नेपालमा कोरोना संक्रमणबाट आज थप ८ जनाको निधन भएको छ। बिहिबार बिहान ११ बजेसम्म वीरगञ्जमा गर्भवति महिलासहित ३ जना, ललितपुर र बुटवलमा २- २ जना तथा पोखरामा १ जना कोरोना संक्रमितको निधन भएको हो।
पर्साको वीरगञ्जका दुई वटा अस्पतालमा ३ जना कोरोना संक्रमितको मृत्यु भएको छ।
नारायणी अस्पतालका प्रवक्ता डा. अतुलेश चौरसियाले बिएल नेपाली सेवालाई जानकारी अनुसार मृत्यु हुनेमा धोबिनी गापा-३ का ७२ वर्षिय वृद्ध, बारा, हर्दिया ४ की २३ वर्षिया गर्भवती महिला र वीरगञ्ज १४ बहुअरीका ६२ वर्षिय वृद्ध छन्।
यस्तै कोरोना आशंकित रौतहट राजदेवी नपा मुडबलाका ८० वर्षिय वृद्धको पनि मृत्यु भएको छ। यद्यपी उनको कोरोना पुष्टि भएको छैन। उनी भदौ ९ गते नारायणी अस्पतालमा भर्ना भएका थिए।
बुधबार साँझ ६ बजेर २२ मिनेटमा नारायणी अस्पतालमा धोबिनी गापा–३ का ७२ वर्षिय वृद्धको उपचारको क्रममा मृत्यु भएको थियो। उनी भदौ ८ गते नारायणी अस्पतालमा भर्ना भई भदौ ९ गते उनको रिपोर्ट पोजेटिभ पुष्टि भएका थियो। उनमा ज्वरो,श्वासप्रश्वासमा समस्या तथा निमोनियका लक्षण देखिएको थियो।
यस्तै बिहीवार बिहान साढे ६ बजे बारा, हर्दिया ४ की २३ वर्षिया गर्भवती महिला संक्रमितको मृत्यु भएको चौरसियाले जानकारी दिए। उनी ३३ हप्ताकी गर्भवती थिइन्। उनलाई निमोनिया र श्वासप्रश्वासमा समस्या देखिएको थियो।
यस्तै नारायणी अस्पतालमै हिजो राति ८ बजे मृत्यु भएका रौतहट, राजदेवी नगरपाकिला मुडवलबाका ८० वर्षिय वृद्धको कोरोना भए नभएको रिपोर्ट नआएको चौरसियले जानकारी दिए।
यस्तै बिहीवार बिहान साढे ८ बजे वीरगञ्ज हेल्थकेयर अस्पतालमा उपचारको क्रममा वीरगञ्ज १४ बहुअरीका ६२ वर्षिय वृद्धको मृत्यु भएको हो। उनी मृगौला पीडित थिए। एक वर्षदेखि नियमित डायालासिस गराउँदै अएका उनी साउन ३० गते हेल्थकेयर कोभिड अस्पतालमा भर्ना भएका थिए।
योसँगै वीरगञ्जमा कोरोना संक्रमणले मृत्यु हुनेको संख्या ४७ पुगेको छ। जसमध्ये पर्साका ३४, बाराका ११ र दुई जान रौतहटका छन्।
यस्तै बिहिबार बिहान ललितपुरको पाटन अस्पताल र किष्ट अस्पतालमा एक एक जना कोरोना संक्रमितको मृत्यु भएको छ।
किस्ट अस्पतालको आइसियूमा उपचाररत ५५ वर्षीय पुरुषको मृत्यु भएको हो।
अर्घाखाँची स्थायी घर भएका उनको बुधबार राति ८ बजे मृत्यु भएलको अस्पतालका चिफ अपरेटिङ अफिसर अमिष पाठकले जानकारी दिए।
मृतक पुरुष केही समयदेखि उपत्यकामा बस्दै आएका थिए। उनलाई गत ७ गते अस्पताल भर्ना गरिएको थियो।
'उहाँलाई भर्ना गर्दा नै निमोनियाको समस्या थियो। त्यसपछि हामीले आइसियूमै राखेर उपचार गर्यौं। ९ गते पिसिआरको नतिजा आउँदा उहाँमा कोरोना पोजेटिभ देखियो,' पाठकले भने।
बिहीबार नै पाटन अस्पतालमा उपचाररत एक जना कोरोना संक्रमित महिलाको पनि मृत्यु भएको छ।
