गरिब परिवारमा हुर्किरहेका मनाेजकाे सपना त्यतिधेरै ठुलाे थिएन। उनी त मात्र १२ पास भएर जागिरे बन्न चाहन्थे। तर परीक्षामा घटेकाे त्याे एक घटनाले उनकाे जीन्दगी नै बदलियाे। उनकाे नाम देशभरि नै चुलियाे।
पछिल्लाे समय सामाजिक सञ्जालमा भाइरल भइरहेकाे ‘ट्वेल्थ फेल’ कुनै काल्पनिक फिल्म हाेइन। याे त वास्तविक जीवन कथा हाे, मनाेजकुमार शर्माकाे। जसले आफ्नो बलबुता र मेहनतले सफलता हासिल गरेर लाखौँ युवाका लागि प्रेरणाको स्रोत बने।
खासमा, मनाेज २००५ ब्याचका ‘आईपीएस’ (इन्डियन पुलिस सर्भिस) अधिकारी हुन्। हाल उनी सिआइएसएफमा डिआइजी छन्। तर अहिले जति सफल छ उनकाे जीन्दगी– बाल्यकाल भने संघर्षपूर्ण थियाे।
मध्य प्रदेशको मुरैनामा जन्मिएका मनोजले संघर्ष गरेरै सफलताकाे शिखर चुमे। कयाैँ दुःख सहेर सफल भएका मनाेजकाे भाेगाइलाई उनकै साथी अनुराग पाठकले किताबमा ढालेका छन्।
उनले लेखेकाे किताबकाे शिर्षक छ– ‘ट्वेल्थ फेलः हार्छ ऊ, जो लड्दैन’।
अनुरागले लेखेकाे त्याे पुस्तकमा मनाेजकाे जीन्दगीलाई केलाइएकाे छ। मनाेजले भाेग्नु परेकाे त्याे दुःखले जाेकाेहीलाई पनि टुटाइदिन्छ। तर उनले जीवनमा कहिल्यै हार मानेनन्, सधैं आफूले देखेको सपनालाई पछ्याइरहे।
र, एकदिन ‘आईपीएस’ बने।
सन् १९७५ मा जन्मिएका मनाेजकाे परिवार गरिब थियाे। खान र लगाउन नै हम्मेहम्मे पर्थ्याे। तर जसाेतसाे गुज्रिरहेकाे थियाे शर्मा परिवार।
परिवार त गरिब थियाे नै त्यतिकै कमजाेर थियाे मनाेजकाे पढाइ पनि। सधैं उनी तेस्राे डिभिजनमा पास हुन्थे। त्यहीपनि ‘चिट’काे भरमा।
कक्षा–९ देखि ११ सम्म उनी पास भए। थर्ड डिभिजनमा।
लगातार चिट चाेरेरै कक्षाहरू पार गर्दै अगाडि बढिरहेका मनाेज १२ कक्षा पनि पास गर्न चाहन्थे।
उबेला कक्षा–१२ पास भएकाहरूले सजिलै जागिर पाउँथे। त्यसैले उही लयमा थिए, मनाेज पनि।
१२ कक्षा पास हुने कुरामा ढुक्क थिए मनाेज। उनलाई थाह थियाे कि चिट कहाँ र कसरी लुकाउने। उनकाे साेच थियाे कक्षा–१२ पास हुने अनि जागिर खाने।
तर उनले साेचे जस्ताे केही भएन।
कक्षा–१२ काे परीक्षा दिँदै थिए मनाेज। त्यहीबेला जिल्लाका ‘एसडीएम’ (उप-प्रभागीय न्यायाधीश) स्कुलभित्र छिरे। अनि चिट गरिरहेका विद्यार्थीहरूलाई नक्कल नगर्न आदेश दिए। उनकाे आदेशलाई स्कुलका शिक्षकहरूले समेत स्वीकार गरे।
एसडीएमकाे कुरा शिक्षकहरूले मानेकाे देखेपछि मनाेजकाे मनमा काैल्तुहलता बढ्न थाल्याे। यतिधेरै ‘पावरफुल’ मान्छे काे हाेला? उनमा भित्रभित्रै साे पालायाे– ‘म पनि त्याे मान्छे जस्ताे पावरफुल बन्छु।’
