पर्सामा आइतबार बिहान थप ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ। शनिबार गरिएको स्वाब परीक्षणबाट १४ जना महिलासहित ४५ जनामा कोरोना संक्रमण पुष्टि भएको नारायणी अस्पतालले जनाएको छ।
आज भेटिएका नयाँ संक्रमितमध्ये ४३ जना वीरगञ्जका हुन्। थप दुई जना पर्साकै प्रसौनी गाउँपालिका र निर्मलबस्तीका रहेका नारायणी अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.मदन उपाध्यायले जानकारी दिए।
दुई दिनअघि कोरोना संक्रमण पुष्टि भएका वीरगञ्ज महानगरपालिकाका मेयर विजय सरावगीको परिवारका दुई जना सदस्यसहित उनको सम्पर्कमा आएका ६ जनामा समेत कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले जानकारी दिए।
कन्ट्याक्ट ट्रेसिङका क्रममा सरावगीको परिवारका दुई सदस्यसहित वीरगञ्ज–११ श्रीपुरका १८ र ४५ तथा वीरगञ्ज–१३ का ३० र १९ वर्षीय पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको मेडिकल सुपरिटेन्डेन्ट डा.उपाध्यायले जानकारी दिए।
वीरगञ्ज महानगरपालिका-४ विर्तास्थित कन्या माविको क्वारेन्टनबाट संकलन गरिएको १४९ जनाको स्वाब परिक्षणमा १९ जनाको रिपोर्ट पोजेटिभ आएको छ। यस्तै मास टेष्टिङका क्रममा स्वाब संकलन गरिएका वीरगञ्ज महानगरपालिका ११ श्रीपुरका १० जनामा कोरोना संक्रमण पुष्टि भएको छ।
त्यस्तै मगनुस फर्माका ५ जना कर्मचारी, वीरगञ्ज–३ छपकैया र वीरगञ्ज–११ श्रीपुरका दुई जना पुरुषमा पनि कोरोना संक्रमण पुष्टि भएको उपाध्यायले बताए।
अत्याधिक मात्रामा कोरोना संक्रमित फेला पर्नथालेपछि जिल्ला सुरक्षा समिति पर्साको बैठकले सोमबार बिहानदेखि जिल्लाभरि निषेधाज्ञा लगाउने निर्णय गरेको छ।
यो पनि
सोमबारदेखि पर्सामा अनिश्चितकालिन निषेधाज्ञा |
वीरगन्जमा सांसद यादव र डाक्टरसहित थप ६४ जनामा कोरोना पुष्टि