काठमाडौं उपत्यकामा ४५४ सहित मुलुकभर १३५९ जना संक्रमित थपिए, १४ को मृत्यु

मुलुकका विभिन्न प्रयोगशालामा गरिएको १३६३८ पीसीआर परीक्षणबाट थप १३५९ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।

जसमध्ये ४६४ महिला र ८९५ पुरूष छन्। यो सहित कुल संक्रमितको संख्या ४४ हजार २ सय ३६ पुगेको छ।

काठमाडौं उपत्यकामा ४५४ जनामा पछिल्लो २४ घन्टामा कोरोना संक्रमण पुष्टि भएको छ। जसमध्ये काठमाडौंमा ३ सय ८६, ललितपुरमा ३२ र भक्तपुरमा ३६ जना छन्।

पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न आइसोलेशनबाट १३५४ जना निको भएर घर फर्किएका छन्। यो सहित हालसम्म २५ हजार ५६१ जना अर्थात ५८ प्रतिशत मानिस निको भएका छन्।

सक्रिय संक्रमित १८ हजार ४ सय ४ जना छन्। जसमा १० हजार ९४२ जना संस्थागत आइसोलन र ७४६२ जना होम आइसोलेशनमा रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

यस्तै पछिल्लो २४ घन्टामा सर्वाधिक १४ जनाको मृत्यु कोरोना संक्रमणबाट भएको छ।

प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार कोरोना संक्रमणबाट मृत्यु हुनेमा ४ महिला र १० पुरुष रहेका छन् । 

डा. गौतमका अनुसार मृत्यु हुनेमा काठमाडौंका ८२, ६७ र २२ वर्षीया महिला र चितवनका ३५ वर्षीया एक महिला रहेका छन् । 

त्यसैगरी सप्तरीका ५५-५५ वर्षीय दुई पुरुष, धनुषाका ६५ वर्षीय, कास्कीका ३१ वर्षीय, नवलपरासीका ३७ वर्षीय, प्युठानका ५८ वर्षीय, रुपन्देहीका ७८ वर्षीय, पाल्पाका ६३ वर्षीय र सुर्खेतका ४२ वर्षीय पुरुषको कोरोना संक्रमणबाट मृत्यु भएको छ । 

हालसम्म कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २७१ पुगेको छ ।

प्रकाशित मिति: : 2020-09-04 16:24:46

प्रतिकृया दिनुहोस्