चीनमा फेरि कोरोनाको संक्रमण देखिएको छ। कोरोनालाई पूर्ण रूपमा नियन्त्रण गरेको दावी गर्दै आइरहेको चीनमा बुधबार र बिहीबार ११ नयाँ कोरोना संक्रमित फेला परेको सिन्हवा न्युज एजेन्सीले जनाएको छ।
चीनको उहान शहरलाई कोरोनाको उद्गम मानिन्छ। गत डिसेम्बरमा यहीबाट कोरोना विश्वभरि फैलिएको थियो।
तर, दुई साताअघि कोरोनालाई पूर्ण रूपमा नियन्त्रणमा राखेको भन्दै उहानमा सार्वजनिक कन्सर्टको आयोजना गरिएको थियो।
नयाँ रिपोर्टअनुसार ११ संक्रमित मध्ये ८ जनालाई पुनः कोरोना बल्झिएको हो। राष्ट्रिय स्वास्थ्य संस्थाले ३ जना नयाँ कोरोना संक्रमित विदेशबाट आएको बताएको छ।
उसले पछिल्लो १८ दिनमा कुनै संक्रमणको घटना नभएको तर दुई दिनमा संक्रमित फेला परेको बताएको छ। चीनले पनि कोरोनाको भ्याक्सिन परीक्षणलाई तिब्रता दिइरहेको छ।