‘बर्मेली कथा’ सुनाउँदा–सुनाउँदै बहकिएका उनी म्यान्मारको सामाजिक, आर्थिक र धार्मिक विषयमा हौसिएर बोल्थे। तर राजनीतिक विषयमा चुपचाप हुन्थे, मोतिलाल।
दशकौँअघि काम खोज्दै विदेशिएका नेपालीहरू ‘बर्माभर’ छरिएका छन्। नेपालीहरू जहाँ गएका छन्, त्यहाँ नेपाली भएरै बाँचिरहेका छन्। उनीहरू बर्माको अग्लो हिमाल खाकाबोराजीको फेददेखि समुन्द्री तट नागपालीसम्म फैलिएका छन्।
‘गोर्खा’ उपनामले चिनिँदै आएका नेपालीहरूको बर्मेली इतिहास बहादुरी र वीरताले भरिएको छ। ‘अंग्रेजी–जापानी’ शासकबाट पेलिँदै–ठेलिँदै हुर्किरहेको म्यान्मार नेपालभन्दा पाँच गुणा ठूलो छ। पूर्वी नेपालदेखि अलिक परको देशमा त्यतिखेर हिँडेरै कसरी पुगे नेपालीहरू? के–कस्तो जीवन बाँचिरहेका छन् उनीहरू? केवल नेपाल र नेपालीलाई एउटै चासो र चिन्ता छ।
पाँच महिनाअघि द्वन्द्वग्रस्त ‘बर्मा’ अर्थात् म्यान्मारबाट पहिलोपटक पूर्खेउली ‘मुलुक’ नेपाल आएका मोतिलाल आचार्य (४९)ले पंक्तिकारसामु बर्मेली कथा–व्यथा सुनाए। दुईसय वर्षअघि ऐरावती नदीको किनारै–किनार म्यान्मार भित्रिएका नेपालीहरू ‘नेपालीभाषी वा गोर्खा’मा बदलिएको उनी बताउँछन्।
बर्मेली समाजका जल्दाबल्दा नेपाली नेता मोतिलाल ‘बर्मा’को नाम्टूनगरमा बस्दा रहेछन्। सन् १९३० ताका उनका हजुरबुवा पश्चिम नेपालको तनहुँबाट बर्मा गएका थिए रे। हजुरबुवासँगै बर्मा छिरे, मोतिलालका बुवा। नेपाल छाडेर बर्मा जाँदा उनका बुवाको उमेर ९ वर्षको थियो। उनी नाम्टूनगरको लैफरा गाउँमा जन्मिए। बाल्यकालमा बजारपट्टी बसाइँ सरे। गाई चराउँदै गाउँ–शहर गरेर हुर्किएकाे बताउँछन् उनी।
गएकाे दशैँताका नेपाल घुम्न आएका मोतिलाल बुद्धभूमि लुम्बिनीदेखि सुन्दरनगरी पाेखरासम्म घुमे। उनी बुवा जन्मिएकाे गाउँ–ठाउँमै दशैँपर्व मनाउन पाउँदा आफू सबैभन्दा भाग्यमानी भएकाे बताउँछन्। बिछाेडिएकाे परिवार–पुर्खासँग वर्षाैँपछि भेट्न पाएकाे हर्षित देखिन्थे। नेपाल आएकाे माैका छाेपेर सकेजति, भ्याएजति सबैसँग भेटघाट गरेकाे बताउँछन्, माेतिलाल।
‘बर्मेली कथा’ सुनाउँदा–सुनाउँदै बहकिएका उनी म्यान्मारको सामाजिक, आर्थिक र धार्मिक विषयमा हौसिएर बोल्थे। तर राजनीतिक विषयमा चुपचाप हुन्थे, मोतिलाल। राजनीतिबारे बोलून् पनि कसरी? म्यान्मारमा बोल्ने–लेख्ने अवस्था छैन। देश द्वन्द्वको भुमरीमा धकेलिएको छ। जनता मौन छन्। त्यहाँ नेपालीहरूले राजनीतिको ‘र’ पनि सुन्दैनन्, बोल्दैनन्। बस्, म्यान्मारका नेपाली गाउँमा सन्नाटा छाएको छ।
