फ्रान्समा फेरि कोरोना संक्रमितको संख्या बढेको छ। बिहीबार मात्र यहाँ ६ हजार १ सय ११ नयाँ संक्रमित फेला परेका छन्। संक्रमणको संख्या त्यो ठाउँमा बढी देखिएको छ, जहाँ सरकारले दोस्रो पल्ट ‘लकडाउन’ हटाउने निर्णय गरेको थियो।
फ्रान्सको स्वास्थ्य मन्त्रालयले यस कुराको पुष्टी गर्दै केही ठाउँमा तीब्र गतिमा कोरोनाको घटना बढेको स्वीकार गरेको छ। उसले आवश्यक परे फेरि ‘लकडाउन’ गर्ने बताएको छ। यहाँ मानिसहरू मास्क लगाएर सरकारी निर्णयको पालना त गरिरहेका छन् र सामाजिक दूरी प्रायः कसैले कायम गरेको देखिदैन।
फ्रान्सको राजधानी पेरिसमा मास्कको प्रयोगलाई अनिवार्य गरिएको छ। पेरिस र आसपासका क्षेत्रमा प्रहरीले पैदल यात्रु र साइकलमा यात्रा गर्नेलाई पनि मास्क अनिवार्य प्रयोग गर्न भनेकाे छ।
तर कारभित्र भने मास्क लगाउन अनिवार्य गरिएको छैन। पेरिस घना बस्ती भएको क्षेत्र हो, जहाँ ७० लाख भन्दा धेरै मानिसहरुको बसोबास छ।
पेरिस प्रहरीले एक सूचना जारी गर्दै भनेको छ ‘ स्वास्थ्य स्थिति लगातार बिग्रिरहेको छ त्यसैले हामीले कडा कदम चाल्नपर्ने बाध्यता आइलागेको हो।’
फ्रान्समा हाल कोरोनाको दोस्रो चरण सुरु भएको छ। यहाँ २ लाख ६० हजारको हाराहारीमा संक्रमित फेला परिसकेका छन्। यस्तै, ३० हजारभन्दा बढी मानिसको निधन भएको छ। फ्रान्समा बिहीबार मात्र ३२ जनाभन्दा बढीको निधन भएको थियो।