एसडीएमले स्कुलमा चिट चाेर्न नदिएपछि हिन्दीबाहेक सबै विषयहरूमा फेल भए मनाेज।
१२ कक्षा कटाउन नसकेपछि उनी पनि भाइसँगै टेम्पाे चलाउन थाले। घर खर्च चलाउनका लागि दाजुभाइ नै काममा खट्न थाले। जसाेतसाे टरिरहेकाे थियाे।
तर एकदिन त्याे टेम्पाे पनि पुलिसले समात्याे।
पेट पाल्ने भाँडाे टेम्पाे छुट्याउन उनी पुलिस चाैकी पुगे। त्यहाँ उनलाई टेम्पाे चाहिन्छ भने एसडीएमसँग भेट्नु भनेर सुझाव दिए। त्यहीकारण उनी एसडीएमकहाँ गए।
तर टेम्पाे छुट्याउन एसडीएमकहाँ पुगेर उनले आफ्नाे समस्याबारे सुनाउनुकाे सट्टा एसडीएमकाे तयारीबारे साेधे। र, आफू पनि एसडीएम नै बन्ने अठाेट गरे।
जीन्दगीले लियाे नयाँ माेड
एसडीएम बन्ने सपना बाेकेर मनाेज ग्वालियर छिरे। त्यसैबीचमा उनले तेस्राे डिभिजनमा १२ पास गरिसकेका थिए। एक वर्ष ‘ग्याप’ गरेर। त्यहीपनि बिना चिट।
जन्मथलाे छाेडेर नयाँ सहर पसेपछि उनकाे सामना जीन्दगीकाे नमिठाे सत्यसँग भयाे। बेराेजगारीले उनलाई दिनरात पिराेल्न थाल्याे।
पढाइसँगै काम गर्न सहर पसेका उनी कामकाे खाेजीमा सडकका गल्ली–गल्ली भाैतारिरहे तर कहिकतै कामै पाएनन्। खाेजीमा पैसा थिएन तरपनि हार मानेनन् मनाेजले। किनकी उनकाे सपनाले उडान भरिसकेकाे थियाे। उनकाे सपना त कुनै चट्टानजस्ताे बनेकाे थियाे। जुन सजिलै फुट्न सक्दैनथ्याे।
पढ्नका लागि घरबाट बाेकेकाे थैलीकाे पैसा पनि सबै सक्किसकेकाे थियाे। त्यसैले उनी मन्दिरमा माग्न बसेकाहरूसँगै सुत्न थाले।
सपना पूरा गर्नका लागि दिनरात काम खाेजिरहेका मनाेजकाे एक दिन भाग्य चम्कियाे। उनले आटा मिलदेखि पुस्तकालयमा सुत्ने काम पाए। दिनभरि त उनी मिलमा व्यस्त हुन्थे तर रातकाे समयमा उनी लाइब्रेरीमा हुन्थे। त्यहाँ सजाइएका पुस्तकहरू पढ्थे।
जब उनी गाेर्की र अब्राहिम लिंकनकाे जीवन पढ्थे। तब उनलाई लाग्थ्याे कि ‘म चाहिँ किन उनीहरू जस्ताे बन्न सक्दिनँ?’ त्यही साेचले उनी अगाडि बढ्दै गए। सानै उमेरदेखि काममा मेहनती मनाेजले काम गरेर आफ्नाे खर्च आफैं उठाउन थाले।
कामसँगै ग्वालियरबाट ‘बीए’ पूरा गरिसकेपछि उनी दिल्ली गए। युपिएससीको तयारीका लागि।
दिल्ली पुगेर उनले खर्च चलाउनका लागि ४०० रूपैयाँमा धनाढ्यहरूकाे कुकुर डुलाउने काम गर्न थाले। साथै उनलाई विकास दिव्यकीर्तिले पनि बिना पैसा पढाउन सुरु गरे।
