बारामा भोलिदेखि अनिश्चितकालीन निषेधाज्ञा

एकैदिन वडाअध्यक्षसहित ६५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएसँगै बारामा अनिश्चितकालका लागि निषेधाज्ञा जारी गरिएको छ। 

आज बसेको कोभिड समन्वय समितिको बैठकको निर्णयअनुसार भोलि बिहान ५ बजेदेखि लागू हुनेगरी अर्को सूचना जारी नभएसम्म निषेधाज्ञा जारी गरिएको सिडिओ रुद्रप्रसाद पण्डितले जानकारी दिए।

आइतबारको रिपोर्टअनुसार संक्रमित पुष्टि हुनेहरु जीतपुर सिमरा उपमहानगरपालिकामा ३५ जना, महागढीमाई नगरपालिकामा १७ जना, करैयामाई गाउँपालिकामा १० जना र कलैया उपमहानगरपालिकामा ३ जनामा कोरोनाको संक्रमण देखिएको छ।

 राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला काठमाडौंबाट आएको रिपोर्टमा महागढीमाई नगरपालिका वडा नम्बर ३ र १० गञ्जभवानीपुर टोलका १७ जनामा कोरोनाको संक्रमण पुष्टि भएको छ। वडा नम्बर ३ का वडा अध्यक्षमा पनि कोरोनाको संक्रमण देखिएको छ।

त्यस्तै वडा नम्बर १० का  १ जना संक्रमितको कन्ट्याक्ट ट्रेसिङ्गमा परेका ९७ जनाको स्वाव पठाइएकोमा आइतबार १७ जनामा संक्रमण पुष्टि भएको छ भने ७ जनाको रिपोर्ट आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ।

प्रकाशित मिति: : 2020-08-16 19:41:54

प्रतिकृया दिनुहोस्