नेपालमा काेराेना भाइरस संक्रमणबाट थप चारजनाकाे ज्यान गएकाे छ। मृत्यु हुनेमा झापा, मोरङ, धनुषा र भक्तपुरका एक एक संक्रमित रहेका छन्। उनीहरुकाे बिहीबार र शुक्रबार मृत्यु भएकाे हाे।
बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा मात्रै तीन संक्रमितकाे मृत्यु भएकाे छ। जसमा झापाका ८३ वर्षीय बृद्ध, सिरहाका ५५ वर्षीय पुरुष र मोरगकी ५६ वर्षीया महिला रहेकी छिन्।
प्रतिष्ठानका प्रवक्ता डा निदेश सापकोटाका अनुसार बेलबारी ५ मोरङ घर भएकी महिलाकाे शुक्रबार बिहान मृत्यु भएको हो। उनमा गत भदौ ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
यसअघि उनलाई अत्यधिक खोकी, स्वासप्रस्वासमा समस्या, ज्वरो देखिएपछि विराटनगरस्थित कोशी अस्पतालबाट भदौ ९ गते प्रतिष्ठानमा उपचारका लागि रिफर गरिएकाे थियाे।
काेराेना संक्रमण पुष्टि भएसँगै उपचारका लागि भर्ना गरिएकी महिलाको शुक्रबार विहान ३ बजेर १४ मिनेटमा मृत्यु भएको प्रवक्ता सापकोटाले जानकारी दिए।
त्यसैगरि, झापा दमक ३ घर भएका ८३ वर्षीय बृद्धको उपचारका क्रममा विहान ३ बजेर ४५ मिनेटमा मृत्यु भएको छ।
प्रतिष्ठानका अनुसार झापाको बीएण्डसी अस्पतालबाट अत्याधिक खोकी, स्वासप्रस्वासमा समस्या र ज्वरोसँगै अस्पताल आएका उनमा कोराेना संक्रमण पुष्टि भएपछि भदौ ३ गते प्रतिष्ठानमा रिफर गरिएको थियो।
बिरामीमा मिर्गाैलाको समस्या र डाइलाइसेस गर्नु परेको र उच्च रक्तचाप, मधुमेह, अल्प रक्तकोषिकाको समस्या रहेको थियाे।
यता बिहीबार साँझ सिरहा नगरपालिका १ नम्बर वडाका ५५ वर्षीय पुरुषको मृत्यु पनि मृत्यु भएकाे थियाे।
गत ६ गते शनिबार उपचारका लागि प्रतिष्ठानमा भर्ना भएका ती व्यक्तिमा ७ गते कोरोना संक्रमण पुष्टि भएको थियो।
कोरोना संक्रमण देखिएपछि उनलाई प्रतिष्ठानको कोभिड १९ अस्पतालमा भर्ना गरिएको थियो। दुई दिनदेखि आइसीयूमा उपचाररत उनको बिहीवार साँझ ६: ४५ बजे मृत्यु भएको अस्पतालका प्रवक्ता डा सापकोटाले जानकारी दिए।
उनका अनुसार ती व्यक्तिमा अस्पताल आउनुभन्दा तीन दिन अघिदेखि नै अत्याधिक खोकी, श्वासप्रश्वासमा समस्या र ज्वरो थियो। जसकारण परिवारले सिधै उपचारका लागि प्रतिष्ठान पुर्याएका थिए। मृतकको शव व्यवस्थापन नेपाल सरकारको प्रोटोकल अनुसार हुने प्रतिष्ठानले जनाएको छ।
यससँगै विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कोरोना संक्रमणबाट १६ जनाले ज्यान गुमाइसकेका छन्।
यस्तै, भक्तपुरमा एक महिलाको मृत्यु भएको छ।
मध्यपुरथिमि नगरपालिका ३ गठ्ठाघरस्थित नागरिक कम्युनिटी अस्पतालमा उपचारको लागि ल्याएको स्थानीय ६२ वर्षीया एक महिलाको गएराति मृत्यु भएको प्रमुख जिल्ला अधिकारी हुमकला पाण्डेले बिएल नेपाली सेवालाई जानकारी दिइन्।
अस्पतालका निर्देशक जितेन्द्र श्रेष्ठले दम, उच्च रक्तचापलगायत समस्याका कारण उपचारका लागि नागरिक अस्पताल आएकी महिलाको अस्पताल ल्याउँदा मृत्यु भइसकेको बताए।
उनले आज वीर दल गण सूर्यविनायकको टोलीले शवको व्यवस्थापन गर्ने जानकारी दिए।
आजै मृतक परिवारको कन्ट्र्याक ट्रेसिङ गरी स्वाब सङ्कलन गरी पीसीआर परीक्षण गरिने उनले जानकारी दिइन्।