कोरोना भाइरसलाई पहिले ‘सिजनल’ भन्दै खुब प्रचारप्रसार गरिएको थियो। गर्मी महिनामा कोरोना भाइरसको संक्रमण कम हुने हल्लाका बीच गर्मी सिजनमा यो आफै ठिक हुने दावी पनि गरिएको थियो।
तर, विश्व स्वास्थ्य संगठन (डब्ल्यूएचओ) ले कोरोना कुनै ‘सिजनल’ संक्रमण नभएको स्पष्ट पारेको छ र युरोपका देशहरूलाई विशेष सावधान रहन चेतावनी दिएको छ।
युरोपमा अहिले गर्मीको सिजन सुरू भएसँगै मानिसहरू छुट्टिको मजा लिन समुन्द्र किनार नजिकै हुलका हुल बाधेर जान थालेका छन्। यस्तै, छुट्टिका कारण नाइट पार्टी गर्ने संस्कृतिले कोरोनाको संक्रमण बढेर जाने चेतावनी डब्ल्यूएचओले दिएको छ।
डब्ल्यूएचओ कि प्राविधिक प्रमुख मारिया वैन केर्खोवले सोमबार यसको जानकारी दिँदै भनेकी छिन्, ‘कोरोना मौसमी रोग होइन। यसको कुनै संकेत फेला परेको छैन। त्यसैले यसलाई नियन्त्रणमा लिन समस्या भइरहेको छ।’
विश्वमा अहिले २ करोड १ लाखभन्दा बढी कोरोना संक्रमित फेला परिसकेका छन्। जसमा ७ लाख ३६ हजारभन्दा बढी मानिसको निधन भइसकेको छ। त्यसैले डब्ल्यूएचओले कोरोना प्रति ख्यालठट्टा नगर्न चेतावनी दिँदै आइरहेको छ।
डब्ल्यूएचओले विशेषत पछिल्लो समय युवाहरूमा संक्रमणको संख्या बढ्दै गरेको हुनाले सर्तकता अपनाउन निवेदन गर्दै आइरहेको छ। र, सबै देशलाई कोरोनाको कुनै वैकल्पिक उपाय सार्वजनिक नहुँदासम्म ‘लकडाउन’ को पूर्ण पालना गर्न आग्रह गरेको छ।
अहिलेसम्म ८० लाखभन्दा बढी युवाहरूमा कोरोना संक्रमण देखिएको छ भने पछिल्लो समय युवा पुस्ताहरू विस्तारै यसको चपेटामा पर्दै आइरहेका छन्।
डब्ल्यूएचओको भनाई अनुसार कोरोना भाइरसले आफ्नो स्वरूप परिवर्तन गरिरहेको अवस्थामा यसलाई गम्भीरताका साथ लिन जरुरी छ।
युरोप अहिले फेरि कोरोनाको दोस्रो चरणको समस्यामा फसेको छ। पछिल्लो महिना न्युनिकरणतर्फ गएको कोरोना संक्रमणको घटना फ्रान्स र स्पेन जस्ता देशमा पुनः देखिन थालेका छन्।
युरोपेली देशमा मात्र कोरोनाबाट ३० लाखभन्दा बढी मानिस संक्रमित भएका छन्। यहाँ २ लाख ६ हजार ४ सय ५ जनाको निधन भइसकेको छ।