राजु पौडेल
कोरोना भाइरसका कारण अभिभावकले सन्तान गुमाए, सन्तानले अभिभावक ! मृत्युवरण गरेका संसारका सबै दिवंगत आत्माको शान्तिका लागि प्रार्थना गरिरहेछु।
आफू जन्मिएको र हुर्किएको देशभित्र सभ्यताको केन्द्र भनिएको मध्य शहरमा असभ्य व्यवहार पोखिएपछि आफ्नै चेतनामा प्रश्न गरिरहेछु। किराँती सभ्यताबारे अलि गहिरिएर मन्थन गर्दा काठमाडौं उपत्यका उप-सभ्यता मात्रैको थलो पक्कै थिएन। आधादर्जन भन्दा बढी वंशहरूको शासन भोगेको काठमाडौंमा शासकहरूको रवैया जस्तो भएपनि लोककल्याण र मानवताको दियो कहिल्यै निभेको थिएन।
२१औं शताब्दीको दोस्रो दशक अर्थात यतिखेर काठमाडौं उपत्यकालाई पनि विश्वव्यापी महामारीले लपेटेको छ। सभ्यताको टाइमलाइन र विज्ञानमार्फत भएका चामत्कारिक उपलब्धि अन्दाज गर्न हो भने अहिलेको महामारी मामुली हुनुपर्ने हो। अझ, मध्य शहरमा बसेका मानिसहरू थप मानवीय, दयावान र मानवीय करूणाले भरिएको हुनुपर्ने हो। यसपटक त्यस्तो देखिएन। अर्थात, काठमाडौं उपत्यकाको सभ्यताको केन्द्र मानिने मध्य शहरमा बसेका मानिसहरूले महामारीका बीच गरेको व्यवहार सभ्यताभन्दा निकै परेको भैदियो।