कथा

हाफ चश्मा

खेम बतास

कैलाली
Breaknlinks
Breaknlinks

(बाले बरोबर आँखा देख्न नसकेको चानचुन एक महिना भयो। टाढाका बस्तुहरु देख्दैनन्। नजिकै आए मात्र ठम्याउन सक्छन्। त्यसैले म बुबालाई चस्मा लिन गेटा आँखा अस्पताल पुगे। काउन्टरमा टिकट काटेर लाइन लागे। चार नम्बरबाट माइक्रोस्कोपले हेरेर डाक्टरले पानामा के के लेखेर भन्यो, ‘यो चिट लगेर सात नम्बर कोठामा जानुहोस्।’

कोठा नं : ७

बाले हातको चिट डाक्टरलाई दिए। उनले पढे। बाको अनुहारमा हेरे। तर केही बोलेनन्। अलिपरको सोफामा म बसेको थिए। उनले मलाई पनि हेरे। मुस्कुराउदै भने, ‘बुबा तपाईको ?’

- ‘हजुर।’

- ‘पढ्न आउछ बा तपाईलाई ?’

- ‘आउँछ।’

डाक्टरले एउटा मोटो किताब बाको हातमा राखिदियो।

डाक्टरले भन्यो, ‘एउटा आँखा एकहातले बन्द गर्नुस र यो पढ्नुस् त।’

उनले किताब खोलेर एउटा अध्याय देखाए। बा दाँया आँखा दाँयाहातले बन्द गरेर किताब पढ्न थाले।)

---
‘बेलीबास (हिजोसाँझ) अनौठो खबर सुनियो लौ बरे ! साँचो झुठो कसो हो भन्ना गाेँसी(देवर) ?’ दोकानमा नुन किन्न आएकी साँइली बौजू (भाउजू)ले काल्चेलाई भनिन्।

- ‘के खबर ?’

काल्चेले बुझेर पनि बुझ पचायो। उसले आयोडिनको प्याकेट साँइली बौजूको हातमा राख्दै भन्यो,‘मेरो त एकफेर पनि हातखाली नै हुना। काँ के भयो ? केइन था पाउनो लाउ बौजू।’ साँइलीले दिएको पचासको नोट समातेर उसले गल्लामा राख्यो र साँइलीतिर आशा लाग्दा नजरले हेर्‍यो।

‘साँच्ची था नपाइबरका ब (पो)हौ कि, बुझिबर लै (पनि) बुझ पचाउने हौ ! उनले भनेरन्, सीताले देलीबाट गोडो गाड्यो भन्यो लाऊ, धौ तक, के उपद्दर गर्‍यो तै स्वाहानीले, तीन जत्काल बसेकी सहेनी मान्छ। यै लाँउ लाँउ, खाँउ खाँउ भन्ने उमेरमा, माइतीपोइली सबैको नाक गाड् हाल्यो।’

काल्चेले कृत्रिम आश्चर्य मान्दै निधार खुम्चायाे। उसका निधारमा देखिए केही गाँठाहरु। उसले तीस रुप्पे साँइलीका हातमा राखिदियो।

‘स्वाहानीकी बुद्धि पछा मुख हुन्छ भन्ने थे साँच्ची रैछ बौजू।’, उसले भन्यो, ‘स्वाहानीको भर नै स्वाहानी बिजाँइ घर नै भनेको यै हो। महतारी छनाइका मूले (टुहुरो) भए जयजात्क –केटाकेटी)।’

है भने, साँइली बौजू रुप्पे समातेर घरतिर हिँडी।

सीता दुर्गालक्ष्मी क्याम्पसमा स्नातक पढ्थी। पढाइमा तेज थिइ केटी। गायनमा ठूलो शोख थियो, उसको। क्याम्पसका अतिरिक्त क्रियाकलापमा सधैँ प्रथम। एकदुइपल्ट त जिल्लाबाट पनि ट्रफि जितेकी थिई। समाजको शिर सगरमाथा पुगेको थियो। उसका इजाबा खुसी गद्गद् भएका थिए भने क्याम्पसमा उसलाई बधाई दिनेको लस्करै तयार भएको थियो। गायनमा नेपाली तारा बन्ने उसको एक मात्र सपना थियो। घरको आर्थिक अवस्था कमजोर थियो तसर्थ आफ्नो बारेमा सोच्ने यर्थेष्ट समय पाएकी थिइन।

त्यो बेला गाँउमा कलेज जाने ऊ मात्र थिइ। जात्की (केटी खुब मेहनति थिइ। स्कुलदेखि कलेज पुगुन्जेल कहिल्यै पछाडि फर्किनु परेन उसले। ‘देउवा जीले बम्बइमा चौकीदारी गरेर भएपनि चेलाचेली त पढायो।’ चोक चौतारा र चिया पसलमा प्रसङ्गवश उसको तारिफ गर्थे। गाँउमा पनि कसैसित उच्चो आँखर बोल्दैनथी। उसको मुखारविन्दुबाट सत्यमात्र निस्किन्थ्यो। ज्ञान र शील स्वभावकी सीताको हाँस्दा गालामा खाल्टो पथ्र्यो। त्यसैले केटाहरुको तारो बनेकी थिए। बाटोमा भेट्दा उसलाई जिस्काउदै कतिले डिम्पल कुइन पनि भन्थे। तर उसले कुनै तारिफको मतलब गरिन।

एकपल्टको प्रेम दिवशमा रावणले रातो गुलाब दिँदै प्रेम प्रस्ताव पनि नराखेको होइन। उसले कुनै प्रतिक्रिया जनाइन। बरु आफ्नै दिल दिमाकलाई भनेर, हेर केटी यो समय तैले लभ गर्दै डटिङ जाने होइन बरु पढेर ज्ञानी बन् ज्ञान नै जीवनको ज्योति हो। ज्योतिले संसार उज्यालो देखिन्छ। उज्यालोका चिजबस्तु सुन्दर र प्रेमिल लाग्छन। हो, उसले गरेको आत्मनिर्णयले काम गर्यो। रावणको प्रस्तावलाई मुसुक्क मुस्कुराई र टारिदिए। उसले भनी, 'तिमी राम्रो छौ, मभन्दा उत्तम केटी पाउछौ, चिन्ता किन गर्छौ ?'

