कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा थप ६२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। जुम्लामा यति ठूलो संख्यामा संक्रमित भेटिएको पहिलो पटक हो।
जुम्लाको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भएको परीक्षणमा जुम्लाका ५२ जनासहित ६२ जनामा संक्रमण पुष्टि भएको सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाले जनाएको छ।
मन्त्रालयका अनुसार सबैभन्दा धेरै जुम्लाको हिमा गाउँपालिकाका ४८ जना रहेका छन्। संक्रमितहरु गाउँपालिकाका १, ३, ४, ५, ६ र ७ वडाका हुन्।
यता, जुम्लाकै चन्दनाथका ३ र कनकासुनदरीका एकजनामा पनि काेराेना भाइरसकाे संक्रमण देखिएकाे छ।
यता, सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशालामा भएको परीक्षणमा दैलेख, कालीकोट र बाँकेका एक/एकजना गरी तीनजनामा संक्रमण पुष्टि भएको छ।
यस्तै,रुकुम पश्चिमको चौरजहारीको प्रयोगशालामा भएको परीक्षणमा रुकुम पश्चिमकै मुसिकोट नगरपालिका ३ जनामा कोरोना पुष्टि भएको महाशाखाले जनाएको छ।
यससँगै कर्णालीमा कोरोना संक्रमितको संख्या २२२५ पुगेको छ। हालसम्म १९४५ जना भने डिस्चार्ज भइसकेका छन् भने ६ जनाको मृत्यु भएको छ। २७४ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।