भारतको केरला राज्यमा विभिन्न धर्मका युवतीहरुलाई जबर्जस्ती मुश्लिम धर्म अपनाउन लगाएको सत्य घटनामा आधारित र सुदिप्तो सेनद्वारा निर्देशित सिनेमा ‘द केरला स्टोरी’ शुक्रबार (१२ मे) अमेरिकामा रिलिज भएकाे छ। यो सिनेमाको ट्रेलर रिलिज हुँदा नै भारतमा विभिन्न बिबाद निस्केको थियो तर निर्माण पक्षले अदालतको निर्णय पश्च्यात सिनेमा रिलिज गरेको हो। काल्पनिक कथामा सिनेमाको निर्माण गर्दा प्राप्त हुने ‘सिनेम्याटिक लिबर्टी’ सत्य घटनामा आधारित सिनेमाको निर्माण गर्दा प्राप्त हुँदैन र यस्ता सिनेमा निर्माण गर्दा धेरै प्रकारका अफ्ठ्याराहरुको सामना गर्नु पर्दछ।
सिनेमाको कथाअनुसार चार युवती शालिनी उन्नीकृष्णन (अदा शर्मा), गिताञ्जली मेनन (सिद्धि इदनानी), निमाह म्याथ्यु (योगिता बिहानी) र आसिफा (सोनिया बलानी) एक नर्सिङ्ग कलेजका विद्यार्थी हुन् र चारै जना एक कोठामा बस्छन। आसिफाको काम बाँकी तीन जना साथीहरुलाई मुश्लिम धर्म अपनाउन लगाएर इस्लामिक स्टेट अर्थात् आइएस नामको आतंकवादी समूहको सदस्य बनाउनु पनि हो। यो कार्यमा आसिफाले आफ्ना सहयोगीहरुसँग मिलेर बाँकीका युवतीहरुलाई मुश्लिम धर्म अपनाएर समूहको सदस्य बन्न दबाब दिन्छिन। त्यसको लागि उनले लागु पदार्थको सेवन गर्न लगाउनेदेखि आफ्नो आफ्नो धर्म र परिवारप्रति घृणा फैलाउने सम्मको काम गर्छिन। आसिफाको एक सहयोगीले शालिनीलाई प्रेम जालमा पार्छ र धर्म परिवर्तन गर्न लगाएर उनको नाम परिवर्तन (फातिमा)सम्म गर्छ। त्यसपछि फातिमा गर्भवती हुन्छिन र पाकिस्तान र अफगानिस्थानको बाटो लुकेर सिरिया पुग्छिन। यता भारतमा बाँकी तीन युवतीहरुको जीवन झन् झन् कष्टदायक हुन्छ। के आसिफा आफ्नो योजनामा सफल हुन्छिन् ? यस प्रश्नको उत्तर थाहा पाउन सिनेमा नै हेर्नुपर्छ।
अभिनयको कुरा गर्दा लगभग सबै कलाकारहरु नयाँ छन् र सबैले आफ्नो आफ्नो काम राम्रो गरेका छन्। कार्यशालाको आयोजना गरेर छानेका कलाकार भएको कारण सबै कलाकारहरुको अभिनय ‘टाइप्ड’ छ। निर्देशक सेनले कथा र पात्रको सहारामा अत्यन्तै संवेदनशील सिनेमाको निर्माण गरेका छन्। गरीब, बेरोजगार र अपरिपक्क्व युवा वर्गहरुलाई प्रलोभनमा पारेर आतंकवादी समूहमा लग्ने विषय कुनै नौलो होइन तर धनाढ्य परिवारका र पढे/लेखेका युवतीहरु सजिलै आफ्नो साथीले भनेको खुरुखुरु मानेको भने अलि पच्दैन। सिनेमामा हिंसा र बलात्कारको दृश्य यति धेरै छ कि दर्शकलाई वाक्क लाग्न सक्छ। सिनेमामा धार्मिक भावनामा चोट पुग्ने सम्वादहरु छन् त्यो पंक्तिकारलाई भने राम्रो लागेन। सिनेम्याटोग्राफर प्रशान्तनु मोहपात्राले पाकिस्तान, अफगानिस्थान र सिरियाको सुन्दर दृश्यहरुलाई आफ्नो क्यामरामा कैद गरेका छन्। सन्जय शर्माको सम्पादनमा धेरै ठाउँमा खोट लगाउन सकिन्छ, उनले दृश्यलाई लामो बनाएका छन्।
सिनेमा हेर्दा निर्देशकले कथा वस्तु भन्दा पनि हिंसालाई महत्व दिएको जस्तो लाग्छ। सत्य घटना मा आधारित र हिंसा मन पराउने दर्शकहरुलाई यो सिनेमा राम्रो लागे पनि पंक्तिकार जस्तो हिंसाविहीन सिनेमा मन पराउने दर्शकहरुलाई यो सिनेमा मन नपर्न पनि सक्छ।
ट्रेलर :