म्यान्मारबाट पुर्खाको भूमि खोज्दै नेपाल आइपुगेका मोतिलालले बाँकी कुरा थाती राख्दै बर्मेली नेपाली सपना र आफू बाँचिरहेको ‘दोस्रो नेपाल’बारे कैयौँ कहानी सुनाए। उनीजस्ता झण्डै साढे तीनलाख नेपालीभाषीहरूले यतिखेर म्यान्मारमा एउटा बेग्लै नेपाली समाज जगाइरहेका छन्। उनीहरूले आजपनि नेपाली भाषा–साहित्य, संस्कार–संस्कति, रीतिरिवाज र नेपाली जीवनशैली बचाइरहेका छन्। नेपालीमूलका बर्मेलीहरूको ‘बर्माभर’ गर्वलाग्दो इतिहास छ।
साहसी–मेहनती उपमा पाएर चिनिएका नेपालीहरू दशकौँसम्म गोर्खा सैनिकसहित सुनखानी, सिसाखानी, फलामखानी, कोइलाखानी, रत्नखानी र पशुपालनमै रमे। उनीहरू नाउंछो, मिचिना, टाउँजी, च्याउमे, तिब, लाश्यो, कुट्खाई, टांया, नाम्टू, नाम्सान्, ल्वेलिम, ल्वाइक, यकसक, सिन्टांउ, स्वेञ्याउ, माइंस्यु, प्यिंउल्वीं, माण्डले, वाइम, मोञीं, कता, कले, मलाई, फलाम्, हाखा, मोगोक, टमू, यांगौजस्ता गाउँ–ठाउँमा बस्दै आएका छन्।
‘भाषा मेटिए, जाति मेटिन्छ’
म्यान्मारमा जातीय द्वन्द्व उकालोलाग्दो छ। त्यहाँका जाति–जनजातिहरू सशस्त्र विद्रोहमा होमिएका छन्। जंगलतिरै बस्छन्, कतिपय प्रान्तमा उनीहरूकै राज छ। जातीय अधिकारको लागि राज्यसत्तासँग भिड्दै आएको विद्रोही समूहको छेउतिर अर्को एउटा शान्त जाति छ– गोर्खा अर्थात् नेपाली। ‘भाषा मेटिए, जाति मेटिन्छ’ भन्ने उनीहरूको ठूलो चिन्ता छ।
म्यान्मारका कैयौँ जाति–जनजातिबीच नेपाली समाज र सभ्यता कसरी टिकिरहेको छ? चासो पक्कै हुनुपर्छ। सन् १९९२ मा ‘नेपाली भाषा बचाउ अभियान’मार्फत् बर्मेली–नेपाली साहित्यकार ठाकुरप्रसाद गुरागाईंले सबैभन्दा ठूलो भूमिका खेलेका रहेछन्। गुरागाईंका नेपाली औँलाहरूले हस्तलिपी पुस्तकबाट बर्माका सारा नेपालीहरूलाई नेपाली अक्षर चिनाए। त्योबेला न इन्टरनेट थियो, न मोबाइल फोन। म्यान्मार नेपाली भाषा सिक्ने र कखरा सिक्ने एउटै उपाय थियो, हातेपुस्तक।
अहिले म्यान्मारमा २४८ वटा नेपाली पाठशाला छन्। घरघरमा नेपाली पाठ्यपुस्तक छन्। कक्षा एकदेखि दशसम्म बर्मेली–नेपालीले आफ्नै पुस्तक छापेका छन्। म्यान्मारको सरकारी स्कुल ‘मार्च, अप्रिल, मे’मा बन्द हुन्छ। यो समयलाई ‘वसन्त बिदाई’ भनिन्छ। सरकारी स्कुल बिदा भएको मौका छोपेर नेपाली पाठशाला खुल्छन्। अनि नेपाली भाषा बढाइन्छ।
