बालुवाटारमा छिर्‍याे कोरोना, तीन सल्लाहकारसहित ७१ जनामा संक्रमण पुष्टि

प्रधानमन्त्री निवास बालुवाटारमा काेराेना भाइरस छिरेकाे छ। शुक्रबार र शनिबार तीन सल्लाहकारसहित ७१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको हाे।

शनिबार दिउँसाे प्रधानमन्त्री केपी शर्मा ओलीका प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, विदेश मामिला सल्लाहकार राजन भट्टराई र प्रेस सल्लाहकार सूर्य थापा र स्वकीय सचिव इन्द्र भण्डारीको कोरोना संक्रमण देखिएको थियाे।

शुक्रबार प्रधानमन्त्रीको सचिवालय तथा सुरक्षाकर्मीसहित बालुवाटारमा कार्यरतहरुको पीसीआर परीक्षण गर्दा उनीहरुमा कोरोना संक्रमण देखिएकाे हाे।

रिमालले शनिबार अपराह्न आफ्नो ट्विटमार्फत आफूलाई कोरोना संक्रमण भएको पुष्टि गरेका छन्।

उनले लेखेका छन्,‘हिजोको पीसीआर परीक्षणबाट ममा पनि कोरोना पोजिटिभ देखियो। यसबीच मसँग सम्पर्कमा आउनु भएका सबै महानुभावले आफ्नो स्वास्थ्यको ख्याल गर्नुहुन आग्रह गर्दछु।’

यता प्रेस सल्लाहकार थापाले पनि आफ्नो सम्पर्कमा आएका सबैजनासँग सावधानी अपनाउन आग्रह गरेका छन्।

उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘हिजोको पीसीआर परीक्षणले ममा कोरोना पोजिटिभ देखियो, यसबीचमा सम्पर्कमा रहनुभएका सबै मित्रहरूले विशेष सावधानी अपनाउन आग्रह गर्दछु।’
 
यता प्रधानमन्त्री ओलीको कोरोना परीक्षण रिपाेर्ट भने नेगेटिभ आएको छ। 

यस्तै नेपाली सेनाका २८, नेपाल प्रहरीका १९ (शुक्रबार २ र शनिबार १७ जना), सशस्त्र प्रहरीका १८ जना र राष्टिय अनुसन्धान विभागका दुई जनालाई कोरोना संक्रमण देखिएको स्रोतले बताएकाे छ।

अहिलेसम्म प्रधानमन्त्रीको सुरक्षाका लागि पहिलो घेरामा खटिने सुरक्षाकर्मीहरुमा भने संक्रमण देखिएको छैन। तर, केहीको रिपोर्ट आउन बाँकी छ।

 

प्रकाशित मिति: : 2020-10-03 20:30:33

प्रतिकृया दिनुहोस्