काठमाडौं उपत्यकामा ४२९ सहित मुलुकभर थप १२२१ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।
पछिल्लो २४ घन्टामा गरिएको १२ हजार ७ सय १७ जनाको पीसीआर परीक्षणमा १२ सय २१ जनामा संक्रमण देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।यो सँगै हालसम्म कुल संक्रमितको संख्या ३८ हजार ५ सय ६१ जना पुगेको छ।
अझै १७ हजार ५ सय १८ संक्रिय संक्रमित रहेको मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले बताए। गौतमका अनुसार पछिल्लो २४ घन्टामा २ सय ६७ जना डिस्चार्ज भएका छन्।
योसँगै आजसम्म संक्रमणमुक्त भई डिस्चार्ज हुनेको संख्या २० हजार ८ सय २२ पुगेको छ। संक्रमण निको हुने दर ५४ प्रतिशत रहेको मन्त्रालयले जनाएको छ ।
त्यसैगरी पछिल्लो २४ घन्टामा १४ जनाको मृत्यु भएको छ। यो पनि हालसम्मकै धेरै संख्या हो। मृत्यु हुनेका ४ महिला र १० पुरुष छन्।
मृत्यु हुनेमा सुनसरीका ७४ वर्षीया, बाराका ४७ वर्षीया, महोत्तरीका ६२ र काठमाडौंका ७२ वर्षीया महिला रहेका छन् ।
त्यसैगरी सुनसरीका ६० वर्षीय, मोरङका ६२ वर्षीय, महोत्तरीका ७० र ३५ वर्षीय , रौतहटका ३० वर्षीय, ललितपुरका २९ वर्षीय, भक्तपुरका ६५ वर्षीय, नवलपरासीका ६५ वर्षीय र रुपन्देहीका ५७ र ६७ वर्षीय पुरुषको कोरोना भाइरसको संक्रमणबाट मृत्यु भएको छ ।
डा. गौतमका अनुसार हालसम्म कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेको संख्या २२१ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार काठमाडौंका ३७२, ललितपुरका १२ र भक्तपुरका ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
हाल सक्रिय संक्रमित भने १७ हजार पाँच सय १८ जना छन् । संक्रमितमध्ये १० हजार ६ सय १२ जना संस्थागत र ६ हजार नौ सय ६ जना होम आइसोलेनमा छन् ।
संक्रमितमध्ये एक सय ४४ जना आइसियू र १७ जनाको भेन्टिलेटरमा उपचार भइरहेको मन्त्रालयले जनाएको छ