क्यालिफोर्नियाको जंगलमा अचानक आगो लाग्यो, ५० घर जलेर नस्ट, हेलिकाेप्टर दुर्घटनाग्रस्त

बिएल संवाददाता

क्यालिफोर्निया

क्यालिफोर्नियाको जंगलमा बुधबार अचानक आगो लागेको छ। क्यालिफोर्नियाका गर्भनर ग्याबिन न्युसमले ३ सय ६७ स्थानमा आगो लागेको र यसको सबैभन्दा ठूलो प्रभाव २३ ठाउँमा देखिएको बताएका छन्।
 
अग्नी नियन्त्रण विभागका कर्मचारी अहिले पनि आगो निभाउन सक्रिय छन्। यो शहरमा आपतकालको घोषणा गरिएको छ। आगो निभाउन सक्रिय रहेको एउटा हेलिकोप्टर दूर्घटनाग्रस्त हुँदा पाइलटसमेत दुई जनाको निधन भएको छ। 

उत्तरी क्यालिफोर्नियास्थित वेकाविल क्षेत्र आगोबाट सबैभन्दा बढी प्रभावित छ। यहाँ ५० घर जलेर नस्ट भएका छन्। 

हजारौं स्थानीयवासीले घर छोड्नु परेको छ। शहरको मुख्य राजमार्गमा यातायात पनि अवरुद्ध भएको छ।
 
सेन फ्रान्सिस्को शहरमा धुँवा अत्याधिक फैलिएपछि स्थानीयलाई सुरक्षित ठाउँमा लैजान सुरु गरिएको छ। 

क्यालिफोर्नियामा प्रायः गर्मीको मौसममा आगो लाग्ने गरेको छ। अमेरिकाको अन्य शहरको तुलनामा क्यालिफोर्निया अधिक गर्मी हुने गरेको छ। 

यसै कारण गर्मीको मौसममा यहाँको जंगलमा प्रायः आगो लागेको हुन्छ। यो अवस्था बर्षाको समय नआउँदासम्म निरन्तर रहने गर्छ। 

मौसम परिवर्तन लगायत अन्य कारणले गर्दा विगत केही वर्षमा आगलागीको घटना बढ्दै गएको छ। 

क्यालिफोर्नियाको जंगली क्षेत्रको वरिपरि मानववस्ती बढ्दै गएका कारण मानवीय  दुर्घटना अधिक हुने गरेको छ। 

गत वर्ष क्यालिफोर्नियाको जंगलमा ८५ वर्षयता कै सबैभन्दा भीषण आगो लागेको थियो। यतिबेला ३१ जनाको निधन भएको थियो भने सयौं मानिस बेपत्ता भएका थिए। 

सन् १९३३ मा लस एजल्सको ग्रिफिथ पार्कमा लागेको आगोपछि यो दोस्रो ठूलो घटना थियो। यतिबेला ८३ हजार एकड क्षेत्रमा फैलिएको ठाउँमा आगो लागेको थियो। करिब ३ लाख मानिस विस्थापित भएका थिए।

प्रकाशित मिति: : 2020-08-20 17:58:34

प्रतिकृया दिनुहोस्