यस्तै बुटवलको कोरोना विशेष आइसोलेसन अस्पतालमा २ संक्रमितको मृत्यु भएको छ।
कपिलवस्तु नगरपालिका वडा नम्बर १ का ५० वर्षीय पुरुषको बुधबार राति उपचारको क्रममा मृत्यु भएको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका कोरोना फोकल पर्सन डाक्टर सुदर्शन थापाले जानकारी दिए।
लामो समय देखि उच्च रक्तचाप, मधुमेहको बिरामी रहेका उनलाई भदौ ५ गते कोरोना संक्रमण पुष्टि भएपछि आइसोलेसन अस्पतालमा राखिएको थियो।
उपचारको क्रममा स्वास्थ्य अवस्था गम्भीर बन्दै गएपछि उनलाई ६ गतेदेखि भेन्टिलेटरमा राखि उपचार भइरहेको थियो।
उनले लामो समयदेखि मृगौलाको डायलाईसिस गराउदै आएका थिए। यो सँगै बुटवलको कोरोना विशेष अस्पतालमा मृत्यु हुनेको संख्या ५ पुगेको छ।
यस्तै रुपन्देहीको तिलोत्तमा नगरपालिका–२ जानकीनगरकी ७० वर्षीया महिलाको बिहीबार बिहान साढे १० बजे मृत्यु भएको छ।
उनलाई लुम्बिनी प्रादेशिक अस्पतालकै कोरोना संक्रमणमुक्त डा. साजन श्रेष्ठले रगत दिएर प्लाज्मा थेरापीबाट उपचार गरिएको थियो । साउन २६ गते कोरोना पोजेटिभ देखिएकी महिला साउन ३१ गते कोरोना अस्पतालमा भर्ना भएकी थिइन् ।
उच्च रक्तचापको समस्या समेत रहेकी महिलाको स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि चार दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भइरहेको डा। थापाले बताए ।
यस्तै कोरोना भाइरस संक्रमणका कारण पोखरामा ३२ वर्षीय महिलाको मृत्यु भएको छ।
कोरोना संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल अन्तर्गत कोभिड– १९ उपचार केन्द्रको आइसियुमा भदौ ७ गते भर्ना भएकी महिलाको बिहीबार बिहान मृत्यु भएको अस्पतालका निर्देशक डा. अर्जुन आचार्यले बताए।
उनलाई निमोनियाको समस्या रहेको अस्पतालले जनाएको छ।
यसअघि कास्की सेवा अस्पतालमा उपचार गरिरहेकी उनलाई कोरोना भाइरसको संक्रमण देखिएपछि पश्चिमाञ्चल क्षेत्रीय अस्पताल लगिएको थियो। पोखरा महानगर वडा नं. १२ चापापानी घर भएकी मृतकलाई कास्की सेवा अस्पतालबाटै कारोना सरेको जनाएको छ।
यो सँगै नेपालमा कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या १८३ पुगेको छ।
बुधबार नेपालमा थप ११ जनाको कोरोना संक्रमणले मृत्यु भएको थियो। स्वास्थ्य मन्त्रालयको नियमित कोरोना ब्रिफिङका क्रममा प्रवक्ता डा.जागेश्वर गौमतले ९ पुरुष र २ महिलाको संक्रमणबाट मृत्यु भएको बताए।
मृत्यु हुनेमा कैलालीको ४५ र ५० वर्षका दुई पुरूष रहेका छन्। महोत्तरीका ६०,७२ का पुरुष र बाँकेका ३७ पुरुष रहेको मन्त्रालयले जनाएको छ।
काठमाडौंका ५१ वर्षका पुरुष, मोरङका १ महिला , बारा ४१ र ६६ वर्षका पुरुषको संक्रमणबाट मृत्यु भएको छ।
त्यसैगरी, भक्तपुरका ५३ बर्षिय महिलाको मृत्यु भएको छ।