नेपालमा थपिए ३३८ संक्रमित, १४० निको भए, थप ४ जनाको मृत्यु

सोमबार देशका विभिन्न ठाउँमा ३ सय ३८ जना कोरोनाका संक्रमित थपिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार विगत २४ घण्टामा ३ सय ३८ जना संक्रमित थपिएका हुन्।

योसहित हालसम्म संक्रमितको संख्या २३ हजार ३ सय १० पुगेको छ।

मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा विभिन्न अस्पतालबाट १ सय ४० जना संक्रमित कोरोनाबाट मुक्त भएर घर फर्किएका छन्। योसहित हालसम्म १६ हजार ४ सय ९३ जना कोरोनाबाट निको भएका छन्।

विगत २४ घण्टामा ८ हजार ४ सय ३२ जनाको पिसिआर परीक्षण भएको छ।

थप चार जनाको मृत्यु

पछिल्लो २४ घन्टामा नेपालमा थप चार कोरोना संक्रमितले ज्यान गुमाएका छन्। बाँके कोहलपुर नगरपालिका वडा नम्बर २ बस्ने ७० वर्षीया एक महिलाको संक्रमणबाट मृत्यु भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ। 

उच्च रक्तचाप तथा प्यारालाइसिसकी बिरामीको निमोनियाको तथा सेप्टिक सक भई साउन २३ मा नेपालगञ्ज मेडिकल कलेजमा भर्ना भएकी थिइन्।

सोही दिन बिरामीको स्वाब संकलन गरिएको थियो। अस्पतालमा उपचारको क्रममा साउन २५ दिउँसो ३:१० मा निधन भएको मन्त्रालयका प्रवक्ता डा. गौतमले बताए।

पर्सा जिल्ला वेदियाहीकी ४५ वर्षीया एक महिलाको पनि साउन २५ मा मृत्यु भएको छ। नारायणी अस्थायी कोभिड अस्पतालमा निधन भएको हो। 

मृतक उच्च रक्तचाप तथा हाइपोथाइराडिजमकी बिरामी रहेकी थिइन्। श्वासप्रश्वासमा समस्या देखिएपछि अस्पताल भर्ना भएको मन्त्रालयले जनाएको छ। मृत्युपछि स्वाब संकलन गरी परीक्षण गर्दा उनीमा कोरोना पुष्टि भएको थियो।

त्यसैगरी, काठमाडौं–बानेश्वर बस्ने ७६ वर्षीय एक पुरुषको साउन २६ मा मेडिकेयर अस्पतालमा संक्रमणले निधन भएको छ। श्वासप्रश्वासमा कठिनाई तथा जिउ दुख्ने समस्या भई उनी साउन २३ मा भेन्टिलेटरमा उपचाररत थिए। मृतकमा निमोनिया, उच्चरक्तचाप तथा मधुमेहको समस्या भएको मन्त्रालयले जनाएको छ।

काठमाडौं–किर्तिपुर बस्ने ६४ वर्षीय पुरुषको साउन २६ मा निधन भएको छ। मिर्गौलाका दीर्धरोगी रहेका ति पुरुष असार ३१ गतेदेखि मेडिसिटी अस्पतालमा उपचाररत थिए। उनमा साउन ५ गतेनै कोरोना पुष्टि भएको मन्त्रालयले जनाएको छ।

योसँगै नेपालमा कोराना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ७९ पुगेको छ।

काठमाडौं उपत्यकामा ४३ जनामा कोरोना संक्रमण

 काठमाडौं उपत्यकामा सोमबार ४३ जनामा कोरोना संक्रमित भेटिएका छन् । काठमाडौंमा ३६, ललितपुरमा ४ र भक्तपुरमा ३ जनामा कोरोना संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनस‌ंख्या मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति: : 2020-08-10 16:26:03

प्रतिकृया दिनुहोस्