कर्णाली प्रदेशमा एक प्रदेशसभा सांसदसहित थप ४३ जनामा कोरोना संक्रमण पुष्टि

कर्णाली प्रदेशमा पछिल्लो २४ घण्टामा एक जना प्रदेशसभा सांसदसहित ४३ जनामा कोरोना भाइरसकाे संक्रमण पुष्टि भएको छ।

सुर्खेतस्थित प्रदेश अस्पताल/पशुपन्छी रोग अन्वेषण प्रयोगशाला, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्ला र दैलेख अस्पताल प्रयोगशालामा गरिएको पीसीआर परीक्षणबाट बुधबार थप ४३ जनामा काेराेना भाइरसकाे संक्रमण पुष्टि भएको हो।

सामाजिक विकास मन्त्रालयको स्वास्थ्य सेवा महाशाखाका वरिष्ठ जनस्वास्थ्य प्रशासक बृषबहादुर शाहीका अनुसार कर्णाली प्रदेशसभाका एकजना सांसदलाई कोरोना भाइरस संक्रमण देखिएको छ। ५३ वर्षीय सा‌ंसदले सुर्खेतमै स्वाब दिएका थिए।

थपिएका संक्रमितमध्ये सल्यानका १७, सुर्खेतका १० जना, जुम्लाका ९ जना, दैलेखका ४ जना, बाँके, डोल्पा र कास्कीका एक/एकजना रहेका छन्। 

महाशाखाका अनुसार सल्यानको वनगाड कुपिन्डे नगरपालिका १,२,३,४ र ५ का १० महिने बालक, ५ जना महिला र ११ जना पुरुष रहेका छन्।

त्यस्तै, सुर्खेतको चौकुने गाउँपालिका ३, ४ र ५ का ५ जना महिला र वीरेन्द्रनगर नगरपालिका वडा नं. ११ की एक महिला र ४ जना पुरुष रहेका छन्।

जुम्लाको हिमा गाउँपालिका १, ३, ४, ५ र ७ का एक महिला र ६ जना पुरुष, सिँजा गाउँपालिका ५ का एक पुरुष र चन्दननाथ नगरपालिका १ का ६० वर्षीया महिलामा संक्रमण पुष्टि भएको छ।

यता दैलेखको दुल्लु नगरपालिका ६, एकजना पुरुष, चामुण्डा बिन्द्रासैनी नगरपालिका ३ र ७ का दुई वर्षीय बालक र २२/२२ वर्षका युवकयुवती रहेका छन्।

डोल्पाको जगदुल्ला गाउँपालिका ५ का एकजना पुरुष, कास्कीको मादी गाउँपालिका ३ का एकजना पुरुष र बाँकेको बैजनाथ गाउँपालिका ३ का एक पुरुषमा पनि संक्रमण पुष्टि भएको छ। 

याेसँगै कर्णाली प्रदेशमा कोरोना संक्रमितको संख्या २१३० पुगेको छ।

हालसम्म कर्णाली प्रदेशमा डिस्चार्ज हुनेको संख्या १९०८ पुगेको स्वास्थ्य महाशाखाले जनाएको छ। 

कर्णालीमा ६ जना संक्रमितको मृत्यु भएको छ भने १९२ जना सक्रिय संक्रमित आइसोलेसनमा रहेका छन्।

प्रकाशित मिति: : 2020-08-19 18:23:22

प्रतिकृया दिनुहोस्