कहिलेकाही रावणको याद आउथ्यो पनि। तर याद भनेको आदत हो, आदतलाई इन्द्रियको वशमा ल्याउन सके संसार जित्न कसो नसकिएला उसले यहि देव वाक्यलाई शिरोर्धाय गरी।

त्यसै सालको मंसिरमा जिम्दार बाजे उसको हात माग्न आए।

‘चेलीको जोवन तोरीको फूल जस्तो हो। उमेरका चेलाचेली र बखतको बाली सप्रन्छ। मित्रुर निका छन्। कमि भन्ने कैइ हुने होइन।’, धनवीरे देउवाले छोरीलाई सम्झाउदै भने।

उसकी आमाले यसैमा थपिन्, ‘हामरा लागि त लेख्दुपढ्डु कालो अक्षर भैँसी बराबर हो। तेरा त  आँखा कान उगडि ग्ये। अब पढाउन सक्ने हाम्रो ताकत छैन। चेलीको जातले एकदिन पराइघर जानु त छ,छ। नाइ न भन बा, मेरी चेली !’आमाको विनयशीलताका अगाडि उसले केही बोल्न सकेन। उसको मौनतालाई सबैले स्वीकृति सम्झिए।

उसको बोलीको माधुर्यता, मुस्कानको सरलता र बानीको स्पष्टताको अघि रामचन्द्र पहिलो भेटमै फिदा भयो।

उसले भन्यो, ‘ तिमीलाई रानी बनाएर राख्छु।’ रामचन्द्रको बाचा साँचो हो कि झुठो उसले कुनै प्रवाह गरिन।

रामचन्द्रको मधेशमा पाँच एक बिगा जमिन थियो। सबै जमिन अधिँया दिएको थियो। त्यसैले गाँउमा रामचन्द्रका परिवारलाई जिम्मुवाल भन्थे। उसका बाको नाम जनक भए पनि गाँउले जिम्मुवाल बाजे भनेर बोलाउथे।

(छत्तिस सालसम्म नुन किन्न भोटे आउँथे मलवारमा। नुन, चिनी र अनाजको बोजो बोक्थे, घर फकिन्थे। भोटेका च्याङ्ग्रा देखेर डोट्याल पनि कहिलेकाही आउने गर्थे मधेश। घिऊ, चुक, भक्मीलाको धुलो र खुसार्नी बेच्थे। हाटबाट नुन, चिनी, लत्ता कपडा किन्थे। मालाखेती, वनवास, बनगौवाँ,  टनकपुर त्यतिबेलाका प्रसिद्ध हाटहरु थिए। डोट्यालहरु मलवार आउन थालेपछि तिनको संगत थारुसँग बढ्न गयो। कुपिन्नी मात्र लगाएका कालै शरिर भएका नाङ्गा मान्छे देख्दा स्ुरु सुरुमा त डोट्यालहरु अचम्मले हेर्थे। उनलाई यी कुनै अर्को लोकबाट आएका मान्छेजस्ता लाग्थे। न भाषा मिल्ने, न लवाईखवाई नै, न भेषभूषा मिल्ने, न उठ्बसको तरिका नै। सायद उनलाई थारुहरु यलियन जस्तै लाग्दथे होला।

सधैँ देखिने थारुहरुसँग डोट्यालको चिनापरिचय भयो। कहिले चुक किन्ने निहुँमा, कहिले घुउ र मह किन्ने निहुँमा दोस्ती बढ्दै गयो। कहिलेकाही रात पर्दा तिनै थारुका घरमा बास बस्थे, डोट्यालहरु। सँगै हाँसखेल, उठबस र खानपान भएपछि विश्वास र माया भन्ने चिज जन्मिने भयो। हो, त्यसै भयो, मलवारका थारुसँग डोट्यालहरुको।

एकखेप जनक शाही पनि आएको थियो विनिमयको लागि। नुन, चुक र मह बेच्यो। उसले आफूलाई चाहिने सबै बस्तु किन्यो। अझै नगद रुप्पे बचे उसका झोलामा। उसको घरजाने बोजो ठुलै भयो। चाँदीका रुप्पेको जमानामा चौवनी र अठन्नीको भाउ पनि धेरै थियो। जनक बाटोमा मदन जस्तै एक्लै भयो सबै साथीले छोडेर हिँडे। रात परेकोले उसले टाढा आगो बलेको उज्यालो देख्यो। त्यो उज्यालोको मालिक थियो, गुच्छे थारु। गुच्छे भयो उसको सहारा। उनीहरुको पानी माछाको जस्तो सम्बन्ध भयो। जतिपल्ट जनक मलवारमा आउथ्यो, उसको बस्ने घर भनेकै गुच्छेको घर थियो। उनीहरुले दुबो हल्दो नै बाँडेर मित लगाए, भल्मन्सालाई साँची राखेर।

