्म उनलाई ज्वरो आएको छैन।। बाहिर आएका कतिपय कुरा निराधार हुन्।’

यद्यपी उनलाई ज्वरो आउनेलगायतका कोरोनाका सामान्य लक्षणहरु देखिएपछि अस्पताल भर्ना गरिएको अधिकारीहरुले जानकारी दिएका थिए।

ट्रम्प अझै केही दिन वाल्टर रीड मेडिकल सेन्टरमै रहने छन्। डा शनले आफूहरु सावधानीपूर्वक आशावादी रहेको बताएका छन्। तर उनले डिस्चार्जको समय सीमा भने दिएका छैनन्।

यता ह्वाइट हाउसका चिफ अफ स्टाफले राष्ट्रपति ट्रम्प अझै पनि स्वास्थ्य अवस्था सुधार हुने मार्गमा नरहेको बताएका छन्। ट्रम्पले भने भिडियो सन्देश जारी गरेर आफूले राम्रो महसुस गर्न थालेको बताएका छन्।

उनले स्वास्थ्यकर्मीलाई धन्यबाद दिएका छन्। ट्रम्पले ट्वीट गरेर शुक्रबार बिहानै आफू र प्रथम महिला मिलानिया ट्रम्पमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको जानकारी दिएका थिए।

अमेरिकामा एक महिनापछि राष्ट्रपति चुनाव हुँदैछ। चुनावको मुखैमा आएर ट्रम्पमा संक्रमण पुष्टि भएको हो। क्वारेन्टाइनले दोस्रो राष्ट्रपतीय बहसलाई कसरी असर पार्नेछ भन्ने अझै स्पष्ट हुन सकेको छैन। निर्वाचनअघि राष्ट्रपतिका उम्मेदवारले डिबेटमा भाग लिने परम्परा १६४ वर्ष पुरानो हो। 

दोस्रो बहस फ्लोरिडा राज्यको मायामिमा १५ अक्टुबर र तेस्रो २२ अक्टुबरलाई तय गरिएको छ। 

आउँदो नोभेम्बर ३ मा हुने चुनावमा ट्रम्पले डेमोक्र्याटिक उम्मेदवार जो बाइडेनसँग प्रतिस्पर्धा गर्ने छन्।

अमेरिकाको राष्ट्रपतीय निर्वाचनका लागि रिपब्लिकन र डेमाक्र्याट उम्मेदवारबीच भएको पहिलो ‘प्रेसिडेन्सियल डिबेट’ मा डोनाल्ड ट्रम्प र जो वाइडेनबीच आरोप–प्रत्यारोपको शृंखला चलेको थियो।

उक्त बहसमा अरु सबैले मास्क लगाएका थिए, तर ट्रम्पको परिवारका सदस्याले मास्क लगाउनु पर्ने नियम अनिवार्य भए पनि अस्वीकार गरेका थिए।

ओहायोको क्लिभल्याण्डमा ९० मिनेट भएको डिबेटमा दोस्रो कार्यकालका लागि उठिरहेका रिपब्लिकनका उम्मेदवार राष्ट्रपति ट्रम्पले वाइडेनमाथि गम्भीर आरोप लगाउँदै भनेका थिए, ‘आजको दिन (वाइडेन) राष्ट्रपति भएको भए देशमा कोरोनाको कारण २० करोड मानिसले ज्यान गुमाइसकेको हुन्थे।’

ट्रम्पको उक्त भनाईप्रति लक्षित गर्दै वाइडेनले देशकै सबैभन्दा बढी झुटो बोल्ने व्यक्तिको उपमा वर्तमान राष्ट्रपतिलाई थमाए।

उनले भनेका थिए, ‘अमेरिका जस्तो विकसित राष्ट्रमा दुई लाख मानिस महामारीको सिकार बन्नु भनेको लाजमर्दो कुरा हो। राष्ट्रपति ट्रम्प र उनको प्रशासनसँग कोरोनाविरूद्ध लड्ने कुनै ठोस योजना थिएन। फेब्रुअरीसम्म उहाँलाई थाहा पनि थिएन, यो कति गम्भीर महामारी हो भनेर। उहाँ महामारी लुकाउन चाहनुहुन्थ्यो। म राष्ट्रपति भएको भए, स्वास्थ्यमा खटिएका कर्मचारी तथा जनता दुबैलाई बचाउँथे।’

यद्यपी पूर्व उपराष्ट्रपति समेत रहेका जो बाइडेन र उनकी पत्नी जिल बाइडेनमा भने संक्रमण देखिएको छैन।

याे पनि 

प्रतिस्पर्धी बाइडेन र उत्तर कोरियाका नेता किमद्वारा ट्रम्प दम्पतीको स्वास्थ्य लाभको कामना

बाइडेन दम्पतीको कोरोना टेस्ट नेगेटिभ

यी हुन कोरोना भाइरसबाट सङ्क्रमित विश्व नेता

अमेरिकी राष्ट्रपति ट्रम्पलाई कोरोना संक्रमण

सल्लाहकारलाई संक्रमण भएपछि ट्रम्पको कोरोना परीक्षण

‘प्रेसिडेन्सियल डिबेट’ मा चर्काचर्की:ट्रम्पले भने–वाइडेन राष्ट्रपति भएको भए २ करोड मान्छे मारिन्थेँ, वाइडेनले भने– सटअप!

प्रकाशित मिति: : 2020-10-04 07:30:19

प्रतिकृया दिनुहोस्