पोखरामा काेराेना संक्रमणबाट मृत्यु भएकाे पुरुषमा रुघाखोकी र सुगरको समस्या

कोरोना भाइरस संक्रमणबाट पोखरामा एक जनाको मृत्यु भएको छ। पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचाररत ६२ वर्षीय एक पुरुषको ज्यान गएको प्रदेश स्वास्थ्य निर्देशनालयले जानकारी दिएको हो।

साउन १६ गते रुघाखोकी र सुगरको समस्या भएपछि पोखरा १९ घर भएका उनी सुरुमा ओम अस्पताल पुगेका थिए। उपचारकै क्रममा उनी पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पुगे र त्यहाँबाट फेरि उनी ओम अस्पतालमै फर्किएकाे पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानका निर्देशक डा‍. अर्जुन आचार्यले।

त्यही बीचमा कोरोना संक्रमणको आशंकामा उनको स्वाब परीक्षणका लागि पठाइएकाे थियाे। साउन १७ गते उनमा कोरोना पुष्टि भएकाे थियाे। स्वाब परीक्षणका लागि दिएर उनी घरसमेत पुगेकाे डा‍. आचार्य बताउँछन्। उनले आफन्तलाई समेत भेटेका थिए।

उनको सम्पर्कमा आएका ६ जनामा कोरोना संक्रमण पुष्टि भएको थियो। उनीहरु पोखरा स्वास्थ्य प्रतिष्ठानको आइसोलेसनमा छन्।

संक्रमित मृतकको कोरोनाको स्रोत भने पत्ता लाग्न नसकेकाे डा‍. आचार्यले बताए। 

उनको पोखरा ३२ मा शव व्यवस्थापनको तयारी भइरहेको छ। 

पोखरामा कोरोना संक्रमणका कारण ३ जनाको ज्यान गएको छ भने गण्डकी प्रदेशमा मृत्यु हुनेको संख्या ५ जना पुगेको छ।

प्रकाशित मिति: : 2020-08-09 12:40:15

प्रतिकृया दिनुहोस्