नेपालगञ्ज उपमहानगरपालिका सिल गरिएको छ।
उपमहानगरपालिकाका जनप्रतिनिधि र कर्मचारीसहित सोमबार ६ जनामा कोरोना संक्रमण पुष्टि भएपछि अर्को सूचना जारी नहुञ्लेलसम्मका लागि सिल गरिएको हो।
उपमहानगरपालिकाका स्वास्थ्य शाखाका प्रमुख रामबहादुर चन्दले धेरै जना कर्मचारीमा एकै चोटि कोरोना संक्रमण देखिएपछि कार्यालयलाई अनिश्चितकालीन सिल गरिएको जानकारी दिए।
‘कोरोना संक्रमण जोखिम बढिरहेको बेला उपमहानगरका जनप्रतिनिधि र कर्मचारीमा समेत कोरोना देखिएकाले जोखिम झन बढ्ने देखिएकोले सिल गर्ने निर्णय गरेका हौँ,’ उनले भने।
स्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार भेरी अस्पताल नेपालगञ्जमा सोमबार दिउँसो गरिएको परीक्षणमा वडा नम्बर १८ का वडा सचिब, वडा नम्बर २० का कम्प्युटर अप्रेटर,उपमहानगरपालिकामा कार्यरत आइटी अधिकृत, उपमहानगरपालिकाका सरसफाइ शाखा प्रमुख, अधिकृत र वडा नम्बर १४ का वडा सचिवमा कोरोना संक्रमण पुष्टि भएको छ।
यस्तै नगर प्रवक्ता समेत रहेको एक जनप्रतिनिधिमा कोरोना संक्रमण पुष्टि भएको छ। त्यसैगरी, नेपालगञ्ज ७ का ४८ बर्षीय जग्गा व्यवसायी, निर्धन उत्थान बैंकिङ्ग संस्थामा कार्यरत नेपालगञ्ज १० का ३० वर्षीय महिला र नेपालगञ्ज ४ का ३५ वर्षीय मार्वल टायल व्यवसायीलाई पनि कोरोना संक्रमण पुष्टि भएको छ।