कोरोना महामारीका कारण विश्वव्यापी रूपमा मर्नेको संख्या ८ लाख नाघेको छ।
शुक्रबार २४ घण्टाभित्र ५ हजार ८ सय ३४ जनाको निधन भएको जानकारी ‘वल्ड ओ मिटर्स’ ले दिएपछि मर्नेको संख्या ८ लाख नाघेको हो।
शनिबार बिहानको तथ्यांक अनुसार विश्वव्यापी रूपमा मर्नेको संख्या ८ लाख २ हजार ९ सय ५० पुगेको छ।
हालसम्म २ करोड ३१ लाखभन्दा बढी मानिस संक्रमित भइसकेको छन्। जसमा १ करोड ५७ लाखभन्दा बढी मानिस संक्रमणबाट मुक्त भएको विश्व स्वास्थ्य संगठनको तथ्यांकले बताएको छ।
मर्ने र सबैभन्दा बढी संक्रमितको संख्यामा अमेरिका नै अगाडि छ। अमेरिकामा ५८ लाखको हाराहारीमा संक्रमितको संख्या पुगिसकेको छ। यसमा १ लाख ७९ हजार बढी मानिसले ज्यान गुमाएका छन्।
अमेरिकापछि सबैभन्दा बढी संक्रमित र मर्नेको संख्यामा ब्राजिल दोस्रो नम्बरमा छ। यस देशमा ३५ लाख बढी मानिस संक्रमित भएका छन् भने १ लाख १३ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ।
संक्रमित देशको सूचिमा तेस्रो नम्बरमा छिमेकी भारत छ। भारतमा २९ लाख ७३ हजारभन्दा बढी संक्रमित देखिएका छन्। यहाँ मर्नेको संख्या ५५ हजारभन्दा बढी पुगिसकेको छ।
जुन प्रकारले भारतमा संक्रमण र मर्नेको संख्या देखिएको छ, यसले केही दिनभित्रै मेक्सिकोलाई उछिन्ने देखिन्छ। मेक्सिकोमा साढे पाँच लाखको हाराहारीमा संक्रमित देखिएपनि मर्नेको संख्या ६० हजारको हाराहारीमा छ।
भारत अहिले दैनिक रूपमा सबैभन्दा बढी संक्रमण फैलिरहेको देश हो। अमेरिकाभन्दा पनि बढी यो देशमा दैनिक ६० हजारभन्दा माथि संक्रमित देखिन थालेका छन्।
कोरोनाका कारण मर्नेको सूचिमा बेलायत पाँचौ नम्बरमा पर्छ। भारतपछि युकेमा ४१ हजारको हाराहारीमा मानिसहरूको निधन भइसकेको छ।