कोरोना संक्रमण झन् भयाभह बन्दै, एकैदिन ३ लाख ७ हजार बढी संक्रमित

विश्वमा कोरोना संक्रमणको प्रभाव झन् बढ्दै गइरहको छ। यसको पछिल्लो उदाहरण आइतबार देखिएको छ। आइतबार मात्र विश्वमा ३ लाखभन्दा बढी मानिस कोरोनाबाट संक्रमित भएका छन्। 

विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) का अनुसार २४ घण्टामा यति धेरै संक्रमित फेला पर्नु गम्भीर विषय हो। अहिले भारतमा सबैभन्दा बढी कोरोना संक्रमित फेला पर्न थालेका छन्। दैनिक संक्रमितको सूचिमा भारत नम्बर एक देश हो। उसले अमेरिकालाई पनि पछि छोडिसकेको छ। 

भारतमा हाल दैनिक एक लाखको हाराहारीमा मानिसहरू संक्रमित भइरहेका छन्। दोस्रो नम्बरमा अमेरिका र तेस्रोमा ब्राजिल रहेको छ। 
‘पछिल्लो २४ घण्टामा ३ लाख ७ हजार ९ सय ३० जना संक्रमित भएका छन्,’ डब्ल्यूएचओले बताएको छ। 

यसअघि एकै दिन संक्रमित हुने संख्या ३ लाख ६ हजार ८ सय ५७ थियो। यो संख्या ६ सेप्टेम्बरमा पुगेको थियो। विश्वमा हाल कोरोनाका २ करोड ९१ लाख संक्रमित फेला परिसकेका छन्। जसमा ९ लाख २८ हजारभन्दा बढीको निधन भइसकेको छ। 

अमेरिकामा मात्र ६७ लाख मानिस संक्रमित भइसकेका छन्। जसमा १ लाख ९८ हजारको निधन भएको छ। भारतमा भने ४८ लाख मानिस संक्रमित भएका छन्। ७९ हजारको निधन भइसकेको छ। 

डब्ल्यूएचओले यसअघि नै सबै देशलाई लकडाउन खुकुलो नपार्न चेतावनी दिँदै आइरहेको छ। उसले भ्याक्सिनको आविस्कार नहुँदासम्म संयम बनाउन सबै राष्ट्रलाई सुझाव दिएको छ भने कोरोनाविरूद्ध एकजुट भएर लड्न पनि आग्रह गर्दै आइरहेको छ।

प्रकाशित मिति: : 2020-09-14 09:50:04

प्रतिकृया दिनुहोस्