दुर्बल कथानक सबल पात्र

खेम बतास

सुदूरपश्चिम
Breaknlinks
Breaknlinks

गीत पूर्व र पश्चिम दुवैतिर प्राचीनकालदेखि धेरै लोकप्रिय छ।

प्रमुखतः कविता, आख्यान, नाटक र निबन्ध गरी साहित्यका चार विधा छन्। गीत कविता विधाभित्रको उपविधा हो। तथापि, यसको आफ्नै मौलिक संरचना र स्वरुप हुन्छ। गीतमा पनि सूक्ष्म रुपमा कथानक, चरित्र र पर्यावरणको चित्रण गरिएको हुन्छ।

प्राय जसो वनपाखामा मन भुलाउने र वेदना पोख्ने माध्यमको रुपमा गीत गाइने भए पनि वर्तमान समयमा गीत डिजिटल माध्यममा प्रवेश गरेको छ। त्यसैले यसको लोकप्रियता सबै साहित्यिक विधाका तुलनामा वेशी नै छ।

परापूर्वकालमा वनपाखा जाँदा, मेलापात गर्दा र हिउँद बर्खामासमा कामसित झर्को नलागोस भनि मनका कारुणिक र रोमान्स अभिव्यक्त गर्ने माध्यम बनेको थियो, गीत। तर अहिले यसको क्षेत्र सिमित छैन। साहित्यका अन्य विधामा बौद्धिकता र दार्शनिकता पाइने भएकाले सर्वसाधारण पाठक र दर्शक माझ साधारणीकरण हुन समय लाग्छ। तर गीतमा भावको एक झट्का वा संवेगको एक झोक्कामा सहज तरिकाले व्यक्त गर्ने ताकत हुन्छ।

मान्छे स्वभावैले सरल र सहज प्रेमी भएकोले गीत सबैको लोकप्रिय हुन्छ। गीत गाउनका लागि लेखिन्छ। भावसँगै लय,कल्पना, सङगीत,बिम्ब प्रतीक र भाषा यसका प्रमूख तत्त्वहरु हुन्।

नेपाली समाज विविधतायुक्त रहेको छ। यहाँ १३१ भाषा र १२५ जातका मानिसको बसोबास छ। जात अनुसार मान्छेको संस्कार पृथक छन्। भौगोलिक पृथकता अनुसार मान्छेको मनोविज्ञान फरक छ। यहाँ प्रत्येक खोलाको पानीको स्वाद, प्रत्येक फूलको सुवास र प्रत्येक चराको आवाज आफैमा मौलिक र कालजयी सङ्गीत जस्तो लाग्छ। त्यसैले नेपालमा पृथकता र मौलिकता जताततै भेट्याउन सकिन्छ।

सामान्य अर्थमा प्रयोगवाद भन्नाले नयाँ-नयाँ कुराको खोज भन्नु बुझिन्छ। चलिआएको तरिकाभन्दा केही भिन्न भन्ने अर्थ हो, प्रयोगशीलता। साहित्यका विभिन्न विधामा बेला-बेला नयाँपनको खोज भएको छ। गीत पनि साहित्यकै विधा भएकाले गीत पनि यसमा अछुतो रहन सकेको छैन।

चक्र बमका पूर्ववर्ती गीतहरुमा पनि प्रयोगशीलता रहेको देखिन्छ। 'चुइङ्म पट्काउने दारु सड्काउने', 'नाच भुण्टी नाच', 'तनाब भाको छ',  'जाँडको झोल', 'ओए गाँजल' र 'भन साली तेरी दिदी काँ छ' उनका प्रयोगशीलतामा आधारित लोक पप गीत हुन्। यी गीतमा भाषिक, प्रयावरणीय र सामाजिक साँस्कृतिक अन्तरघुलनको बिम्बलाई राम्रो मलजल दिइएको छ।

त्यस्तै असार २८ गते चक्र बम युटुब च्यानलबाटै स्रोता दर्शकमाझ रिलिज भएको छ, उनको नयाँ गीत। गीतको बोल रहेको छ, 'छम्म छम्म'। गीतमा डोट्याली लोक नृत्य हुड्केली संस्कृतिलाई प्रयोग गर्न भरपूर प्रयास गरिएको छ।

हुड्केली लोक साहित्यमा आधारित लोक नृत्य हो।  यो कसरी खेलिन्छ ? यो कुन समुदायको परम्परागत पेशा हो ? यो बारेमा एकछिनमा चर्चा गरौला।

सबैभन्दा पहिले लोक साहित्यको परिचय दिदाँ उत्तम होला। लोक साहित्य लोक र साहित्य दुई शब्दका योगबाट बनेको शब्द हो। 'लोक'ले दुनियाँ, संसार वा विश्व प्रभागलाई बुझाउँछ र 'साहित्य'ले भाइचारा, मेलमिलाप, माया-सद्भाव युक्त आलङकारिक रचना विशेषलाई बुझाउँछ। त्यसैले लोकको भलाई गर्न रचिएको आलङ्कारिक रचनालाई लोकसाहित्य भनिन्छ।

