अमेरिकाले कोरोना भ्याक्सिनको पहिलो मानव परीक्षण दक्षिण अफ्रिकामा गर्ने

अमेरिकाले आफूले निर्माण गर्न लागेको कोरोना भाइरसविरूद्धको भ्याक्सिन आफ्नो देशको जनतामाझ नभई दक्षिण अफ्रिकी नागरिकमाथि पहिलो परीक्षण गर्ने स्पष्ट जानकारी दिएको छ। 

अमेरिका ‘नोभाभ्याक्स’ नामक भ्याक्सिनको परीक्षण गरिरहेको छ। यो भ्याक्सिन अमेरिकी कम्पनी बायोटेकले निर्माण गरिरहेको छ। कम्पनीले सार्स कोभ–२ को जेनेटिक सिक्वेन्सको सहयोगले तयार पार्न लागेको जानकारी दिइसकेको छ। 

कम्पनीले परीक्षणका लागि अफ्रिकाका २९ सय स्वयम सेवकमाथि प्रयोग गरिने स्पष्ट पारेको छ। दक्षिण अफ्रिकामा हाल ५ लाखको हाराहारीमा संक्रमित देखिएका छन्, जसमध्ये १२ हजार बढीको निधन भइसकेको छ।
 
‘नोभाभ्याक्स’ को निर्माणमा सक्रिय रहेका डाक्टर ग्रेगोरी ग्लेनले दक्षिण अफ्रिकामा मानवमाथि परीक्षण गर्न माइक्रोसफ्ट कम्पनीका मालिक बिल गेट्सका कारण सम्भव भएको बताएका छन्। 

‘द बिल एण्ड मेलिन्डा गेट्स फाउन्डेसन’ ले १ करोड ५० लाख अमेरिकी डलरको सहायता दक्षिण अफ्रिकालाई कोरोनाविरूद्ध लड्न जुटाएको छ।

गत महिना अमेरिकी सरकारले आउँदो जनवरीसम्म कोरोना भाइरसविरूद्ध १०० मिलियन डोज उपलब्ध गराउन ‘नोभाभ्याक्स’ लाई १ करोड ६० लाख अमेरिकी डलर उपलब्ध गराएको थियो।

प्रकाशित मिति: : 2020-08-20 07:24:57

प्रतिकृया दिनुहोस्