मकवानपुरमा एक महिने शिशुमा कोरोना संक्रमण पुष्टि

फाइल तस्वीर

मकवानपुरमा एक महिने शिशुमा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ। मकवानपुरमा एक वर्षभन्दा मुनीको शिशुमा कोरोना पुष्टि भएको पहिलो पटक हो। 

किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रको प्रादेशिक प्रयोगशालाबाट मंगलबार बिहान प्राप्त पीसीआर नतिजा अनुसार हेटौंडा ४,का एक महिने शिशुमा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो।

हेटौंडा आइसोलेसन वार्डका इञ्चार्ज भोला चौलागाईंका अनुसार शिशुकी ३६ वर्षीय आमालाई कोरोना पोजिटिभ देखिएपछि परिवारकोसमेत स्वाब संकलन गरी पीसीआर गरिएको थियो। 

उनका अनुसार उनी हेटौंडा अस्पतालमा सुत्केरी भएको र केही समय बिताएकी थिइन्। ‘शिशु र आमा दुवैको स्वास्थ्य अवस्था सामान्य रहेको छ। उनीहरु घरमै आइसोलेटेड भएर बसेका छन्,’ उनले भने।

मंगलबार बिहान एक महिने शिशुसहित मकवानपुरमा थप १६ जनामा कोरोना पुष्टि भएको हो। योसँगै मकवानपुरमा कोरोना संक्रमित हुनेको संख्या १०६९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ भने ११ जनाले ज्यान गुमाइसकेका छन्।

प्रकाशित मिति: : 2020-09-15 12:59:04

प्रतिकृया दिनुहोस्