भारतमा कोरोना सङ्क्रमितको सङ्ख्या ३३ लाख नाघ्यो, मृत्यु हुनेको संख्या ६० हजार+

भारतमा एकै दिनमा ६७ हजार १५१ जना कोरोना सङ्क्रमित थपिएपछि कुल सङ्क्रमितको संख्या ३३ लाख नाघेको छ । गत २४ घण्टामा भारतमा कोरोना सङ्क्रमणको कारण १ हजार ६६ जनाको मृत्यु भएको केन्दिय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले जानकारी दिएको छ। 

भारतमा कोरोना भाइरस सङ्क्रमतिको कुल संख्या ३३ लाख ७ हजार ५७५ पुगेको छ । ती मध्ये हाल ७ लाख २५ हजार ६५३ जनामा हाल पनि सङ्क्रमित अवस्था रहेका छन् । 

हाल सङ्क्रमित अवस्थामा रहेका ती व्यक्तिहरुको शारीरिक अवस्थाअनुसार अस्पताल र घरमा  क्वारेन्टाइनमा बसेर उपचार भइरहेको भारतीय सञ्चार माध्यमले जानकारी दिएको छ । हालसम्म भारतमा २५ लाख २१ हजार २९५ जना कोरोना मुक्त भएका पनि समाचारमा जनाइएको छ ।

कोरोना सङ्क्रमण शुरु भएयता भारतमा यस रोगबाट ६० हजार ६२७ जनाको मृत्यु भएको छ ।  भारतको महाराष्ट्र राज्यमा कुल संक्रमित ७ लाख १८ हजार ७११ मध्ये १ लाख ७२ हजार ८७३ कोरोना पोजेटिभ अवस्थामा रहेका छन्।  भारतको अरु राज्यमा तुलना महाराष्ट्र सब भन्दा बढी प्रभावित राज्यको रुपमा रहेको छ । 

त्यसैगरी दोस्रो स्थानमा आन्ध्र प्रदेश रहेको छ । यहाँ ९२ हजार २०८ जनामा अहिले पनि कोरोना भाइरस सङ्क्रमण अवस्थामा रहेको छ ।

प्रकाशित मिति: : 2020-08-27 00:13:52

प्रतिकृया दिनुहोस्