त्यो दिन जनकले गुच्छेको घरमा गुन्द्री बेरेर भकारी जस्तो बनाएर त्यसमा नुन राखेको थियो। त्यसको माथि चाँदीका रुप्पेले छोप्यो। जनकले सात महिनामा म आइहाल्छु, एक भकारी छ मेरो माल, सम्भार गरिदिनु है। तमरा भर राख्या छु, आगो पानी, किरो कमीलोबाट जोगाई दिनु भन्दै छुटिएको थियो।

ऊ छ महिना दश दिनपछि फेरि आएको थियो, सामान बोकेर। उसले गुच्छेको घरमा पुगेर मालको ढुकुटी हेर्दा आधाभन्दा पनि आधा भएको थियो। अशिव भएर कुर्लिएको थियो।  ऊ रिसले तातेको थियो। उसले रिसको झोकमा भनेको थियो, ‘यो भकारीभरिको मेरो रुप्पे ? नुन कम रुप्पे धेरै थे। नुन छ, तर रुप्पे कस्ले लग्यो, भन्। नत्र याँ क्वैइ बाँकी रहदैन।’

गुच्छे केही बोलेन। उसको डोटेली लबज थारुले राम्रोसँग बुझ्दै बुझेन। गुच्छे घुसेमुन्टो लाएर उभिमात्र रह्यो।

उसले धम्की दिएको थियो, 'मैले कानकानमा भनेको थिए, हेर विचार गर्नु, तम त सबै चोर रैछउ। मुसाका कालहरु। घोँगीका सौकारौहरु। मेरो लाखौँको सम्पति म त्यसै काँ सोड्छु। अड्डा अदालतमा छन् ,मेरा मान्छे। पुलिस बोलाएर सबैकी मुजी फुटाउने हुँ।'

विचार गुच्छेलाई नुन पग्लिन्छ भन्ने थाहै थिएन। चोरको छैन, तमरो नुन पग्लिएर सकियो पनि उसले भन्न सकेन। उसको मुखबाट बोलि नै निस्केन।

जनक सधैँ किचलो गल्थ्यो। धम्काउथ्यो। कठालो समात्न थाल्थ्ययो। गुच्छे उसको व्यवहारले आहात हुन्थ्यो। उसका आँखा रसाएर आउथे। रातमा निन्द्रा, दिनमा भोग हराएको थियो। उसले घरका सबै जहानलाई काँ गयो याँ को रुप्पे भन्ना कसैले केही जवाफ दिएनन्। सबै अनविज्ञ भएका थिए, सबैका लागि त्यो घटना अज्ञात थियो।

जनक जति निर्मम व्यवहार गुच्छेलाई गर्थ्याे, त्यसको दोब्बर धुलाई उसले मौ जहानलाई गर्थ्याे। गुच्छेको शारिरीक र मानसिक हमला सहन नसकेर घरका सबै सदस्य एक एक गरेर घर छोडेर गएका थिए। तर घर खाली भए पनि जनक छोड्ने पक्षमा थिइन। अन्तमा केही सिप नचलेपछि, गुच्छेले आफ्नो सबै जमिन छोडेर जनकको ऋण तिर्न मन्जुर भएको थियो।

जनकले त्यो बेला भनेको थ्यो, ‘यो त साँवा भयो, अब व्याज को दिन्छ ? व्याजको हुनु, तैले यो जमिनमा हलि बस्नुपर्छ। म वर्षको दुईपल्ट अनाज लैजान आउँछु। बुजिस्। पछि म याँ बसाई सरेपछि तँलाई घरबास पनि दिन्छु।’

गुच्छेसँग कुनै उपाय थिएन। उसलाई तातो दुध निल्नु न ओकल्नु भएको थियो। उसलाई नखाएको विष लागिरहेको थियो। गुच्छे केही बोलेन।

अहिले उसका छोराहरुले अधिँया बनाउँछन् जनकको जमिन। )

---

त्यही गुच्छे थारुबाट लुटेर बनाएको पाँच बिगाह जमिनको मालिक थियो जनक शाही।

जिम्दार बाजेले त्यसैमा थप्यो, ‘तिमी मेरो घरको बुहारी होइनौ, चेली हो।’ जीवनको अनुभवले कपाल फुलेका जिम्दार बाजेको वाचालाई उसले शिरोर्धाय गरी। वाचाकै भरमा विगत चार महिनादेखिको निजी स्कुलको खाइपाइ आएको जागिर पनि छोडी।

बिहे पक्का भएको दिन जिम्दार बाजेले धनवीरे देउवालाई भनेका थिए, ‘धन खाने हौ कि हजुर गोडो धुने हौ ?’

