काभ्रेमा हालसम्म एकै दिनको परीक्षणमा अधिक कोरोना सङ्क्रमित देखिएका छन्।
मंगलबार गरिएको परीक्षणमा ७९ जनामा कोरोना संक्रमण देखिएको जिल्लास्थित कोभिड–१९ रोकथाम तथा नियन्त्रण कमाण्ड पोष्टले जनाएको छ।
थपिएकामध्ये पाँचखाल नगरपालिकास्थित वीरेन्द्र सैनिक तालिम केन्द्रका ६९ सैनिक रहेको छन्। उनीहरुको स्वाब नेपाली सेनाको छाउनीस्थित अस्पतालमा पिसीआर परीक्षण गरिएको थियो।
यता पाँचखाल ५ का ‘कन्ट्याक्ट ट्रेसिङ’ मा परेका पाँच र पाँचखाल–७ का एक तथा धुलिखेल र बनेपा नगरपालिकाका दुई/दुईमा पनि कोरोना सङ्क्रमण देखिएको छ।
पोष्टका सदस्यसचिव एवं जिल्ला स्वास्थ्य कार्यालय प्रमुख डा नरेन्द्र झाका अनुसार यसअघि उक्त केन्द्रका १० सैनिकमा सङ्क्रमण देखिएको थियो।
यसअघि पाँचखालस्थित सशस्त्र प्रहरीको १५ नम्बर गणका १० तथा जिल्लास्थित नेपाल प्रहरीका २२ र धुलिखेलस्थित नेपाली सेनाका आठमा कोरोना सङ्क्रमण देखिएको थियो। हालसम्म जिल्लास्थित सुरक्षा निकायमा १०९ मा कोरोना सङ्क्रमण देखिएको जनाइएको छ।
जिल्लामा हालसम्म ५४१ मा कोरोना सङ्क्रमण देखिएको छ। कूल संक्रमितमध्ये पाँचको मृत्यु भएको छ भने ३४० उपचारपछि घर फर्किएका छन्। १९५ सक्रिय सङ्क्रमितमध्ये १३२ अस्पताल आइसोलेसन र ६३ को होम आइसोलेसनमा उपचाररत छन्।