नेपालमा थपिए ८१८ संक्रमित, ३ को मृत्यु

पछिल्लो २४ घन्टामा मुलुकका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणबाट थप ८ सय १८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार थपिएका संक्रमितमा ५९८ पुरूष र २२० महिला छन्। यो सहित नेपालमा संक्रमित संख्या ३१ हजार ९ सय ३५ पुगेको छ।

काठमाडौं उपत्यकामा मात्रै १६६ जनामा संक्रमण पुष्टि भएको छ। त्यस मध्ये काठमाडौंका मात्रै १२६ जना छन्। पर्सामा १३९, सर्लाहीमा ९१ र मोरङमा ५० जनामा संक्रमण पुष्टि भएको छ। उपत्यकाका भक्तपुरमा २८ र ललितपुरमा १२ जनामा संक्रमण पुष्टि भएको हो। 

स्वास्थ्य मन्त्रालयका अनुसार आज थप भएका संक्रमितमा  झापाका १०,  सुनसरीका ९, धनुषाका ६०, बाराका ३९, महोत्तरीका ३४, रौतहटका ९, सप्तरीका ४, सिरहाका १४, काभ्रेका २७, दोलखाका ६ र धादिङका १ जनामा कोरोना पुष्टि भएको छ।

यस्तै मकवानपुरका १, रसुवाका १, रामेछापका २, सिन्धुलीका १, कास्कीका ५, गोरखाका २, नवलरासीका ६, पाल्पाका २, प्यूठानका २, बर्दियाका २, बाँकेका ११, रोल्पाका १, जुम्लाका २, रुपन्देहीका २८, रुकुमका ७, अछामका २३, डडेल्धुराका २, दार्चुलाका १, बझाङका ३ तथा बैतडीका ४ जनामा संक्रमण पुष्टि भएको हो।

बितेको २४ घण्टामा थप २८१ जना डिस्चार्ज भएका छन्। यो सहित संक्रमित निको हुनेको संख्या १८ हजार ६३१ पुगेको छ। 

थप तीनजनाको मृत्यु, हालसम्म एक सय ४९ जनाको निधन

पछिल्लो २४ घन्टामा थप ३ जना कोरोना संक्रमितको निधन भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार मृत्यु हुनेमा दुई महिला र एक पुरुष छन् ।

झापाका ५८ वर्षीय पुरुष, पर्साकी ५६ वर्षीया महिला र सर्लाहीकी ३३ वर्षीया महिलाको संक्रमणबाट मृत्यु भएको मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।

योसमेत नेपालमा संक्रमण भएर मृत्य हुनेको संख्या एक सय ४९ पुगेको छ। यो कुल संक्रमितको ०.४७ प्रतिशत भएको गौतमले बताए ।

आइसीयूमा १३७ जनाको उपचार हुँदै, १० भेन्टिलेटरमा

नेपालमा हालसम्म १३७ जनाको आइसीयुमा उपचार भइरहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ। जसमध्ये प्रदेश १ मा १७ जना, प्रदेश २ मा ४९ जना, बागमती प्रदेशमा ५२ जना,गण्डकी प्रदेशमा ३ जना र प्रदेशमा ५ मा १६ जना छन्। यस्तै मन्त्रालयका अनुसार भेन्टिलेटरमा जम्मा १० जनाको उपचार भइरहेको छ। उनीहरु सबै बागमती प्रदेशका संक्रमित रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमले जानकारी दिए।

पीसीआर परीक्षण आठ हजार

पछिल्लो २४ घन्टामा पीसीआर परीक्षण आठ हजारमा झरेको छ। आइतबार आठ हजार २६ जनाको मात्रै पीसीआर परीक्षण भएको छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले चार वटा प्रयोगशालाको रिपोर्टमा प्राविधिक समस्या देखिएकाले कोरोना नतिजा सार्वजनिक नगरिएको जनाएको छ। 

नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतमले भरत चितवन, हेटौडा, त्रिवि शिक्षण अस्पताल काठमाडौं र विरेन्द्र सैनिक अस्पतालको पीसीआर रिपोर्ट सार्वजनिक नगरिएको बताए। तर, संक्रमण भने शनिबार भन्दा बढी देखिएको छ। 

शनिबार भन्दा पाँच हजार कम परीक्षण गर्दा झण्डै दुई सय बढीमा संक्रमण पुष्टि भएको छ।  आइतबारको सहित हालसम्म मुलुकमा ६ लाख ४ सय ४४ पीसीआर परीक्षण भएको  छ।

सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५

मन्त्रालयका प्रवक्ता गौतमका अनुसार सक्रिय संक्रमितको संख्या १३ हजार १ सय ५५ छन् । जसमध्ये होम आइसोलेसनमा ३ हजार ९ सय ४३ जना रहेका छन्। ९ हजार २१२ जना संस्थागत आइसोलेशनमा रहेका छन्।

यस्तै हालसम्म क्वारेन्टाइनमा ११ हजार ४ सय १४ जना रहेका छन्।

प्रकाशित मिति: : 2020-08-23 16:48:40

प्रतिकृया दिनुहोस्