कांग्रेस नेता रञ्जितको कोरोना संक्रमणबाट मृत्यु

नेपाली कांग्रेस नेता गोविन्द रञ्जितको कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट मृत्यु भएको छ। काठमाडौं महानगरपालिका-२१ का सभापतिसमेत रहेका ६७ वर्षीय रञ्जितको मंगलबार दिउँसो १२ बजेर १७ मिनेटमा मृत्यु भएको हो।

निमोनियाबाटसमेत ग्रसित रञ्जितको बलम्बुस्थित सशस्त्र प्रहरी अस्पतालमा उपचारका क्रममा मृत्यु भएको हो।

कोरोना संक्रमणमा पुष्टि भएपछि गत साउन ३२ गते उनी अस्पतालको आइसीयूमा भर्ना भएका थिए। स्वास्थ्यमा समस्या भएपछि भेन्टिलेटरमा उपचाररत रञ्जितको मंगलबार मृत्यु भएको अस्पताल स्रोतले जनाएको छ।

२०३६ सालदेखि विद्यार्थी आन्दोलनबाट राजनीतिक जीवन यात्रा प्रारम्भ गरेका रञ्जितले पार्टी संगठन र नेपालको लोकतान्त्रिक आन्दोलनहरुमा सक्रिय भूमिका निर्वाह गरेको नेपाली कांग्रेसले जनाएको छ ।

उनको निधनप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गहिरो दुःख व्यक्त गरेका छन्। सभापतिको तर्फबाट विज्ञप्ति सार्वजनिक गर्दै पार्टी मुख्य सचिव कृष्णप्रसाद पौडेलले उनको निधनप्रति दुःख व्यक्त गरेका हुन् ।

प्रकाशित मिति: : 2020-08-25 15:27:11

प्रतिकृया दिनुहोस्