बिहीबारबाट काठमाडौँमा सुरु भएको ‘छैटौँ नेपाल कल्चरल इन्टरनेशनल फिल्म फेस्टिभल–२०२५’ शनिबार बेलुका सम्पन्न भएको छ।
तीन दिनसम्म काठमाडौँका क्युएफएक्स राईजिङ मल र चलचित्र विकास बोर्डमा जारी यो महोत्सव विभिन्न उत्कृष्ट विधामा अवार्ड प्रदान गर्दै सम्पन्न भएको हो।
यो महोत्सवमा यस पटक ४७ देशका ९८ वटा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा उत्रिएका थिए। यी सबै चलचित्रलाई महोत्सवमा प्रदर्शन गरिएको थियो।
सूचना सञ्चार तथा प्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङ, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, अग्रज संगीतकार एवम् महोत्सवका राष्ट्रिय निर्णायक प्रमुख शम्भुजीत बासकोटालगायतले विकास बोर्डमा आयोजित समापन समारोहमा वितेजाहरूलाई अवार्ड प्रदान गरेका थिए।
यो महोत्सवमा राष्ट्रिय प्रतिस्पर्धामा उत्कृष्ट कल्चरल चलचित्रमा नेपालभाषाको चिपगु नीलबाट निर्देशक योवन शाक्यले अवार्ड प्राप्त गरेका थिए।
उक्त कार्यक्रममा सञ्चारमन्त्री गुरुङले चलचित्रको विकास र विस्तारमा महोत्सव निकै उपयोगी हुने बताएका थिए।
उनले सबै विदेशी अतिथिहरूलाई भगवानको रूपमा आफूहरूले लिने गरेको भन्दै आउँदो वर्षहरूमा पनि महोत्सवमा सहभागी हुन विदेशीहरूलाई अनुरोध गरेका थिए।
बोर्डका अध्यक्ष दिनेश डिसीले चलचित्र विकास बोर्डको सहकार्यमा निकै राम्रो महोत्सव सम्पन्न भएको बताए।
उनले नेपालमा हुने गरेका अन्तर्राष्ट्रिय महोत्सवले नेपाललाई विश्वमा चलचित्रमार्फत चिनाएको धारणा राखेका थिए।
महोत्सवका अध्यक्ष एवम् निर्देशक सन्तोष सुवेदीले नेपालमा महोत्सव आयोजना गर्न निकै गाह्रो हुने गरेको बताएका थिए।
मौलिक कला, संस्कृतिको संरक्षण, संवर्द्धन र चलचित्र विकास गर्नु नेपालीहरूको दायित्व रहेको बताउँदै उनले काठमाडौं महानगरपालिका फिल्म सिटीमा घोषणा भएको तर महानगरले महोत्सवलाई वेवास्ता गरेको उनको गुनासो थियो।
नेपालको राजधानी काठमाडौंमा ४७ देशका चलचित्रहरू समावेश गरेर महोत्सव गर्न पाउँदा आफूलाई मात्र नभएर देशकै लागि गर्वको कुरा रहेको उनको भनाइ थियो।