लोक साहित्य परम्पराबाट प्राप्त साहित्य हो। यसमा मानव सभ्यताको पुरानो इतिहास अङ्कित हुन्छ। यसले मानव ग्रन्थिमाथि प्रकाश पार्छ र सामाजिक स्तरलाई बुझाउँन मद्दत गर्दछ। त्यसैले लोकसाहित्यलाई जनताको सम्पत्ति मानिन्छ।

लोक साहित्यको पृष्ठभूमि कोट्याउँदै हामी मानव जातिको आदिकालमा पुग्छौँ। आदिम अपठित मानवको सहज, स्वभाविक र अकृत्रिम भावोद्गार नै लोक साहित्य हो। मान्छेले आदिमकालमा आफ्ना स्वान्त सुखाय वा मनोरञ्जनका निमित्त हर्ष, विस्मात् वा पीडा अभिव्यक्ति गर्न कुनै पनि शास्त्रीय बन्धन थिएन।

शब्द, वाक्य र अर्थका तहमा कुनै आग्रह-पूर्वाग्रह थिएन। सबै खुसी र सुख साटासाट गर्न लोक साहित्यका विभिन्न विधाको प्रयोग गर्ने गर्दथे। लोक साहित्य परम्परामा आधारित हुन्छ। यसको कुनै एक रचियता हुँदैन। लोकसाहित्य लोकको सामूहिक आवाज हो। यो स्वतस्फुर्त हुन्छ। लोकका कला र गलामार्फत् सधैँ जीवित भएर पूस्तान्ततरण हुनु यसको मौलिक विशेषता हो। आञ्चलिकता, अभिव्यक्तिमा सरलता, सामूहिक अवचेतनको प्रवलता यर्थाथसँग सन्निकटता लोकसाहित्यका प्रमुख मान्यता रहेका छन्।

लोकगीत, लोक कविता, लोक कथा, लोक नाटक, उखान टुक्का र गाँउ खाने कथा गरी लोक साहित्यलाई मुख्यतया ६ भागमा विभाजन गरिएको छ।

लोक साहित्यका विभिन्न विधामध्ये लोक नाटक भित्र हुड्केली पर्दछ। हुड्को भनेको एकप्रकारको डोट्याली समाजमा शुभ साइतमा बजाउने बाजाको नाम हो। जुन विशेषगरि न्वारन, छैठी, अन्नप्रासन विवाह लगायतका विभिन्न शुभसाइतमा दमाइ जातिले बजाउने गर्छन्। दमाइ जातिले नाच्ने र गाउने लोक नृत्यलाई हुड्केली भनिन्छ। हुड्को बजाउदै हुड्केले कुनै लोक गाथालाई भट्याउने गर्दछ। वीरविरङगनाको गाथालाई लय हालेर हुड्केले भट्याउने गर्दछ। डोट्याली समाजका ऐतिहासिक पात्रको महिमालाई यस नृत्यमा प्रस्तुत गरिन्छ।

चक्र बमले पनि 'छम्म छम्म' भन्ने बोलको गीतमा हुड्केलाई प्रमुख चरित्रको रुपमा उभ्याएको छन्। उक्त हुड्के उनी आफै भएर आफै गाउँछु आफै नाच्छु भन्दै हुड्के बजाउदै नाचिरहेका हामी भिडियोमा देख्न सक्छौँ।

गीतमा हुड्कोलाई लोक बाजाको रूपमा प्रयोग गरिएको छ। हुड्केले परम्परागत भेषभुषामा नाचेको पनि छ तर कुनै वीर गाथाको बयान भने गरेको छैन। तर यसो भन्दै गर्दा गीतमा कथानक नै नभएको भनेको भने कदापी होइन।

उक्त गीतमा हुड्केले सबै दुख, पीडा र वेदना भुलेर दुई दिनको जीन्दगीमा रमाउँन आग्रह गरेका छन्। एउटा विधवा महिलालाई सहायक चरित्रको रुपमा उभ्याएर विधवा हुुनुको पीडा र दुःख भुल्न हुड्केले आग्रह गरेको छ। सूक्ष्म रुपमा विधवा प्रथाजस्तो कूसंस्कार रहेकोले गीत विधवा प्रथाको विपक्षमा उभिएको छ।

त्यस्तै अहिलेको नयाँ पुस्ताले पनि आफ्नो परम्परागत लोक साहित्यको अंशलाई कायम राखेर परिमार्जन गर्दै जानुपर्नेतिर पनि बमकाे जोड रहेको छ। गीतको प्रमुख चरित्रको रुपमा अभिनय गरेका बमले पार्टी भोज-भतेरमा आधुनिकता भित्रिएकोले हुड्केली नै पहिलेको मौलिक परम्परा भएकोले हुड्केको तालमा नाच्नसमेत आग्रह गरेका छन्।

