दिनभरिका प्रमुख १० समाचार

विपदमा देश, हवाई भाडामा मनपरी (भिडियाेसहित)

विपदबाट मृत्यु हुनेको संख्या १४८ पुग्यो

बिहीबारदेखिको अविरल वर्षाका कारण मृत्यु हुनेको संख्या १४८ जना पुगेको छ। प्रहरी प्रधान कार्यालयका अनुसार आइतबार दिउँसाेसम्म मृत्यु हुनेको संख्या १४८ जना पुगेको हो।

मृतकमध्ये अधिकांश शनिबारको बाढी–पहिरो र डुबानका घटनामा परेका हुन्। अविरल वर्षापछि पहिरोमा परेर धादिङको धुनिबेसी नगरपालिका वडा नम्बर ९ स्थित झ्याप्ले खोलामा मात्रै ३५ जनाको मृत्यु भएको छ।

यसैगरी काठमाडौँ, ललितपुर र भक्तपुरमा पनि ४८ जनाको मृत्यु भएको छ। प्रहरीले घटनामा अझै ५५ जना बेपत्ता हुनुका साथै १०१ जना घाइते भएको जनाएको छ।

झ्याप्ले खोलाको पहिरोबाट अहिलेसम्म ३५ शव निकालियो

पृथ्वी राजमार्गको झ्याप्ले खोलामा पहिरोले अहिलेसम्म पुरिएका ३५ जनाको शव निकालिएको छ। 

प्रहरीका अनुसार शनिबार १४ जनाको शव निकालिएकोमा आइतबार दिउँसाेसम्म ३५ जनाको शव निकालिएको हो।

अहिलेसम्म निकालिएका शव त्रिवि शिक्षण अस्पतालमा पठाइएको र आफन्त बेपत्ता भएका परिवारले प्रमाणपत्रसहित सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।   

झ्याप्ले खोलामा गएको पहिरोमा अहिलेसम्म बुटवलबाट आएको हाइस, गोरखाबाट आएको बस र चितवनबाट आएको माइक्रो बस परेको पुष्टि भएको छ।

घरबास गुमाएकाहरुको पुनर्स्थापना गर्ने सर्वदलीय बैठककाे निर्णय

सर्वदलीय बैठकले बाढीपहिरोबाट घरबास गुमाएकाहरुको पुनर्स्थापना प्रक्रिया अगाडि बढाउने निर्णय गरेको छ।

शहरी विकास मन्त्रालयले राष्ट्रिय जोखिम न्यूनिकरण तथा विपद व्यवस्थापन प्राधिकरणसँग समन्वय गरेर उचित आवासको प्रबन्ध गर्न आवश्यक प्रक्रिया अगाडि बढाउने छ।

कार्यबाहक प्रधानमन्त्री प्रकाशमान सिंहको आह्वानमा बसेको सर्वदलीय बैठकले बाढी पहिरोबाट परेर प्रभावित भएकाहरुको तत्काल उद्धार गरी उचित वासस्थान, खाना, पानी र अन्य राहत सामाग्री उपलब्ध गराउने निर्णय गरेको छ।

डुबानमा परेकाहरूको उद्धारमा परिचालित हुने एमालेको निर्णय

नेकपा (एमाले)ले बाढी, पहिरो र डुवानमा परेकाहरूको उद्धारमा खट्न सम्पूर्ण कमिटीलाई निर्देशन दिएकाे छ। 

आइतबार बिहान बसेको केन्द्रीय कार्यालय र विपद् व्यवस्थापन विभाग तथा स्वयंसेवा विभागको संयुक्त बैठकले सम्पूर्ण कमिटीलाई पीडितहरुको उद्धार र राहत वितरणमा केन्द्रीत हुन निर्देशन दिएकाे हाे। 

उक्त बैठकमा उद्धार, राहत वितरण र पुनर्स्थापनामा केन्द्रित हुन सरकारलाई सुझाव दिने निर्णय पनि भएको छ।

कांग्रेसकाे निर्णय: विपद् कोषमा ५० लाख जम्मा गर्ने, उपनिर्वाचनको तयारी थाल्ने

सत्ता साझेदार नेपाली कांग्रेसले मङ्सिर १६ मा हुने स्थानीय तह उपनिर्वाचनका लागि दल दर्ता गर्ने निर्णय गरेको छ। त्यस्तै सरकारको राहत कोषमा पचास लाख जम्मा गर्ने पनि निर्णय गरेको छ।

आइतबार पार्टी सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको कार्यसम्पादन समितिले दल दर्ताको निर्णय गरेको पार्टी प्रवक्ता प्रकाशशरण महतले जानकारी दिए। साथै सबै सांसदहरुको बाढी प्रभावितहरुलाई १५ दिनको तलब सहयोग गर्ने निर्णय गरेको डा. महतले जानकारी दिए।

यस्तै बैठकले बाढी पहिरोमा हराएका सबैको चाँडो भन्दा चाँडो उद्दार गर्न समेत सरकारको ध्यानाकर्षण गराएको छ।