‘यै जमानामा पनि के चेलीका ऋण डुबु हजुर, अझै त सालको पात छनाइछन्।’, देउवाले सालको पातमा गोडो धोएर बिदा गरे।

बिहेको दिन खुब रोएकी थिइ सीता। दुइतिन पल्ट त मुर्छा नै परी। ऊ रोएको देखेर बर्यातीले झिजो मान्दै भने, ‘सबै केटीमान्छे रुन्चे मात्र हुने रैछन्।’

समय बित्दै गयो।

पहिलो सन्तानको रुपमा उसको घरमा लक्ष्मी भित्री। शाही परिवार खुसीले गद्गद भयो। तर रामचन्द्रका लागि त्यो घटना अप्रत्याशित जस्तै भयो।

त्यो साँझ रामचन्द्र अरुदिनभन्दा बढी मात्तिए आयो। उसका खुट्टा भुँइका थिएनन्। ऊ आमा चाकरी गाली गर्दै कोठामा पस्यो। उसले हेरफेर नगरी सीताका गालामा एक थप्पड हान्यो। सीताले वरपरको कुनै बस्तु देखिन। उसका कान बन्द भए। सुत्केरीले थिलथिलो भएको शरिरमा रामचन्द्रको आक्रमण उसलाई थामिनसक्नु भयो। उसलाई रिगटाले भाउन्न चल्यो। ऊ थुचुक्क बसी भुँइमा।

घाइते शेरको जस्तै बनेको रामचन्द्रले भन्यो, ‘कस्को हो बच्चा ? मेरो त नाक मुख मिल्दैन। को को सँग सुत्छेस् भन्। नत्र आज यो घरमा के तँ बस्छेस् कि म।’

लास हुन्जेल कुट्यो। कसैले सीताको आँशुको अघि एकशब्द सहानुभूति पोखेनन्। जिउ-ज्यानको भिख मागिरहेकी सीतालाई कसैले करुणाको नजरले हेरेन। शक्तिको अघि मान्छे कति लाचार छ। कायरताको कुनै जात र धर्म नहुने रहेछ, उसले त्यो दिन राम्रैसँग बुझी। कुटेर मरी भनेर छोड्दै उसले भन्यो, 'खुट्टा भए जुत्ता कति आउँछन्, आउँछन्। मर्दको जातले चार स्वास्नी फटाएन भने, त्यो के को मर्द।'

दैनिक कुटाइले उसको शरिर सुकेको काठजस्तो भइसकेको थियो। ऊ सुकेर लप्सीजस्तै भएकी थिइ। बिहानै उठ्यो घरमा झाडोपोछा गर्यो। खाना पकायो। खुवायो। भान्सामा जुठोपिठो गर्यो। काखे बच्चाको संहार गर्यो। चिया पानी बनायो। लत्तका कपडा धोयो। लख्खिमी (बस्तुभाउ)को न्यार पर्साे (भकारो) गर्दैैमा साँझ हुन्थ्यो। साँझ फेरि उही दुःख।

उसको दैनिकी चार दिवार भित्रै नियतिले बन्धक बसेकी कैदीको जस्तो थियो। आज तिमीले जे गर्छौ त्यसले तिम्रो भविष्य निर्धारण गर्छ भन्ने थाह हुँदा हुँदै पनि ऊ वर्तमानको दास बनेकी थिइ। दासको न भविष्य हुन्छ न विगत। उसको भएको विगत स्मृतिका पानामा हराइरहेको थियो भने भविष्यको अन्धकारले उसलाई जिस्काइरहेको थियो।

छिमेकीले उसको वर्तमानलाई कटाक्ष गर्दै भन्थे, ‘रामचन्द्र त सीतालाई जारी लाउछ भन्यो। क्याम्पसमा कुन नाठोसँग सल्के की थि रे। धन सम्पतिकी मालिक्नी भएर के उद्विधि गर्ने खालकी आइमाई रैछ। कुकुरलाई घिउ पच्दैन भनेको यै हो।’

कहिलेकाही माइत जाँदा किन दुब्लाइस् ? भनेर आमाले सोधेर ऊ मुख छोपेर मनमनमा रुन्थी। तर मनको बह कहिल्यै पोखिन। मन बिरक्तिएर कहिलेकाही उसलाई लाग्थ्यो। खोलामा हाम फालेर मरु अथवा रुखमा झुण्डिन जाँउ। तर उसले त्यो गर्न सकिन। उसलाई आफ्नो भन्दा बेशी छोरीको माया लागेर आयो।

फेरि घरमा आयो उही गति।

रामचन्द्र सधैँ रक्सी खाएर आउथ्यो। तथानाम गाली गर्थ्याे। प्रतिउत्तर फर्काउन खोज्दा दुई-चार थप्पड खान्थी। रुदै निदाउनको खोज्दा उसको शरिरसँग रामचन्द्रले मनपरी गर्थ्याे।

सुत्नुअघि रामचन्द्र सधैँ दुर्वासा जस्तो बन्थ्यो। ‘तँ त सुहागरातको दिन पनि रोइनस्। खुब मज्जा मान्दैथिस्। एक थोपो रगत पनि झरेन। बच्चाइदेखि चालु रैछस्। कस्ले तोड्यो तेरो शील ? मज्जा नै आउदैन्।’ भन्दै मुख मैथुनसमेत गर्थ्याे।

आकाशमा ताराहरु टिलपिल टिलपिल गरिहेका थिए। औँसीको रात भएकाले वातावरण पुरै अन्धकार थियो। सबै जना खाना खाएर आफ्नो कोठामा गएसकेका थिए। रामचन्द्र अझै घर पुगेको थिएन। एक्लै तेरो भुँडी भरेर सुतिस भनेर गाली गर्ने भएकाले सीता भान्सा कुरेर रामचन्द्रको बाटो हेरेर बसेकी थिइ। रामचन्द्र आउने बाटो अध्याँरो थियो तर सीताले आशाको दियोमा तेल थप्दै बसेकी थिइ।

रामचन्द्र आएन। कालो बिरालो एक्कासी झ्यालबाट प्रवेश गर्यो। के के सोचेर बसेकी थिइ। सीताको ध्यान भङ्ग भयो। ऊ आत्तिइ। डरसँग अभ्यस्त भइसकेकी भए पनि उसको आत्माको अतल गहिराइमा बचेको अस्तित्वले उसलाई छोप्यो। उसले डराउदै मुख रातो बनाई। विरालो म्याँउ म्याँउ गर्दै भान्साबाट बाहिरियो।

