कपिलवस्तुको कृष्णनगरका ५ जना सरकारी कर्मचारीमा कोरोना संक्रमण देखिएकाे छ।
स्वास्थ्य कार्यालय कपिलवस्तुका फोकल पर्सन कुमार थापाका अनुसार पाँचजना मध्ये दुईजना कृष्णनगर नगरपालिकाको महिला विकास शाखामा कार्यरत ३२ वर्षीया महिला र २९ वर्षका पुरुष छन्। नगरपालिकामा कार्यरत कर्मचारीहरुमा गरिएको परीक्षणमा २ जनाको रिपोर्ट पोजेटिभ आएको उनले जानकारी दिए।
यस्तै कृष्णननगरकै दिव्यानगर स्वास्थ्य चौकीमा कार्यरत २८ वर्षीय पुरुष स्वास्थ्यकर्मीमा पनि संक्रमण पुष्टि भएकाे छ।
कृष्णननगर नगरपालिकामा रहेको नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालयमा कार्यरत एक महिला र एकजना पुरुष कर्मचारीमा पनि कोरोना संक्रमण पुष्टि भएको छ छन्।
कोरोना भाइरसको संक्रमण पुष्टि भएका पाँचै जनामा कुनै पनि लक्षण भने नदेखिएको फोकल पर्सन थापाले बताए। उनीहरु सबै अहिले होम क्वारेन्टाइनमा छन्।
संक्रमण पुष्टि भएपछि नेपाल बैङ्क लिमिटेडको शाखा कार्यालय बन्द गराई कन्ट्याक्ट ट्रेसिङको काम सुरु भएको कार्यालयले जनाएको छ।