‘इनफ इज इनफ’ अभियानले काेराेना परीक्षणका लागि र्यापिड एन्टिजिन टेस्ट किटको प्रयोग गर्न लागेकाेप्रति विरोध जनाएको छ।
आइतबार एक विज्ञप्ति जारी गर्दै एन्टिजिन टेस्ट किट कम जोखिम भएका मानिस र आम सर्वसाधारणमा प्रयोग गर्न मिल्ने भएपनि कोरोना भाइरसको उच्च जोखिममा रहेका व्यक्तिका लागि प्रयोगशालामा त्यसको प्रयोग गर्नु उचित नहुने बताएका छन्।
‘उक्त परीक्षण विधि प्रयोग गर्न सजिलो छ। तर, यो जस्तो प्रयोगात्मक चरणमा रहेको परीक्षण विधिले पीसीआर परीक्षणको ठाउँ लिँदा कुनै लाभ हासिल हुन्न भन्नेमा हामी प्रष्ट छौँ’, विज्ञप्तिमा भनिएको छ।
‘इनफ इज इनफ’का सत्याग्रहीसँग स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपालमा कोभिड- १९ संक्रमण परीक्षण गर्न आरडीटी नगर्ने सहमति गरे पनि अहिले गर्न लागेकामा आफूहरु अचम्मा परेको अभियानले जनाएको।
त्यस्तै कोभिड -१९ बाट संक्रमित व्यक्तिसँग नजिकको सम्पर्क भएका व्यक्तिहरूको परीक्षण गर्न ५ दिन नपर्खन, कम जोखिममा रहेका अत्यावश्यक कामका कर्मचारीहरूलाई आफैंले खर्च व्यहोर्ने गरी पुल टेस्टिङ विधिबाट पीसीआर परीक्षण गर्ने व्यवस्था गर्न पनि आग्रह गरेको छ।
अभियानले जोखिममा रहेका जनसंख्याको मापदण्डलाई परिभाषित गर्ने तथा निरन्तर रूपमा अद्यावधिक गर्ने र उक्त जनसंख्यामा कोराेना संक्रमणको यकिन गर्न पीसीआर परीक्षणमात्रै गर्न सरकारलाई आग्रह गरेको छ।
समुदायमा कोरोना फैलिसकेको भन्दै ‘इनफ इज इनफ’ले संक्रमणको कारक तत्वहरूको बारेमा अस्पष्टता, सबै अवस्थालाई एउटै खालको सामना गर्ने विधि पछ्याउने रणनीति अप्रभावी, बढी समय लाग्ने तथा महङ्गो सावित हुने भन्दै सरकारलाई सचेत गराएको छ।