विरालो जानेबित्तिकै जिम्दार बाजे आए। उनले एकटकले सीतालाई हेरे। त्यो हेराइ चिलले चल्लालाई हेरे जस्तै थियो। धेरै बेर सीताले उनीसँग आँखा जुधाउन सकेनन्। उनले लजाउदै धोतीले टाउको छोपिन। सकेजति सीताले सीता जस्तै बन्ने कोशिष गरिन। जनक सीताको समिपमा आए।

उनले लामो सास तान्दै कामुक स्वरमा भने, ‘सीता, मेरा गोडा कटकटी दुख्दैछन्। शान्तिले छोडेर गएपछि ज्यानले पनि शान्ति पाएको छैन। मालिस गर्न हेल्प गर न।’ सीता केही बोलिन। केबल टाउको मात्र हल्लाई। जनकले त्यही टाउकोलाई स्वीकृति सम्झे।

त्यो मालिस, मालिस थिएन। ती गोडा, गोडा थिइनन्। जिम्दार नाग बनेर बसेका थिए। नागले उसलाई डस्यो। कोठाबाट बाहिर निस्किने बेला उनले सिरानको भरुवा बन्दुक समाते खुब सुम्सुम्याए र भने, 'अबदेखि मेरा गोडा सधैँ दुख्नेछन्। मालिस लाएको कुरा कसैलाई भनेस भने ......!'

उनले बन्दुकको नाल तेर्‍साएजस्तै हात बनाए। अनि निकाले आवाज। डुङ...डुङ...डुङ। सीतालाई आफ्नोभन्दा सानी छोरीको माया लागेर आयो। ऊ केही नबोलेर आफ्नो कोठामा आई। झ्याल ढोका थुनेर रोई। छरपस्ट भएका कपालहरु मिलाई। लुगाहरु मिलाई। ऐनाको अगाडि उभिएर रुन थाली। ऐनामा अनुहार धमिलो देखियो। जोरले कराई। ऐनामा लागेको धमिलो मेटाएर आफ्नो निरीह अनुहार हेर्न खोजी तर ऐना स्पष्ट भएन।

उसले आफ्नो अनुहार धोई। उसका आँशुहरु स्वतः पानीमा अनुवाद भए। उसले फेरि ऐना हेरी। तर ऐनाको अमिलोले उसको अनुहारको भाव देखिएन।

उसको आवाज सुन्ने अबोध छोरीबाहेक कोही थिएन। उसलाई लाग्यो, नियतिले लोग्नेमान्छेको चरित्र र स्वास्नीमान्छेको भाग्य बनाएको रहेछ। कति कमजोर हुन्छ चरित्र ? यो चरित्र पनि इन्द्रिय जस्तै देखाएर हिड्न मिल्ने भए मान्छेका हैसियतहरु ज्ञात हुने थिए।

पुलबाट धेरै पानी समुन्द्रमा पुगिसकेको थियो।

तेस्रो सन्तान उसले फेरि छोरी पाई। त्यो दिन, नर्सले रुदै गरेकी बच्चालाई उसको हातमा राखिदिदै बधाईको कन्चन मुस्कान दिई। तर उसले झटपट बच्चाको टाँङमुनि हेरी। बच्चासँगै रुन थाली। सुत्केरी व्यथाले च्याप्दा उसलाई त्यति पीडा भएको थिएन। जति उसलाई बच्चाको टाङमुनि हेर्दा भयो। सुत्केरी व्यथा लाग्नु दुई दिनअघि रामचन्द्रले भनेका थिए, ‘यो पल्ट पनि छोरी पाइस भने, तेरो खुन पिएर पनि मेरो रिस मर्ने होइन। यत्रो श्रीसम्पत्ति छ। भोली यसको उत्तराधिकारी चाहिएन। एउटा छोरो पाउन नसक्ने तँ जाँठीलाई राखेर के काम ?’

रामचन्द्रको श्रीसम्पत्तिको मालिकलाई उसले अस्पतालको वार्डमा राखी। उसलाई रामचन्द्रको धम्कीको याद आयो। आँशु पुछी। सुत्केरी पीडालाई उसले कुनै पीडा नै महसुुस गरिन। उसले अन्तिम पल्ट बच्चाको अनुहारलाई चुमी। फेरि यथास्थानमा राखी। धोतीले कम्मर कसी। पटुकाले टाउको बाँधी। र, अस्पतालबाट थिलथिलो शरिर बोकेर सदाका लागि घर छोडी।

(बाले पढिसकेर डाक्टरलाई हेरे। दाँया हात दाँया आँखाबाट हटाए। र, किताब डाक्टर तिर सार्दै भने, किरिङ् मिरिङ देखियो डाक्टर साब। मैले राम्ररी पढ्नै सकेन। अक्षरहरु जम्मै कुरुप लागे। अर्थ पनि बडो अश्लिल लाग्यो। आँखाले देख्दै देखेन।)

---

(डाक्टरले वाँया आँखा बन्द गरेर फेरि अघि कै अध्याय पढ्न भने। बाले वाँया आँखालाई वाँया हातले छोपेर फेरि त्यही किताबको पूर्ववत् पाठ पढ्न थाले।)

सावित्री अफिस बिदा भएर घर फर्की। उसले दोकान अघि स्कुटर रोकी। छोरालाई फलफुल किन्न दोकानमा गई। देवीरामलाई एक केजी स्याउ तौलिन भन्यो।

देवीराम स्याउ तौलिन थाल्यो।

उसले देवीरामलाई भन्यो, ‘बेलीबास अनौठो खबर सुनियो लौ बरे ! साँचो झुठो कसो हो भन्ना बाबु ?

