समुदायमा कोरोना देखिएपछि देवघाट गाउँपालिका एक हप्ताका लागि सिल

तनहुँको देवघाट गाउँपालिकाका दुईजनामा व्यक्तिमा कोरोना पुष्टि भएपछि गाउँपालिका एक साताका लागि सिल गरिएको छ । कोरोनाको जोखिम न्यूनीकरणका लागि गाउँपालिकाले बिहीबारदेखि गाउँपालिका सिल गर्ने निर्णय गरेको हो ।

भरतपुर अस्पताल कोभिड–१९ प्रयोगशालामा गरिएको परीक्षणमा देवघाट गाउँपालिका–५ का ५४ र ३० वर्षीय पुरुषमा कोरोना पुष्टि भएको थियो ।

सङ्क्रमित व्यक्ति धेरैको सम्पर्कमा रहेकाले एक हप्ताका लागि गाउँपालिका सिल गर्ने निर्णय गरिएको गाउँपालिकाका अध्यक्ष दुर्गबहादुर थापाले जानकारी दिए ।

‘सङ्क्रमित धार्मिक व्यक्तित्व हुनुहुन्छ । धेरै जनासँग सम्पर्कमा रहेको पाइयो, स्थिति भयावह आउने आँकलन गरेर सिल गर्ने निर्णय गरिएको हो’, थापाले भने । थापाका अनुसार एक साता गाउँपालिका र वडा कार्यालयबाट प्रवाह हुने सेवा पनि बन्द हुने भएको छ ।

सङ्क्रमित व्यक्तिले मङ्गलबारसम्म पनि विभिन्न व्यक्तिसँग भेटघाट गरेको पाइएको छ । उनको सम्पर्कमा आएका ४३ जनाको बुधबार स्वाब सङ्कलन गरेर पिसिआर परीक्षणको लागि भरतपुर पठाइएको छ ।

अर्का सङ्क्रमित ३० वर्षीय पुरुष काठमाडौँमा सरकारी जागिरे हुन् । आफू कार्यरत कार्यालयका कर्मचारीमा कोरोना सङ्क्रमणको पुष्टि भएपछि उनी होमक्वारेन्टिनमा बसेका थिए । गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख प्रदीपकुमार बुढाथोकीले कन्ट्याक्ट ट्रेसिङ गरेर थप व्यक्तिको स्वाब सङ्कलन आइतबार गरिने जानकारी दिए ।

भानु नगरपालिका र बन्दीपुर गाउँपालिकामा पनि मङ्गलबार दुईजना समुदायस्तरका व्यक्तिलाई कोरोना पुष्टि भएको थियो । भानु नगरपालिकाले मङ्गलबारदेखि नै एक साताका लागि नगरक्षेत्र सिल गरिसकेको छ ।

यसैगरी देवघाट क्षेत्र विकास समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि क्षेत्र विकास समितिको कार्यालय बिहीबारदेखि बन्द गरिएको छ । समितिले बुधबार सूचना निकालेर भदौ ४ गतेसम्म समितिको नियमित कार्य सञ्चालन बन्द गर्ने जानकारी गराएको छ ।

समितिका अध्यक्षलाई कोरोना पुष्टि भएपछि समितिका पदाधिकारी एवं कर्मचारी उच्च जोखिममा रहेको कन्ट्याक्ट ट्रेसिङ गर्नुपर्ने भएकाले समितिको कार्यालय बन्द गरिएको समितिका कार्यकारी निर्देशक धीरणबाबु घिमिरेले जानकारी दिए ।

अत्यावश्यक सेवाअन्तर्गत दाहसंस्कार व्यवस्थापन कार्य र देवघाट समाज कल्याण केन्द्र (वृद्धाश्रम) मा प्रदान गरिने सेवा भने यथावतरुपमा सञ्चालन हुने घिमिरेले जानकारी दिए ।

प्रकाशित मिति: : 2020-08-13 08:33:11

प्रतिकृया दिनुहोस्