नारायणी अस्पताल वीरगञ्जमा उपचारको क्रममा एक जना शंकास्पद विरामीको मृत्यु भएको छ। मृत्यु हुनेमा बारा, सपही १ का २३ वर्षीय युवक रहेका छन्।
उनको आइतबार राति ८ बजे नारायणी अस्पतालको आकास्मिक कक्षमा उपचारको क्रममा मृत्यु भएको नारायणी अस्पतालका प्रवक्ता डा अतुलेश चौरसियाले जानकारी गराए।
आइतबार मध्यान्ह साढे १२ बजे बाराबाट नारायणी अस्पताल भर्ना भएका युवकको राति अचानक मृत्यु भएको हो।उनको स्वाब संकलन गरी परीक्षणको लागि पठाइएको र सोमवार रातिसम्म आउने पिसिआर नतिजाले उनको मृत्यु कोरोना भाइरस संक्रमणले भएको हो की अन्य कुनै रोष्ले खुल्ने अस्पतालको प्रवक्ता डा चौरसियाले स्पष्ट पारे।
२३ वर्षीय युवकमा केही दिनदेखि कोभिड १९ संक्रमणसँग मिल्दोजुल्दो लक्षण अर्थात ज्वरो आउने, सुक्खा खोकी, श्वासप्रश्वासमा समस्या जस्ता समस्याहरु देखिएको थियो।
यसैगरी,शनिबार वीरगञ्जमा मृत्यु भएको पर्सा, विरुवागुठीका १२ वर्षीय बालकको पिसिआर रिपोर्ट नेगेटिभ आएको थियो।
उनको रिपोर्ट नेगेटिभ आएपछि उनको शव परिवारजनको जिम्मा लगाई अन्त्यष्टी गर्न पठाइएको थियो। उनको पनि उपचारको क्रममा नारायणी अस्पतालमै मृत्यु भएको थियो।