देवीरामले तौलेको स्याउ पोलेथिनमा हाल्यो।

‘के खबर ? मेरो त एकफेर पनि हातखाली नै हुनो। काँ के भयो केइन था पाउनो लाउ बौजू।’ सावित्रीले दिएको पाँच सयको नोट समातेर उसले गल्लामा राख्यो र सवित्रीतिर आशा लाग्दा नजरले हेर्‍यो।

'दोकानमा गाँउभरका मान्छे हुन्छन्, घरमा थाह नभएको खबर दोकानमा सुनिन्छ, खुब ! बुझेर बुझ पचाउका' सावित्रीले ओठ लेब्राईन। फेरि थपिन, 'तम त छिमेकी हौ के ?' देवीरामले संकेत बुझिहाल्यो।

उसले तीनसय रुप्पे हातमा राखिदिँदै भन्यो, 'ए ए त्यो खबर, हो त हाम्रो गाँउमा लक्ष्मी भित्रिएकी छिन्। रावण पनि यो जुनीमा भिष्मपितामह नै बन्छ कि लाग्याथ्यो तर, केटाको गोडा अल्झियो।'

- ‘काँ बाट ल्याया रैछ ?’

- ‘खै त्यो त था नै पाए। दुब्ली पात्ली भएपनि, जात्की सहेनी छ। घर बनाइ खाहाल्ने हो।’

‘ज्वानले ख्यास्स गर्यो ब्या। व्या गर्नु नै त्यसरी हो। बिनाकामको दाइन दमाउ, बाजा गाजाले जुनिभरीलाई के ऋण डुब्नु।’

स्याउको पोलेथिन समातेर स्कुटरको डिग्गीमा राखी। स्कुटर स्टाट गर्दै भनी, ‘जिन्दगी उनको निर्णय, उनको बनाउन्छन् खान्छन्।’

उसको स्कुटर अगाडि बढ्यो। सीता र रावणको नयाँ जिन्दगीरुपी स्कुटर पनि अगाडि बढ्यो।

सीताले घर छोडेर तीनदिन जङ्गल मै बिताएकी थिई। संयोग नै मान्नुपर्छ कुनै मान्छेको देखा परिन। मान्छेसँग विश्वास नभएरै त उसले घर छोडेकी हो। जनावरसँग ऊ त्यसकारण डराइन कि जनावरले बलत्कार गरेको घटना उसले सुनेको थिइन। जनावरले त उसलाई सक्दो सहयोग पो गरे। बाँदरले एक हाँगाबाट अर्को हाँगा हाम फाल्दा अमलाका दानाहरु खस्थे। तिनै अमला र हर्रोका दाना चपाएर उसको सास बचेको थियो। उसलाई ती जङ्गली फलहरु मिठा लागेका थिए। त्यो बेला उसलाई लागेको थियो, जीन्दगीमा भोग नै सबै भन्दा शक्तिशाली चिज रहेछ। चाहे त्यो पेटको भोक हो कि रेट(मूल्य) को।

 बाँदरले हल्लाएका रुखका पातसँगै उसका ह्रदयका तारहरु पनि हल्लिएका थिए, निस्केको थियो एउटा आलाप। चराजस्ता जीवनका अभिलाषहरु उड्दै उडदै गएर अल्झिएका थिए, मानब अस्तित्वमा। चौथो दिन उसले जङ्गल छोडेर गाँउमा प्रवेश गरी। बस्तीका छाप्राहरु हेर्दा मान्छेको हैसितय सजिलै बुझ्न सकिन्थ्यो, तिनीहरु हातमुख जोर्न दिनभरी मेहनत गर्छन् र साँझ अगेनो बल्छ भन्ने।

हो, त्यही बस्तीको एक छाप्रोमा भएको हो रावण सीताको भेट। रावणले सीतालाई देख्दा स्तब्ध भएको थियो। उसको मुखबाट कुनै शब्द नै निस्केन। जीवन भोगेर स्नातकोउत्तर पास गरेको जस्तो बनेको थियो सीताको अवस्था। आँखाका परेलाहरु सुन्निएका थिए। ओठहरु भोकले कलेटी परेका थिए भने शरिर शिथिल भएको थियो। जिङ्रिङग परेको कपालले अनुहारको चायापोतो झन् चम्केको थियो। उसको हभिगत देखेर रावणलाई यो सपना हो कि विपना छुट्याउन धौ धौ परेको थियो।

बिरानो बस्तीमा आफ्नो क्याम्पसको सखी भेटिदा सीताका लागि भगवान नै अवतार भएको जस्तो महसुस भएको थियो। उसले आफ्नो कमजोर मनलाई थामिराख्नै सकेन। ऊ दौडेर रावणको अंगालोमा बाँधिई। डाको छोडेर रुन थाली। तब रावणलाई ज्ञात भएको थियो कि यो विपना नै हो भन्ने। ऊ खुब रोई। अव्यक्त रुपमा आफ्नो भोगेको नारकीय पीडा भनेररही। आँशुहरु बर्रबरी खसाली। उसका आँशु आँशु मात्र थिएनन्। दुःखको पर्यायवाची रुप थिए।