जति उनी पढाइमा कमजाेर थिए त्यतिकै कमजाेर थियाे उनकाे अंग्रेज पनि। एकपटक त उनले ‘टुरिज्म’ मा निबन्ध लेख्नका सट्टा ‘टेरेरिज्म’मा लेखेका थिए। तर भाग्यबस् उनले पहिलो अटेप्टमा नै युपिएसका ‘प्री’ पूरा गरे।
त्यसैबीच श्रद्धा जाेशी नामकी केटीलाई प्रेम गर्न थालिसकेका थिए मनाेज। उनी तीनै केटीसँग जीन्दगी बिताउन चाहन्थे। जस्ताेसुकै परिस्थितिमा पनि। तर आफ्नो प्रेमको प्रस्ताव गर्नका लागि सधैं डराइरहन्थे।
एकदिन त उनले हिम्मत बाेकेरै केटीकाे अगाडि आफूले प्रेम गरेकाे कुरा सुनाइदिए। उनले भनेका थिए कि, ‘यदी तिमी मेरी हुन्छाैँ भने म याे दुनियाँलाई नै बदल्न सक्छु।’
मनाेजकाे प्रेम प्रस्तावलाई श्रद्धाले स्वीकारिन्। तर उनीहरूकाे सम्बन्धले खुसी थिएनन् जाेशी परिवार। तरपनि मनाेजकै साथमा रहिन् श्रद्धा।
श्रद्धाकाे प्रेम र साथ पाएर परीक्षामा खट्न थाले मनाेज। र, चाैथाे पटककाे परीक्षामा उनले आफ्नाे दुनियाँ नै बदले। अर्थात् १२१औं स्थानका साथ उनले युपिएससी परीक्षा पास गरे।
युपिएससीकाे परीक्षा दिँदा जति संघर्ष गरेका थिए मनाेजले। त्यतिकै कठिन थियाे उनका लागि अन्तर्वार्ता पास गर्न पनि।
आईपीएसकाे अन्तर्वार्तामा उनलाई साेधिएकाे थियाे–‘कक्षा–१२ पास गर्न किन ढिलाे भयाे?’
मनाेजलाई प्रश्न साेध्न बसेका परीक्षकहरू त्यही एउटा प्रश्नले मात्र चुप बसेनन्। अंग्रेजी नजान्ने मान्छेले कसरी प्रशासन हाक्न सक्छ भन्दै प्रश्न गरिरहे। त्यहीक्रममा उनलाई एक परीक्षकले पानी पिउन लगाए। तर मनाेजले सिसाकाे गिलासमा पानी नपिउने भन्दै स्टीलकाे गिलास मगाउन थाले।
उनकाे त्याे हर्कत देखेर झाेक्किएका परीक्षकहरूले पानी पिउन लगाउँदै गिलासले पानीलाई फरक नपर्ने बताए। अनि मनाेजले पनि अंग्रेजी भाषाले आफ्नाे कामलाई प्रभाव नपार्ने सुनाए।
मनाेजकाे त्याे इमान्दारीता र बुद्धिमानीले प्रभावित भएका परीक्षकले मनाेजलाई अन्तर्वार्तामा पास गराए। र, बने आईपीएस अफिसर।
मनाेजले युपिएससी परीक्षा पास गरेकाे २ वर्षपछि नै उनकी श्रीमती श्रद्धाले पनि युपिएससी परीक्षा उत्तीर्ण गरिन्। अनि २००७ मा आइआरएस अधिकारी बनिन्।
एक सायरले भनेका थिए–‘इश्व ने गालिब निकम्मा कर दिया, वर्ना हम भी आदमी थे काम के’।
तर त्याे भनाइलाई मनाेज र श्रद्धाले ‘गलत’ साबित गरेका छन्। उनीलाई त्यही प्रेमले नै सफलता दिलाएकाे छ। अहिले तिनै मनाेज र श्रद्धा प्रेम र सफताकाे उदाहरण बनेका छन्। एजेन्सीहरूकाे सहयाेगमा