पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना

बिहीबार ललितपुरको पुल्चोकमा भएको झडप नियन्त्रणमा खटिएका १८ प्रहरीलाई कोरोना संक्रमण भएकाे छ।

रातो मत्स्येन्द्रनाथको रथ तान्न खोज्ने युवाहरुलाई रोक्न खोज्दा भएकाे झडप नियन्त्रण गर्न खटिएका ललितपुर प्रहरी परिसर र सातदोबाटोका १८ जनामा संक्रमण पुष्टि भएको उच्च स्रोतले बताएको छ। 

‘केही दिन अगाडी स्वाब दिएर बसेकामा कोरोना देखिएको हो,’ स्रोतले बिएल नेपाली सेवालाई भन्यो, ‘आइसोलेसनमा बसेकाहरुलाई पनि खटाइएको पाइएको छ।’

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार स्वाब दिएको दुई साता आइसोलेसन वा क्वारेन्टाइनमा बस्नु पर्ने हुन्छ। तर, के कति कारणले उनीहरुलाई खटाइएको आफू जानकार नभएको ती अधिकारीले बताए।

‘अहिले हामीले सम्बन्धित ठाउँमा यस विषयमा जवाफ मागिरहेका छौं। त्यहाँबाट के जानकारी आउछ अनि त्यसपछि एक्सनमा जाने छौं,’ ती अधिकारीले भने।

यस्तै ललितपुर ट्राफिक प्रहरी कार्यालयका १५ जना, महानगरीय प्रहरी परिसर, काठमाडौंका १५ प्रहरी र महानगरीय प्रहरी कार्यालय, रानीपोखरीका ८ जनामा पनि कोरोना संक्रमण पुष्टि भएको छ।

 ती सबै प्रहरीलाई आइसोलेसन राख्ने तयारी गरिएकाे छ।

प्रकाशित मिति: : 2020-09-04 19:04:55

प्रतिकृया दिनुहोस्