नेपाली शिक्षक–शिक्षिकाहरूले बालबालिकालाई तीन महिनासम्म जातीय चेतना फैलाउँछन्। ‘नेपाली भाषा–संस्कृति हरायो भने हामी हराउँछौँ। कपि, पेन्सिलदेखि शिक्षक–शिक्षिकासम्म केन्द्रीय शिक्षा विभागले जोहो गरिदिन्छ। र, हाम्रा केटाकेटीहरूले नेपाली भाषा पढ्न पाउँछन्,’ मोतिलालले भने।
त्यसअघि बर्माभूमि जोगाउन र चिनाउन शुकबहादुर राई, वीपी प्रधान, छविलाल थापा, सुरलक्ष्मण राई, शुकबहादुर थापा, रकी थापा, कुलबहादुर थापाले गरेको योगदानले नेपाली समाजमा बेग्लै उर्जा भरेको छ।
‘बर्मा गए कर्मसँगै’ भनेझैँ नेपालीहरू पनि सपनाको भारी लगेर बर्मादेश पुगेका थिए रे। बर्मेली नेपालीहरूले आजसम्म स्वतन्त्रता खोसिएको जीवन जिइरहेका छन्। उनीहरूको वास्तविक कर्म बर्मामै रहेछ। सुरुसुरुमा सिसाखानी र गोर्खा सैनिकको रुपमा म्यान्मार भित्रिएको मोतिलाल बताउँछन्। उनकाअनुसार कति नेपालीहरू राम्रो पैसा कमाएर नेपालसमेत फर्किए। कतिपय उतै बसे। म्यान्मारमा बस्नेहरू बर्मेली–नेपाली भएका छन्।
म्यान्मारमा जन्मिएका नेपालीभाषीहरू नेपाल र नेपाली साहित्य भन्यो कि हुरुक्कै हुन्छन्। उनीहरू नेपाल घुम्ने रुचि प्रकट गर्छन्। ‘हामी म्यान्मालीहरू नेपालको दर्शन गर्न आतुर हुन्छौँ। तर इच्छा हुँदाहुँदै खर्चले धान्दैन,’ कान्छा छोरा राजकुमार आचार्यसँग नेपाल घुम्न आएका मोतिलालले भने।
गाई–भैंसी पाल्छन्, दुध–दही बेच्छन्
म्यान्मार गएका नेपालीहरू कस्तो ठाउँमा बस्छन्? एउटा नेपालीको अर्को नेपालीलाई प्रश्न हुने नै भो। मोतिलाल फ्याट्ट जवाफ दिन्छन्, ‘उबेला पहाडबाट जानेहरू बर्माको पहाडी भेगमै बसेछन्। बर्मा पुगेपछि रोजीखोजी उत्पादन गर्ने भूगोल र गाईवस्तु पाल्ने गाउँ–ठाउँ रोज्थे रे। हेर्नोस्, नेपालीहरू बसाइँ सरेरै म्यान्मार जाने चलन थियो रे।’
नेपालबाट जोतिँदै–ठोकिँदै भारतको मणिपुर हुँदै म्यान्मार गएका नेपालीहरू पशुपालन र अन्य खुद्राखाद्री पेशामा रमाउन थाले। हिँडेरै बर्मा गएका ती गोर्खालीहरू आजको म्यान्मारमा लाखौँको संख्यामा फैलिएका छन्। र, यसरी ती नेपालीहरूको जन्मभूमि–कर्मभूमि बन्यो, स्वतन्त्रता र प्रजातन्त्र खोसिएको हालको म्यान्मार।
