२१ जिल्ला ठप्प, १९ जिल्लामा आंशिक लकडाउन

पछिल्लो समय कोरोना भाइरसको संक्रमण दिनप्रतिदिन उकालो लाग्न थालेपछि मुलुकका विभिन्न क्षेत्र ठप्प बनेका छन्।

गृह मन्त्रालयका अनुसार हालसम्म ४० जिल्लाको सेवा कुनै नै कुनै रुपमा प्रभावित बनेको छ। जसमध्ये २१ जिल्लामा निषेधाज्ञा, लकडाउन र सेवा बन्द गरिएको  भने बाँकी १९ जिल्ला आंशिक प्रभावित छन्।

गृह मन्त्रालय शान्ति सुरक्षा तथा अपराध नियन्त्रण महाशाखाका अनुसार १६ जिल्लामा पूर्ण र १३ मा आंशिक गरी २९ जिल्लामा निषेधाज्ञा जारी गरएको छ।

त्यसैगरी, तीन जिल्ला पूर्ण रुपमा लकडाउनमा छन् भने चार जिल्लाका कुनै न कुनै क्षेत्र लकडाउनमा छन्। दुईवटा जिल्लाको सेवा बन्द गरिएको छ, भने दुईवटा जिल्लाका कुनै न कुनै क्षेत्रमा सिल गरिएको छ।

गत चैत ११ गतेदेखि १ सय २० दिनसम्म मुलुभर लकडाउन जारी गरिएको थियो। तर, सरकारले साउन ६ गते मध्यरातिबाट लकडाउन हटाए पनि संक्रमण दर झनझन बढ्न थालेपछि हाल सम्बन्धित जिल्लाले नै निषेधाज्ञा, लकडाउन कायम गर्न थालेका हुन्।

यद्यपि, अत्यावश्यक खाद्यान्न, औषधि पसलसहितका सेवा सञ्चालन हुनेछन्। नेपालमा कोरोना संक्रमितको संख्या २८ हजार नाघिसकेको छ भने १ सय १४ संक्रमितको ज्यान गइसकेको छ। लकडाउन/निषेधाज्ञा लागू गर्दा समुदाय स्तरमा संक्रमण फैलन नपाउने भन्दै स्थानीय तहको सहकार्यमा स्थानीय प्रशासनले प्रतिबन्ध कायम गरिरहेका हुन्।

गत सोमबार बसेको मन्त्रिपरिषद् बैठकले कोरोना रोकथामका लागि लकडाउन/निषेधाज्ञा लगायत कदम चाल्ने अधिकार सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई दिइसकेको छ।

हेर्नुहोस् कहाँ कहाँ छ लकडाउन

प्रकाशित मिति: : 2020-08-19 11:44:15

प्रतिकृया दिनुहोस्