गुल्मीमा लगाइएकाे निषेधाज्ञा बुधबारदेखि हटाइएको छ। कोरोनाको जोखिम बढेसँगै जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले भदौ १९ गतेदेखि जारी गरिएको निषेधाज्ञा आजबाट हटाइएकाे हाे।
आज बसेको जिल्ला संकट व्यवस्थापन केन्द्र गुल्मीले अर्को सूचना जारी नहुन्जेल जिल्लामा जारी गरिएको निषेधाज्ञालाई हटाउने निर्णय गरेको जिल्ला प्रशासन कार्यालय गुल्मीका प्रशासकीय अधिकृत उद्धव पन्थीले जानकारी दिए।
निषेधज्ञा हटाइएपनि व्ययसाय सञ्चालन गर्न समय तालिका बनाइएकाे उनले बताए।
उनका अनुसार दूग्ध व्यवसाय बिहान ९-११ बजेसम्म, साँझ ४-६ बजेसम्म सञ्चालन गर्न दिइने निर्णय भएको छ।
तरकारी र फलफूल पसलहरु बिहान ७-९ बजेसम्म र साँझ ४-६ बजेसम्म खुल्ला गर्न पाउनेछन्। अन्य पसल, उद्योग व्यववसाहरु बिहान १० बजेदेखि साँझ ५ बजेसम्म खुल्ला रहने व्यवस्था मिलाइएको छ।
अस्पताल, औषधि पसल र पेट्रोलपम्प लगायत अति आवश्यकीय सेवाहरु भने २४ सै घण्टा सञ्चालनमा रहने छन्।