डाक्टर, सञ्चारकर्मी तथा सुरक्षाकर्मीसहित पर्सा र बारामा १५६ संक्रमित थपिए

डाक्टर, सञ्चारकर्मी तथा सुरक्षाकर्मीसहित पर्सा र बारामा १५६ जना नयाँ संक्रमित थपिएका छन्। तीन वर्षको बालकदेखि ७० वर्षको वृद्धसम्मको कोरोना संक्रमित थपिएको नारायणी अस्पताल वीरगन्जले जनाएको छ।

नारायणी अस्पताल पीसीआर प्रयोगशालाले शनिबार अबेर राति सार्वजनिक गरेको रिपोर्ट अनुसार ३२० वटा नमुना परीक्षणबाट बाराका ११ र पर्साका १४५ गरी कुल १५६ जना कोरोना संक्रमित फेला परेको जनाइएको छ।

संक्रमितमध्ये वीरगन्जको नेशनल मेडिकल कलेज तथा शीक्षण अस्पताल, तराई हस्पिटल एण्ड रिर्सच सेन्टर पावरहाउस तथा भवानी हस्पिटल एण्ड रिसर्च सेन्टर लिंकरोडका गरी ५ डाक्टरसहित केही स्वास्थ्यकर्मी पनि संक्रमित भएका छन्।

त्यसैगरी, जिल्ला प्रहरी कार्यालय पर्साका केही सुरक्षाकर्मी पनि संक्रमित भएका छन्। यस्तै नारायणी एफएम १०३ दशमलव ८ मेगाहर्जका ५ जना सञ्चारकर्मी तथा कर्मचारी पनि संक्रमित भएका छन्।

आईतबार बिहानसम्म पर्सामा थपिएका १४५ जना र पुराना १ हजार ७ सय ९० जना गरी कुल १ हजार ९ सय ३५ जना संक्रमित पुगेको जिल्ला प्रशासन कार्यालय पर्साको संकट व्यवस्थापन केन्द्रले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-23 10:20:23

प्रतिकृया दिनुहोस्