६ जनामा कोरोना संक्रमण, सिन्धुली अस्पतालको ओपीडी सेवा बन्द

सिन्धुलीमा ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएसँगै सिन्धुली अस्पतालको ओपीडी सेवा समेत बन्द गरिएको छ।

आइतबार चारजना नेपाली सेनासहित ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियाे। 

अस्पतामा कार्यरत एक स्वास्थ्यकर्मीको अभिभावकसहित ६ जनामा कोरोना संक्रमण भएपछि अस्पतालको आकस्मिक सेवा बाहेकका सबै सेवा बन्द गरिएको अस्पताल विकास समितिका अध्यक्ष प्रलाद पोखरेलले जनाए। 

गत २२ गते स्वाब संकलन गरिएका २२ जनामध्ये ६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको जनस्वास्थ्य कार्यालय सिन्धुलीका प्रमुख जितेन्द्र शाहले बताए। 

आइतबार कमलामाई नगरपालिका १४ स्थित पर्यावरण गणमा कार्यरत ३३, ३७, ३७ र ३८ वर्षका चारजना नेपाली सेनाका पुरुष, कमलामाई नगरपालिका ६ मा रहेको क्वारेन्टाइनमा रहेका तिनपाटन ४ का २२ वर्षीय पुरुष र एकजना सिन्धुली अस्पतालको ल्यावमा कार्यरत स्वास्थ्यकर्मीका अविभावकमा कोरोना संक्रमण पुष्टि भएको थियो।  

संक्रमितमध्ये नेपाली सेनाका चारैजनालाई काठमाडौंस्थित बलम्बु अस्पताल पठाइएको छ भने अन्य दुईजनालाई सिन्धुली अस्पतालको आइसोलेसनमा भर्ना गरिएको छ। 

 योसँगै जिल्लामा कोरोना संक्रमितको संख्या १९ पुगेको छ। उनीहरुमध्ये ११ जनाले कोरोना जितेर घर फर्किसकेका छन भने ८ जना उपचाररत छन्।

प्रकाशित मिति: : 2020-08-10 13:28:55

प्रतिकृया दिनुहोस्