गण्डकी प्रदेशमा १४ दिने नाबालकसहित थप ३९ जनामा कोरोना संक्रमण

गण्डकी प्रदेशमा १४ दिनका नाबालकसहित थप ३९ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

क्षयरोग उपचार केन्द्र र पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, पोखरा मंगलबार बिहान गरिएको परीक्षणमा थप ३९ जनामा संक्रमण पुष्टि भएको प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा. विनोदविन्दु शर्माले जानकारी दिए। 

उनका अनुसार थपिएका संक्रमितका १४ दिनका नाबालकसहित २६ जना लमजुङका रहेका छन्।  लमजुङका संक्रमितका जिल्ला सामुदायिक अस्पतालमा उपचाररत १४ दिनका नाबालक सहित ५ जना, अस्पतालमै कार्यरत एक कर्मचारी, ग्लोबल आईएमई बैंकमा कार्यरत पाँच जना, नेपाल प्रहरीमा कार्यरत चार जना र बेसीसहर–७ का २८ वर्षीया एक महिला पत्रकार रहेको निर्देशक डा. शर्माले जनाकारी दिए। 

यता  नवलपरासी (सुस्तापूर्व)का १० जना, कास्कीका २ र बागलुङका १ जनामा पनि कोरोना पुष्टि भएको शर्माले जनाकारी दिए।

पोखराका २ मध्ये १ संक्रमित पर्यटन व्यवसायी भएको उनले जानकारी दिए।

संक्रमित सबैलाई सम्बन्धित जिल्लाका आइसोलेसनमा लैजाने तयारी भइरहेको निर्देशक शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २०५ पुगेको छ।

प्रकाशित मिति: : 2020-09-01 12:19:54

प्रतिकृया दिनुहोस्