अर्को कुरा हुड्के परम्परागत संस्कृति हो। आजको समाजमा यसको अवशेषसमेत पाउन कठिन छ, त्यसैले यस गीतमार्फत हुड्केली संस्कृतिको बारेमा खोज अनुसन्धान गर्न थप टेवा पुग्ने छ।

वर्तमान नेपाली समाजमा सल्वार्टनकाे मुद्दाले ठाँउ पाएको छ। समाजमा हेपिएर-चेपिएर रहेका तमाम भुँइमान्छेको आवाजलाई कला, साहित्य, संस्कृति र फिल्मको माध्यमले अधिकार सम्पन्न गर्न मान्छे लागिपरेका छन्। जुन स्वागत योग्य सवाल पनि हो।

हुट्केली पनि सल्वार्टन वर्गको प्रतिनिधित्व गर्ने परम्परागत लोक नृत्य हो। यस लोक नृत्यमा दमाई जातिको पात्रले हिन्दु समाजको विभिन्न पर्व-पर्वादीमा वीर र ऐतिहासिक पात्रको गाथालाई गाउँदै हुड्के बजाउने गर्दछन्। यसरी एउटा सल्वार्टन पात्रलाई मुलधारमा ल्याउनू आफैमा गम्भिर कुरा हो। तर गायकले सल्वार्टन पात्रको भेषभुषा ल्याए, नृत्यको शैली ल्याए तर उनले विनिर्माण गर्ने नाँउमा वीर गाथालाई छोडेका छन्।

के ऐतिहासिक गाथालाई विसंरचनाको नाममा छोड्नु परम्परागत गाथा र नवीन शैली बीचको पुलको काम गर्ला त ? यो दर्शक र स्रोताको हातमा छ।

एउटा भुइँ मान्छेको प्रतिनिधित्व गर्ने दमाई पात्रलाई मुलधारमा ल्याउनु तर उसको वैचारिकतालाई तुलनात्मक रुपमा विसंरचना गर्नु कतिको जायज छ, यो बहसको विषय हो। गीतमा अहिलेका समाजिक मुद्दामा घनिभुत बहस गर्न सकिने यथेष्ट ठाँउ थियो। समाजमा जातीय छुवाछुत, महिला हिंसा, राजनीतिक दाउपेच, बलात्कारका अमानवीय घटना लगायत थुप्रै कूरुप पक्ष रहेका छन्। ती कूरुपतामाथि आलोचनात्मक चेत राखेर गीतको समग्रता देखाएर जनचेतना देखाउने ठाँउ खाली नै रहको छ। सायद बढ्दो बजारको माग र मान्छेको मनोविज्ञानलाई ध्यानमा राखेर गायकले यस्तो गरेको हुनसक्छन्।

खैर त्यो कुरा छोडाैं। पात्रगत विसंरचना गीतमा भएको चाहिँ साँचो हो। बाँकी कुरा दर्शक स्रोताका हातमा रह्यो।

समाज विशेष गरी प्रगतिशील र यथास्थितिवादी दुई विचार धारामा विभक्त भएको हुन्छ। यथास्थितिले जे छ, जस्तो छ, जसरी चलेको छ त्यो सबै ठीक छ भन्छ। यो विचार धारावादीहरु 'रेडिमेड जङ्क फुड' खान मनपराउने खालका हुन्छ। जसले आफ्ना इन्द्रीयको प्रयोग गरी केही नयाँ गरौँ भन्ने सोच राख्दैनन्। उनीहरूको धरातल साँघुरो र सिमित हुन्छ। तर प्रगतिवादीहरु वैचारिक र व्यवहारिक रुपमा प्रयोगवादतिर उन्मुख हुन्छन्। जसले समाजमा चलिआएको भाष्यको विस्थापन गरी समानान्तर भाष्यको निमार्ण गर्न मनपराउँछन्।

चक्र बमका गीत पनि भाषिक प्रयोग, शैलीगत विविधता र परम्परिक मान्यताको विस्थापनामा नवीन र प्रयोगशील छन्। उनी समकालिन गीत-सङ्गीत क्षेत्रका उम्दा सर्जक हुन्।

अझै बमको मूल्याङ्कन हुन बाँकी नै छ। आगामी दिनमा पनि नयाँ-नयाँ प्रयोग गर्दै जाओस्। नेपाली गीत-सङ्गीतमा मौलिक काम होस्, साथी तलाई शुभकामना छ।

प्रकाशित मिति: : 2021-07-03 15:34:00

प्रतिकृया दिनुहोस्