स्पेनमा कोरोना भाइरसको संक्रमण फेरि फैलिएको छ। पछिल्लो समय कोरोनाको फैलिदो घटनालाई ध्यानमा राखेर प्रधानमन्त्री पेड्रो साञ्चेजले मंगलबार सेनालाई उतार्ने निर्णय गरेका छन्।
गत मार्चमा स्पेनमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढेपछि सेना परिचालन गरिएको थियो। प्रधानमन्त्री पेड्रोले कोरोनाको फैलिएको दोस्रो चरणलाई ध्यानमा राख्दै दुई हजार सेनालाई विभिन्न स्थानमा परिचालन गर्ने बताएका छन्।
स्पेनमा अहिले ‘लकडाउन’ को नियमलाई कडा पारिएको छ। प्रधानमन्त्री पेड्रोले यसको जानकारी दिँदै भने, ‘देशको स्थिति चिन्ताजनक छ तर मार्च जस्तो अवस्था छैन। हामीले कोरोनालाई नियन्त्रण गर्ने पर्छ। दोस्रो चरणको संक्रमण रोक्नु पर्नेछ।’
कोरोनाका कारण विश्वमा २ करोड ३८ लाखभन्दा बढी मानिस प्रभावित भएका छन्। जसमा ८ लाख १७ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। स्पेनमा मात्र २८ हजार ८ सयभन्दा बढीलले ज्यान गुमाएका छन्। यहाँ ४ लाख २० हजारभन्दा बढी मानिस संक्रमित भइसकेका छन्।