याे हाे अद्यावधिक नक्सासहित संसदको लोगो, जसकाे मूल्य साढे ५ हजार !

संघीय संसदले नेपालको अद्यावधिक गरिएको राजनीतिक तथा प्रशासनिक नक्सा अंकित नयाँ प्रतीक (लोगो) तयार पारेको छ। आइतबार उक्त लोगो संसंसदका पदाधिकारीहरुलाई हस्तान्तरण गरिएको छ।

संघीय संसदका महासचिव डा. भरतराज गौतमले सिंहदरवारस्थित सभामुखको कार्यकक्षमा सभामुख अग्निप्रसाद सापकोटा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र राष्ट्रिय सभाका उपाध्यक्ष शशीकला दहाललाई लोगो हस्तान्तरण गरेका हुन्।

लोगो बागमती प्रदेश सरकार मातहतको घरेलु तथा साना उद्योग कार्यालयले निर्माण गरेको हो। सभामुख सापकोटा, अध्यक्ष तिमिल्सिना र उपाध्यक्ष दहालले आइतबारबाटै नयाँ लोगो लगाएका छन्। 

गत जेठ ११ गते बसेको प्रतिनिधिसभा र राष्ट्रियसभा कार्यव्यवस्था परामर्श समितिको बैठकले संघीय संसदका सदस्यहरुले प्रयोग गर्दैै आएको लोगो नेपालको वास्तविक सीमा अनुरुपको नक्साअनुसार परिमार्जन गर्ने निर्णय गरेको थियो।

सरकारले लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नयाँ नक्सा जारी गरेपछि संघीय संसदमा प्रयोग हुँदै आएको लोगो र रोष्ट्रममा प्रयोग हुँदै आएको लोगो परिमार्जन गर्ने निर्णय भएको थियो।

मूल्य साढे ५ हजार

लाेगाेमा दुई लाल सुनको जलप लगाइएको छ। यस्तै १ तोला चाँदीको बेस र ३.५ सेन्टिमिटर व्यास रहेको छ। 

प्रति लोगो ५ हजार ५ सय २७ रुपैयाँ खर्च लागेको महासचिव गौतमले जानकारी दिए।

प्रकाशित मिति: : 2020-08-16 16:53:07

प्रतिकृया दिनुहोस्