नेपालको हरियो पहाड छोडेर म्यान्मार गएकाहरू त्यहाँ पनि हरियो पहाडमै बसे। पत्थरखानीमा खटे। पशुपालनमा रमे। पहाड नेपालजस्तै शीतल छ। उर्वर छ। उत्पादन राम्रो हुन्छ। म्यान्मार कृषि पेशाका लागि उपयुक्त मानिन्छ। बर्मेली नेपालीहरू अन्न फलाएर धन कमाउँछन्। मकै र धान फलाउनेहरू धनी छन्। राम्रो फलाउँछन्, बेच्छन्। यस्तै चल्दैछ, बर्मेली नेपालीको दैनिकी।
म्यान्मारमाका नेपालीभाषीहरूले हात नहालेको कुनै पेशा–व्यवसाय छैन। हिरा बेच्छन्, सुनको व्यापार गर्छन्। होटल खोलेका छन्, सानातिना पसल चलाउँछन्। गाडी किनेका छन्, पर्यटक बोक्छन्। गाई–भैँसी पाल्छन्। दुध–दही बेच्छन्, घिउ बनाउँछन्। राम्रो आम्दानी गरेका छन्।
दोस्रो विश्वयुद्ध आसपास बर्मातिर तैरिएका नेपालीहरूले तेस्रो मुलुकसम्म कर्मथलो बनाइरहेका छन्। बर्मेली–नेपालीहरू काम खोज्दै थाइल्यान्ड जान्छन्। कतिपय मलेसियासम्म पुगेका छन्। म्यान्मारका मेहनती नेपालीहरू सजिलो काम गरेर राम्रो कमाइ गर्दै आएको मोतिलाल बताउँछन्।
११ तलाको धर्मशाला बनाउँदै बर्मेली–नेपाली
दुनियाँभर महँगी छ। गाउँबाट शहर जानेहरू महँगीको मारमा पर्छन्। तर म्यान्मारका नेपालीहरूले बेग्लै सुविधा बनाएका छन्। शहरमा धेरै दिन बस्नुपर्दा भारी खर्च हुन्छ। होटल जाँदा झमेला भोग्नुपर्छ। त्यसैले त बर्मेली नेपालीहरूले नेपालीशैली अपनाएका छन्। रंगुन, माण्डले, मिचिना, टमू र नाउंछोमा धर्मशाला बनाएका छन्। म्यान्मार आजपनि नेपालीमय छ। धर्मशालाको कथा रोचक रहेछ।
धर्मशालामा नेपालीभाषी मात्र छिर्न पाउँछन्। गाउँबाट शहर जाने नेपालीहरू धर्मशालामै बस्छन्। नेपाली–नेपाली भेट हुन्छन्। चिनजान गर्छन्, नजिकिन्छन्। नाता–साइनो गाँस्छन्। अनि आ–आफ्नो बाटो लाग्छन्।
सन् १९८२ तिर नेपालीहरू मिलेर माण्डलेमा तीनतले धर्मशाला बनाए। मिचिनामा पनि तीनतले, टमूमा दुईतले र नाउंछोमा दुईतले धर्मशाला बनाइयो। सन् २००० पछि म्यान्मारका समाजसेवी नन्दराम नेउपानेले आफ्नो व्यक्तिगत लगानीमा आर्थिक राजधानी रंगुनमा नौतले एउटा धर्मशाला बनाइदिए।
मोतिलालकाअनुसार माण्डले र रंगुन सबैभन्दा धेरै नेपालीहरू भेटिने शहर हो। अहिले नेपालीहरूको संख्या ह्वात्तै बढेको छ। माण्डलेको तीनतले धर्मशालाले सेवा दिन नसकेपछि नेपालीहरूले चन्दा संकलन गरेरै एघारतलाको धर्मशाला बनाउँदै छन्।
