धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा थप एक कोरोना सङ्क्रमित महिलाको मृत्यु भएको छ।
मोरङको सुनवर्षी नगरपालिका ७ की ६८ वर्षीया महिलाको उपचारको क्रममा मंगलबार बिहान मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाले जानकारी दिए।
उनलाई ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि विराटनगरको नोबल मेडिकल कलेजले प्रतिष्ठानमा रेफर गरेको प्रवक्ता सापकोटाले बताए। उनलाई यही असोज १० गते बिहान प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको थियो।
उनलाई असोज ५ गते कोरोना सङ्क्रमण पुष्टि भएको थियो। उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेका बेला मृत्यु भएको प्रतिष्ठानले जनाएको छ ।
यससँगै प्रतिष्ठानमा कोरोना सङ्क्रमणका कारण मृत्यु हुनेको सङ्ख्या ३६ पुगेको छ। सोमबार पनि धरान–२ की ३८ वर्षीया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भएको थियो।