ल्याटिन अमेरिकाका ४ देश ब्राजिल, अर्जेन्टिना, मेक्सिको र पेरुमा कोरोनाका कारण मर्नेको संख्या २ लाखभन्दा माथि नाघेको छ।
यी चार देशमध्ये ३५ लाख संक्रमितसहित ब्राजिल नम्बर एक स्थानमा छ। विश्वव्यापी रूपमा अमेरिकापछि ब्राजिल कोरोना संक्रमित देशको सूचिमा दोस्रो नम्बरमा छ।
ल्याटिन अमेरिकामा ब्राजिलपछि दोस्रो नम्बरमा पेरु पर्छ। यहाँ पनि ५ लाख ६७ हजारभन्दा बढी संक्रमित फेला परिसकेका छन्। मेक्सिकोमा पनि साढे पाँच लाखको हाराहारीमा संक्रमित छन्। अर्जेन्टनामा ३ लाख ३० हजारको हाराहारीमा संक्रमित पुगेका छन्।
यी देशमा गत साता हरेक दिन ३ हजारको हाराहारीमा मानिसहरूको निधन भएको छ। ब्राजिलमा हाल १ लाख १४ हजारको हाराहारीमा मानिसको निधन भइसकेको छ।
यस्तै, मेक्सिकोमा ६० हजार, पेरुमा २७ हजार तथा अर्जेन्टिनामा ६ हजार ७ सय जनाको निधन भइसकेको छ।