माण्डलेको नेपाली धर्मशालाभित्र १ सय ५० वटा कोठा हुनेछन्। एक वर्षभित्र त्यो धर्मशाला बनिसक्ने मोतिलाल बताउँछन्। ‘हालसम्म ८ तलाको काम पूरा भएको छ। धर्मशाला बनेपछि नेपालीलाई थप सुविधा हुन्छ,’ उनी भन्छन्।
नागरिकता नखोज्ने नेपालीहरू
कहाँ छैनन्, नेपाली कथा। खोतल्दै जाँदा जहाँ पनि भेटिन्छन्, नेपालीहरूका कथा–व्यथा। कति सुखद्, कति दुःखद्। नेपाल र नेपालीको कुरा गरौँ– नेपाली बुवाआमाका सन्तानले नागरिकता नपाएर कतिसम्म दुःख पाइरहेका छन्। त्यो हामी नेपालीलाई राम्रैसित पत्तो छ।
वर्षौँअघि थातथलोबाट छुट्टिएर बर्मा गएका नेपालीभाषीले अहिलेसम्म नागरिकता नपाउँदा कतिसम्मको पीडा भोगिरहेका होलान्। नयाँ–बर्माका गाउँपाखामा पशुपालन गरेर जीवन धानिरहेका कतिपय बर्मेली–नेपालीलाई नागरिकताको ‘न’ पनि थाहा छैन रे।
‘हमेसा नागरिकता चाहियो। जुन देशमा बस्यो, त्यो देशको नागरिकता हुनुपर्दोरहेछ,’ मोतिलालले भने, ‘उबेला गाउँबस्तीका मान्छेलाई नागरिकता नै चाहिएन। खोरिया फाँड्ने, खेत खन्ने, पशु पाल्ने। नागरिकताबारे धेरै पुर्खाहरू बेखर थिए। सरकारले लैजाउ भन्दापनि नागरिकता लिएनन्।’
बर्मेली–नेपालीहरू गाउँतिर बस्थे। कृषिमा रम्थे। शहर जाँदैन्थे। नागरिकता बनाउनुपर्छ भन्ने आवश्यकता ठानेनन्। यतिसम्म कि उनीहरूले केही वर्षअघिसम्म नागरिकताको महसुससमेत गरेनन्। अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघले नागरिकता दिलाउन प्रयास गर्दैआएकाे छ।
बर्मेली–नेपालीहरूको साझा संस्था संघमार्फत् धेरै पहिले कर्णेल सुरलक्ष्मण राईले नेपालीलाई ‘नागरिकता लिनुपर्छ, लैजानुहोस्’ भन्ने अभियान चलाएका थिए रे। त्याेबेला हजाराैँ नेपालीभाषीले नागरिकता प्राप्त गरे।
सन् २०१६ पछि सागर घिमिरेकाे नेतृत्वकाे संघले नागरिकता विभाग गठन गरेपछि त्यसकाे जिम्मेवारी उनै माेतिलालले पाए।‘बर्मादेशको कुना–कुनामा पुगेका छौँ। नागरिकताका लागि सहयोग गर्छौँ। मन्त्रालयसम्मै जान्छौँ। खर्चलाग्दो रहेछ। संघले सहयोग गर्छ,’ मोतिलालले भने, ‘नागरिकता बनाउँदा कार्यालय–कार्यलयमा पुग्नुपर्छ।’ म्यान्मारमा दुईथरी नागरिकता रहेछ। हरियो अनि रातो।
सन् १९४८ अघि म्यान्मार गएका नागरिकलाई रातो नागरिकता दिइन्छ। धेरै नेपालीहरू रातो नागरिकता बोक्छन्। सैनिक परिवार र सुरुमै लिनेहरू रैथाने नागरिक सरह हुन्छन्। सन् १९४८ पछि म्यान्मार गएका र त्योबेला नबनाएकाहरू हरियो नागरिकता बोक्छन्। उनका अनुसार बेलायती शासनबाट म्यान्मार मुक्त भएपनि सरकारले म्यान्मारमा बसेका विदेशीलाई नागरिकता दिन थाल्यो। नागरिकता लिनेहरूले उबेलै लिए। नलिएकाहरूले अहिले लिइरहेका छन्।