११ ब्राण्डका पानीमा भेटियाे दिशामा पाइने सुक्ष्मजीव

काठमाडौँ महानगरपालिकाले विभिन्न ११ ब्राण्डका पानीमा फिकल कोलिफर्म भेट्टाएपछि हरेकको विक्री वितरणमा रोक लगाएको छ।

विक्रीमा रोक लगाइएका हरेकलाई दुईलाख रुपैयाँ जरिवाना गर्ने निर्णय भएको छ। 

यससम्बन्धी गरिएको परिपत्रमा, जरिवाना राजस्व खातामा दाखिला गर्न भनिएको छ।

यस्तै कोलिफर्म भेटिएको पानीको नमूना सरकारी निकायका प्रयोगशालाबाट प्राविधिक परीक्षण गरेर प्रतिवेदन बुझाउन भनिएको छ। 

यसरी बुझाइएको प्रतिवेदनमा फिकल कोलिफर्म शुन्य देखिएपछि विक्री वितरण गर्न सकिने पत्रमा उल्लेख छ।

सरकार रवि र सहकारीमा केन्द्रीत हुँदा विपत्ति सामना गर्न सकेन- रास्वपा

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले रवि, रास्वपा र सहकारी यही तीन खम्बामा राजनीति अड्किँदा सरकार प्राकृतिक प्रकोपको सामनामा चुकेको निस्कर्ष निकालेको छ।

आइतबार बसेको केन्द्रीय समिति बैठकपछि रास्वपा प्रवक्ता मनिष झाले पत्रकारहरुसँग कुराकानी गर्दै सरकार, गठबन्धन, गठबन्धन आवद्ध राजनीतिक दल र राजनीतिक कार्यकर्ता सबैको राजनीति सबै ‘रवि, रास्वपा र सहकारी’ यही तीन खम्बामा अड्किएको कारण प्राकृतिक विपत्ति आउँदैगर्दा सामना गर्न कोही तयार नभएको बताए।

उनले मोबाइलको रिङटोन बजाउँदैमा राज्यसंयन्त्रको जिम्मेवारी पूरा नहुने भन्दै सरकारको असक्षमता देखिएको बताए।

दुई दिनको पानीले दुईतिहाइ सरकारको औकात देखाएको बताए।

एयरलाइन्सहरुले हवाई भाडा महङ्गाएकाेप्रति प्रधानमन्त्रीकाे चासाे

विपत्तिकाे समयमा एयरलाइन्स कम्पनीहरुले हवाई भाडा बढाएकाेप्रति प्रधानमन्त्री केपी शर्मा ओलीले चासाे व्यक्त गरेका छन्। संयुक्त राष्ट्रसंघकाे महासभामा सहभागी हुन अमेरिका पुगेका ओलीले सामाजिक सञ्जालमार्फत चासाे व्यक्त गरेका हुन्।

प्रधानमन्त्री ओलीले एयरलाइन्स कम्पनीहरुलाई पहिलेकै र सहुलियत भाडा लिएर सहयाेग गर्न अनुराेध गरेका छन्। प्राकृतिक विपत्तिकाे समयमा सबै मिलेर सामना गर्न उनकाे आग्रह रहेकाे छ।

लगातारकाे बाढीपछि आजबाट नियमित उडान सुरु गरेका एयरलाइन्स कम्पनीहरुले चर्काे भाडा लिएपछि यात्रुहरु आक्राेशित बनेका छन्।

आधुनिकीकरणमार्फत् शक्तिशाली चीन बनाउन सीको आब्हान

चिनियाँ राष्ट्रपति सी चिनफिङले आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण गर्न आब्हान गरेका छन्।

चीनको राष्ट्रिय पदक तथा राष्ट्रिय सम्मान वितरण समारोहलाई सम्बोधन गर्दै चिनियाँ शैलीको आधुनिकीकरणमार्फत् शक्तिशाली देशको निर्माण तथा जातीय पुनरूत्थानमा लाग्न सबैलाई आब्हान गरेका हुन्।

उनले चिनियाँ जनता र विश्वका विभिन्न देशका जनतासँग हातमा हात मिलाएर विश्व शान्ति, संयुक्त विकास, मानवजातिको भाग्य र उज्वल भविष्य निर्माणका लागि चीन इच्छुक रहेको औंल्याए।

नेपालले ओमानविरुद्ध खेल्दै

नेपालले आज त्रिकोणात्मक टी- २० सिरिजअन्तर्गत ओमानविरुद्ध खेल्दैछ। सिरिजको पहिलो खेलमा क्यानडासँग पराजित भएकाे नेपालले आज दोस्रो खेल खेल्न लागेको हो।

नेपाल र ओमानबीच अहिलेसम्म कूल ६ टी-२० खेल भएका छन्, जसमा नेपाल र ओमानले ३-३ खेल जितेका छन्।

यस सिरिजमा नेपालले अर्को खेल मंगलबार नेपाल र क्यानडाबीच, बुधबार नेपाल र ओमानबीच खेल्ने छ।

प्रकाशित मिति: : 2024-09-29 22:00:00

प्रतिकृया दिनुहोस्