उनीहरु अंगालोमा बाँधिएको देखेर हावाले एकछिन आफ्नो गति रोक्यो। रुखका पातहरु हल्लिन बिस्रिए। वरपरका ढुङ्गामुडा पनि स्थिर थिए। हो, देख्ने मान्छेहरु पनि एकछिन ढुङ्गा जस्तै बनेर हेरे। प्रकृति पनि त्यो बेला मानव मैत्री भएको जस्तो लाग्थ्यो। सीताले जीवनमा पहिलोपल्ट रावणको वाहुपासमा शान्तिको सास फेरी। उसको धडकनको चाल रावणले महसुस गर्यो। उसले सीताका आँशुहरु पुछिदियो।

अन्तिमका भन्यो, ‘सीते, नरोउ ! स्वास्नीमान्छेले रोएको सुहाउदैन।’

रावण त्यसताका एउटा एनजीओमा जागिर गर्थ्याे। फिल्डमा गएर गर्भपतन, बन्ध्याकरण र गर्भ निरोधक साधनको बारेमा कार्यक्रम गर्थ्याे। गाँउमा निशुल्क कण्डम बाड्थ्यो। त्यसैले केटाकेटीले उसको नाम राखेका थिए, ढाल दाइ। हो, जनसङ्ख्या रोकथामको लागि ढाल नै बनेको थियो। उसको कामले संस्थाको नामसमेत रोशन भएको थियो।

सीतासँग बिहे गरेपछि पनि उसले सातवर्ष त्यही संस्थामा काम गर्यो। त्यतिन्जेल उसकी एक छोरी भैसकेकी थिई। छोरीको अनुहार हेरेर ऊ खुब खुसी भएको थियो।

छोरीको निधारमा म्वाँइ खादै उसले भनेको थियो, ‘यो त सेम टु सेम आमाजस्तै पो भइ त। छोरीको शील स्वभाव पनि तिम्रो जस्तै बनाउ है सिते।’ अर्को सन्तानको लागि उसले सितेलाई मजबुर गरेन।

बरु उसले भन्यो, ‘कामिलो सन्तान भए, एक पनि करोडौँको जस्तो काम गर्न सक्छ। किन चाहियो अर्को ?’ छोरीको नाम उनले सिरा राखेको थियो।

सिराको अर्थ शरिरमा रक्तसन्चार गराउने नसा हुन्छ। तर उनले शब्दको कोशमा अर्थ खोजेका थिएनन्। सीताको पहिलो अक्षर र रावणको पहिलो अक्षरबाट राखेका थिए छोरीको नाम सिरा। उनीहरुको सिरा नै बनेकी थिइ, सिरा।

सीता गर्भवती भएदेखि सुत्केरी हुँदासम्म घरको काम सबै उसैले गर्यो। एकदिन टाउको दुख्यो भनेर सीता सुतेकी थिई। छोरी रोइरहेको देखेर रावणले लोरी गाउदै छोरी खेलाउदै थियो। उसको पाइन्टमै छोरीले आची गरी।

सीता दुखेको टाउकोमा रुमाल बाँधेर छोरी सफा गर्न आउँदा उसले भन्यो, ‘बाउहरु जिम्मेवारीका अर्को नाम हो रे। मलाई छोरीप्रतिको जिम्मेवारी पुरा गर्न देउ।’

हो, उसले धेरैपल्ट धाेएको छ, छोरीका आची गरेका लुगाहरु।

एक महिनासम्म बिदा लियो अफिसको। सीतालाई कोठाबाट बाहिर आउनै दिएन। आफ्नै मनले सीताले केही काम गर्न खोज्यो कि रिसमा माया मिलाइदै भन्थ्यो, ‘अरे सिते, दुई जिउ भएको बेला धेरै काम गर्नु हुन्न के, यो नक्कलीलाई कति सम्झाउने। शरिर छैन त दुनिँयामा केही छैन। आफ्नो ख्याल आफै गर्नु पर्यो। धेरैपछि मैले आमाले जस्तै माया गर्ने जीवन साथी पाएको छु। तिम्रो ज्यानमा केही तलमाथि भए मैले एक्लै कसोरी बाँच्नु !’

उसको कुरा सुनेर सितेले गह भरी आँशु पार्थी। सितेका हर्षका आँशु पुछिदिँदै रावणले भन्थ्यो, ‘यी स्वास्नीमान्छेका आँखा आँशु पोखरी नै हुन की क्या हो। निको भने रोएकै छन् फुचेरो भने रोएकै। नसकीने भो बरै !’

सीता उसकी अभिभावक नै थिई। रावण पाँच वर्षकै छदाँ उसकी आमा छाउगोठमा सर्पले टोकेर मरी। उसका बाले धेरै दिन श्रीमतीको यादमा रक्सी खाँदै विताए। भएको खरिदारको नोकरी पनि राजिनामा दिदैँ भने, 'छोरालाई पुग्ने सम्पत्ति जोडेकै छु। मेरो को छ र खाने ? अर्काको चाँकरी गरेर हुन्छ। राजनीति गर्छु।’

उनी जागिर छोडेर माओवादी इलाका इन्चार्ज भए। भूमिगत जीन्दगी बिताएका कमरेड ठक्करले एकदिन सैनिकसँग ठक्कर खाए। उनको जीवन लिला समाप्त भयो। रावणले बाउको सानो हड्डी समेत भेट्याएन। शान्तिसम्झौता हुनु अघिसम्म त उसलाई आशा नै थियो बा कतै आइ पो हाल्छन् कि भन्ने। माओवादी सत्तामा पुगेपछि उसको आशाको बत्ति निभ्यो। हो, उसले त्यसैदिन बाउको क्रिया गरेको थियो जुन दिन माओवादीले सरकारलाई आफ्नो हतियार बुझाएको थियो।