म्यान्मार सैनिकले सत्ता हातमा लिएयता चारैतिर कडाइ छ। एउटा गाउँबाट अर्को गाउँमा जाँदा पनि नागरिकता खोजिन्छ। कपिपय नागरिकता नहुने नेपालीहरू गाउँ–ठाउँमै बस्छन्। नागरिकता बनाउन खोजिरहेका छन्। संघले सहयोग गर्दै आएको छ।
नेपालीले नेपाली रोज्छन्, नेपाल घुम्न खोज्छन्
सैनिक शासनले नेपालीभाषीलाई पीडा नदिएपनि उनीहरू प्रजातन्त्रको पक्षमा मत राख्छन्। तर नेपालीहरू राजनीतिप्रति खासै चासो राख्दैनन्। उनीहरू नेपाली समाजको काममा खटिन्छन्।
अखिल म्यान्मादेशीय गोर्खा हिन्दू धार्मिक संघ अवकाश प्राप्त सैनिकहरूले जातीय संघका नाउँमा सन् १९७९ तिर गठन गरेका थिए। अहिले यो संघ देशभर फैलिएको छ। गोर्खा बटालियनका कर्णेल सुरलक्ष्मण राईले यसको नेतृत्व गरेका थिए। म्यान्मारमा जुनसुकै शासन आओस् तर संघले आफ्नो काम गर्दै आएको छ।
नेपालीहरूको आफ्नै मर्म–कर्म छ। उनीहरूले हिन्दू परम्परा कायमै राखेका छन्। नेपालीले नेपालीसँग नै विवाह गर्छन्। उनीहरू हिन्दूशैलीमा विवाह कार्य सम्पन्न गर्छन्। नेपालीहरूले एउटा विशाल देशमा जातीय अस्तित्वको जर्गेना गर्दैछन्। बर्सेनि नेपालबाट कलाकार बोलाएर सांस्कृतिक उत्सवमा रमाउँछन्। तीज र दशैं–तिहार मनाउँछन्।
जहाँ नेपाली छन्, त्यहाँ अनेकौँ देवीदेवताका मन्दिर छन्। मन्दिरकाे छेउकुना नेपालीहरू छरिएर बसेका छन्। उनीहरू मन्दिर पुगेर दिनदिनै पूजापाठ गर्छन्। यज्ञ–अनुष्ठान, व्रतबन्ध, विवाह, योग, ध्यान साधना, सत्संग, प्रवचन नेपालझैँ चलाइरहन्छन्।
पहिलोपटक नेपाल आएका मोतिलाललाई नेपाल–बर्मा उस्तै–उस्तै लागेछ। ‘बर्माका लागि नेपाल तेस्रो राष्ट्र हो। नेपाल घुम्ने रहर थियाे। आफ्नै भाषा, आफ्नै जाति। कूटनैतिक तथा सांस्कृतिक रूपमा हामीहरू एकै छौँ,’ मोतिलालले भने। नयाँ तथ्यांकअनुसार म्यान्मारका नेपालीहरू अहिले शिक्षित छन् र व्यापारमा जमेका छन्।
म्यान्मारमा ३ सय ३० वटा शहर छन्। तर नेपालीहरू ३३ वटा शहरमा बस्छन्। नेपाली समाज–संगठन फैलिएको छ। नेपालीहरू हिन्दू–बौद्ध धर्ममा भेटिन्छन्। धार्मिक तथा सामाजिक भेलामा जम्मा हुँदा भाषा, संस्कृति र धर्म भुल्दैनन्। यसरी नै चलिरहेको छ, म्यान्मारको नेपाली कर्म।