कर्मचारीलाई कोरोना संक्रमण देखिएपछि टोखा नगरपालिका कार्यालय एक हप्ताका लागि बन्द गरिएको छ।
कर्मचारीलाई समेत कोरोना संक्रमण देखिएपछि भदौ २१ देखि भदौ २६ गतेसम्म नगरपालिका बन्द गरिएको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रदीप पौडेलले बताए।
‘नगरपालिकामा कार्यरत केही कर्मचारीलाई कोरोना पोजेटिभ देखिएको छ,’ उनले भने, ‘अरु कर्मचारीलाई सङ्क्रमण फैलन नदिन एक हप्ताका लागि कार्यालय बन्द गर्न लागिएको हो।’
कार्यालय बन्द रहे पनि कोरोना नियन्त्रण तथा व्यवस्थापन सम्बन्धी कामहरु निरन्तर रुपमा सञ्चालन हुने प्रशासकीय अधिकृत पौडेलले बताए।
टोखामा शुक्रबारसम्म २५७ कोरोना संक्रमित देखिएका छन् । जसमध्ये ९४ जना डिस्चार्ज र १६० जना सक्रिय संक्रमित रहेका छन् । सक्रिय संक्रमितमध्ये १०९ जना होम आइसोलेसनमा र ४८ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन्।