विद्यार्थी काल उसले होस्टेल मै बिताएको थियो। जब जागिर खायो। अनि बस्न थालेको हो गाँउमा। गाँउमा उसको सबैले प्रशंसा गर्थे। भन्थे, ‘ठक्कर धेगे सरर्के (स्वर्ग) लोक पुग्यो, चेलो चै भगवानै हो। त्यत्रो श्रीसम्पत्ति एक्लै सम्हालेको छ। हाम्रा जस्ता चेला भए। अगेनामा छार (खरानी) पनि राख्ने थिएनन्।’

रावण गाँउदेखि घरसम्म सबैको भगवानजस्तै बनेको छ।

उसकी छोरी सात वर्षकी भइसकेकी थिई। गाँउकै सरकारी स्कुलमा पढ्छे तीन कक्षामा। ज्ञानी थिइ केटी। स्कुलबाट घर पुगेर भन्थी, ‘मामु, म साग काट्छु तपाई पिठो मुछ्नुस्। सबै मिलेर काम गरे कम समय लाग्छ।’

घरको काममा रावणले पनि बरोबर सघाउँछ। बिहान सीताभन्दा पहिले नै उठ्छ रावण। मोर्निङवाकबाट फर्केर आफै चिया बनाएर कोठामा जान्छ। सिरा र सीतालाई उठाउछ।

 के आपत्त पर्यो तमलाई यति ? म आफै बनाइ हाल्थे नि भने उसले भन्छ, ‘लोग्नेमान्छेलाई घरका साना-साना काम पनि गर्न आउदैन। मैले पनि आत्मनिर्भर बन्नु पर्यो नि डार्लिङ !’

उसले आफ्नो ओछ्यान सधैँ आफै मिलाउछ। उसको दर्शनमा मान्छेले आफ्नो ओछ्यान सधैँ आफै मिलाउनुपर्छ। ओछ्यानमा मान्छेका सपनाहरु झरेका हुन्छन्। सबैले आफ्ना सपना देख्ने ठाँउको आफै संहार गर्नुपर्छ।

लुगा उसले आफै धुन्छ। उसलाई लाग्छ, मैले लुगामा कस्ता कस्ता दाग लागेका छन् ? कुन लुगालाई कति सावुन लगाउने ? अर्को मान्छेलाई के थाह। त्यसैले सबैले आफ्नो लुगा आफै धुनुपर्छ। सीताले 'ल्याउनुस म धुन्छु, छिमेकीले देखे रावण त कस्तो नोइटिङ्ग्रे भयो भन्लान' भने उसले भन्छ, ‘स्वास्नीमान्छेलाई किन पोइटिङ्ग्रे भन्दैनन्। भाष्य जसले पनि आफू अनुकूल नै बनाउछन्। शासक र शासितको भाष्य कहिल्यै मिल्दैन बुझिस् सिते।’

रावणका अगाडि सीता सधैँ पराजित हुन्छे। तर पराजित हुनुमा पनि उसलाई विजयको भन्दा बढी खुसी प्राप्त हुन्थ्यो। सायद सीताले खोजेको प्यार त्यही थियो।

(बाले भने, यो आँखाले प्रस्ट देखियो डाक्टर साब। सबै शब्द र अक्षर चिने। बाको अनुहारमा सय वाडको बत्ति बल्यो। उनले किताब बन्द गरेर डाक्टरतिर बढाए। डाक्टरले किताब टेवलमा राख्यो। र एउटा चिटमा लेखेर बाको हातमा कागत थमायो। र, भन्यो, 'ल काउन्टरबाट यो औषधि र चश्मा किनेर लगाउनुस्। आँखाको ख्याल गर्नुस् है।'

मैले डाक्टरलाई धन्यवादसहित नमस्कार गरे। चश्मा किनेर हामी गेटबाट बाहिर आयौ। बालाई चश्मा राम्रो सुहाएको थियो।

आधा घण्टापछि बाले भने, ‘कान्छा, वाँया आँखाले त अहिले बरोबर देख्दैछु। तर दाँया आँखाबाट आँशु आउदैछन्। पावर बढी भएर पो हो कि रिँगटा लाग्दै छ। म त यो चश्मा धेरै दिन लगाउन सँकुलाजस्तो छैन।’ 

के गर्ने ? के गर्ने म दुविधामा परे। वाँया आँखाले देख्ने भए पनि दाँया आँखाले तकलिफ पाइरहेको थियो। मेरो दिमागमा एक्कासी आइडिया आयो। उसै पनि बाले धेरै दिन चश्मा नलाउने उर्दी दिइसकेका थिए।

मैले चश्मा तमातेर दाँया आँखाको चश्माको सिसा निकाली दिए। मेरो हर्कत देखेर बा जिल्ल परे तर उनी केही बोलेनन्। मैले हाफ चश्मा बाको आँखामा लगाउदै भने, ‘कस्तो देखियो बा ?’

उनले भने, ‘हो अब सन्तुलन मिल्यो। दृष्यहरु सफा देखिए।’



 लेखकका अन्य लेखहरु...

दुर्बल कथानक सबल पात्र

जड्याह साथीसँगकाे गन्थन

प्रकाशित मिति: : 2021-07-17 08:53:00

प्रतिकृया दिनुहोस्